21st November | 2018 | Wednesday | 1:03:32 AM

बेल्जियमलाई पराजित गर्दै फ्रान्स फाइनलमा

  POSTED ON : Wednesday, 11 July, 2018 (10:49:27 AM)

बेल्जियमलाई पराजित गर्दै फ्रान्स फाइनलमा

एजेन्सी । रुसमा जारी  विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा फ्रान्स प्रवेश गरेको छ ।  गत राति नेपाली समय अनुसार ११:४५ बजेबाट सुरु भएको सेमिफाइनलको खेलमा बेल्जियमलाई १–० गोल अन्तरले पराजित गर्दै फ्रान्स उपाधिनजिक पुगेको हो ।

पहिलो हाफ गोलरहित बराबरी भएपनि दोस्रो हाफमा फ्रान्सले खेलको ५१ औँ मिनेटमा कर्णर बललाई सदुपयोग गर्दै स्यामुएल युमिटीले गोल गरेका थिए । उनले एन्टोइन ग्रिज्मनको कर्नरमा गरेको हेडर गोलमा परिणत भयो । 

 खेलको शुरुवात देखि नै बेल्जियम निकै आक्रामक देखिएपनि नतिजा हात पार्न सकेन । फ्रान्सले गरेको १ गोलनै जित दर्ताका लागि काफि भयो ।

फ्रान्सले सन् १९९८ र सन् २००६ मा फाइनल खेलिसकेको छ । सन् १९९८ मा विजेता बनेको फ्रान्स सन् २००६ मा इटालीसँग पराजित भएको थियो ।

यस जितसँगै फ्रान्सले जुलाई १५ मा हुने विश्वकप फाइनलमा स्थान सुरक्षित गरेको छ । 

उसले अब दोस्रो सेमिफाइनलको विजेतासँग फाइनलमा खेल्नेछ । दोस्रो सेमिफाइनलमा आज इंग्ल्यान्ड र क्रोएसियाबीच हुँदैछ । आजको विजेता र फ्रान्स फाइनलमा विश्वकप उपाधिका लागि भिड्ने छन् ।


Views: 17