17th July | 2018 | Tuesday | 1:45:14 PM

दुवै फाइनलका उत्तिकै दाबेदार

एजेन्सी   POSTED ON : Wednesday, 11 July, 2018 (2:49:55 PM)

दुवै फाइनलका उत्तिकै दाबेदार

मस्को । विश्वकपको दोस्रो सेमिफाइनलमा आज राति पौने १२ बजे लुजनिकी स्टेडियममा उत्रँदा सन् १९६६ पछि दोस्रो विश्वकपको फाइनलमा पुग्न इंग्ल्याण्ड एक खेलमात्रै टाढा हुनेछ भने क्रोएशिया पहिलोपटक विश्वकपमा पुग्ने तरखरमा हुनेछ ।

शनिबार स्विडेनलाई २–० ले क्वार्टरफाइनलमा पराजित गर्दै इंग्ल्याण्ड १९९० पछि पहिलोपटक विश्वकपको सेमिफाइनलमा पुगेको हो । सोही दिन आयोजक रसियालाई पेनाल्टीमा पराजित गर्दै क्रोएशियाले इंग्ल्याण्डसँगको भेट पक्का गरेको थियो ।

यूरो कप २००४ को समूह चरणपछि यी दुई टोलीको पहिलो चोटी ठूला प्रतियोगितामा भेट हुन लागेको हो । त्यसबेला इंग्ल्याण्डले क्रोएशियालाई ४–२ गोलअन्तरले पराजित गरेको थियो । यी दुईबीच भएका ७ भेटमा भने इंग्ल्याण्डले चारमा जित हात पारेको छ भने १ खेल क्रोएशियाले जितेको छ । दुई खेलमा भने बराबरी भएको छ । फिफा वरियतामा इंग्ल्याण्ड १२ र क्रोएशिया २०औं स्थानमा छ ।

१९९८ मा क्रोएशिया अन्तिम पटक विश्वकपको सेमिफाइनलमा पुगेको थियो । फ्रान्ससँग सेमिफाइनलमा पराजित हुनुअघि क्रोएशियाले जर्मनीलाई अन्तिम ८ मा पराजित गरेको थियो । क्रोएशियाका लुका मोडरिक र इभान रिकिटिकलाई प्रतियोगिताकै उत्कृष्ट मिडफिल्डरमध्येको एक मानिन्छ ।

यस विश्वकपको समूह चरणमा क्रोएशियाको प्रदर्शन अन्य सहभागी टोलीको भन्दा उत्कृष्ट थियो । ऊ अपराजित टोली हो । अर्जेन्टिनाविरुद्ध उसले हात पारेको ३–० को जितले निकै चर्चा पाएको थियो । त्यसपछि भने अन्तिम १६ मा डेनमार्कलाई पराजित गर्न र क्वार्टरफाइनलमा रसियालाई पेनाल्टीमा पराजित गर्न उसले पेनाल्टीको साहरा लिनुपरेको थियो ।

प्रतियोगिताअघि इंग्ल्याण्डलाई यति टाढा पुग्ला भन्ने विश्वास धेरै कमले गरेका थिए । तर, मिडफिल्डर डेले अलि भने आफ्नो टोली फाइनलसम्मै पुग्ने विश्वास व्यक्त गर्छन् । ‘हाम्रो टोलीमा प्रतिभाको कमी थिएन्’, उनले भने, ‘हामी कति टाढासम्म पुग्न सक्छौं हामीलाई थाहा थियो । हामीसँग केही अविश्वसनीय खेलाडी र महान प्रशिक्षक थिए । हामी उपाधिनजिक पुग्नेमा सुरुदेखि नै विश्वस्त थियौं ।’

प्रशिक्षक गेराथ साउथगेटले पनि आफ्ना खेलाडीहरूलाई आफ्नो इतिहास आफैं खेल्न उत्प्रेरित गरिरहेका छन् । १९६६ मा इंग्ल्याण्डले घरेलु मैदानमा विश्वकप जितेकाले यसपटक जिते त्यो भन्दा ठूलो महŒवको हुने उनले बताउँदै आएका छन् ।

कप्तान हृयारी केन प्रतियोगिताको सर्वाधिक गोल (६ गोल) गर्दै गोल्डन बुट अवार्डको मुख्य प्रतिस्पर्धामा छन् । उनलाई बेल्जियमका रामेलु लुकाकुले ४ र एन्टिनियो ग्रिजम्यान र केलिएन एम्बाप्पले समान ३–३ गोल गर्दै पछ्याइरहेका छन् ।

क्रोएशियाका मुख्य हतियार उसका मिडफिल्ड लुका मोडरिक हुन् । उनी विश्वकपमा तीनपटक म्यान अफ द म्याच भई सकेका छन् । उनी इंग्ल्याण्डमा सुपरस्टार खेलाडीको कमी देखिए पनि टोलीले एक ढिक्का बन्दै प्रदर्शन गरिरहेको बताउँछन् ।

‘मेरा लागि इंग्ल्याण्ड प्रतियोगिताको उपाधि दाबेदारमध्येको एक हो,’ उनले भने, ‘त्यो युवा र भोका खेलाडीहरूले भरिएको टोली हो । टोलीमा खासै ठूला अन्तराष्ट्रिय स्टार नभएपनि उनीहरूमाथि जित हात पार्न निकै कठिन हुनेछ ।’ प्रशिक्षक जाल्ट्को डालिकले पनि इंग्ल्याण्डसँगको भिडन्त सहज नहुने बताइसकेका छन् । ‘यो हाम्रा लागि सजिलो हुने छैन्,’ उनले भने, ‘हामी हाम्रो सबै थोक यस खेलमा प्रयोग गर्नेछौं । हामीले गल्तीको कुनै गुञ्जायस राख्ने छैनौं ।’

 प्लेयर्स टू वाच

हृयारी केन (इंग्ल्याण्ड)

हृयारी केन विश्वका उत्कृष्ट स्ट्राइकरहरू मध्येका एक हुन् । उनी यस विश्वकपमा ६ गोल गर्दै गोल्डन बुट अवार्डमा सबैभन्दा अघि छन् । समूह चरणमा उनले ट्युनिसियाविरुद्ध दुई र पानामाविरुद्ध तीन गोल गर्दै हृयाट्रिक गरेका थिए । अन्तिम १६ मा उनले कोलम्बियाविरुद्ध पेनाल्टीमा एक गोल गरे ।

लुका मोडरिक (क्रोएशिया)

मोडरिकलाई विश्वको सर्वकालीन महान मिडफिल्डरमध्येका एक हुन् । क्रोएशियाका लागि उनले १११ खेल खेल्दै १४ गोल गरिसकेका छन् । नाइजेरियाविरुद्धको विश्वकपको पहिलो खेलमै उनले पेनाल्टीमार्फत गोल गर्दै म्यान अफ द म्याच चुनिएका थिए । अर्जेन्टिनाविरुद्ध पनि गोल गरेका उनी पुनः म्यान अफ द म्याच चुनिएका थिए । आइसल्याण्डविरुद्ध पनि प्रभावशाली प्रदर्शन गरेपछि उनलाई धेरै अखबारले समूह चरणकै सबैभन्दा राम्रो खेलाडी मानेका थिए ।