19th November | 2018 | Monday | 12:29:10 PM

साउन दोस्रो साता एक दिवसीयमा डेब्यू

हिमालय टाइम्स   POSTED ON : Wednesday, 11 July, 2018 (3:07:31 PM)

साउन दोस्रो साता एक दिवसीयमा डेब्यू

काठमाडौं । नेपालले साउन दोस्रो साता नेदरल्याण्ड्ससँग पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ । साउन १६ र १८ गते नेपालले दुईवटा ऐतिहासिक एक दिवसीय अन्तर्राष्ट्रिय खेल नेदरल्याण्ड्ससँग खेल्न लागेको हो । नेदरल्याण्डक्रिकेट बोर्डका अनुसार नेदरल्याण्ड्सको भुरबर्ग सिसी र भिआरए मैदानमा ती खेलहरू हुनेछन् ।

त्यसअघि साउन १३ गते नेपालले इंग्ल्याण्डको लर्डसमा मेरिलेबन क्रिकेट क्लब (एमसीसी) र नेदरल्याण्ड्ससँग त्रिकोणात्मक टी–२० खेल्दैछ । त्यस लगत्तै दुवै टोली नेदरल्याण्ड्स प्रस्थान गर्नेछन् । नेपाल र नेदरल्याण्ड्सले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको उपलक्ष्यमा एमसिसीले लर्डसमा उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो। एससिसीको टोलीको कप्तानी श्रीलंकाका पूर्वकप्तान महिला जयबर्दनेले गर्दैछन् । नेपालले एमसिसी र नेदरल्याण्ड्स भम्रणका लागि टोली तयार पार्न बन्द प्रशिक्षणसमेत सुरु गरिसकेको छ । शनिबारबाट सुरु भएको बन्द प्रशिक्षणमा कप्तान पारस खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, शक्ति गौचन, दीपेन्द्र सिंह ऐरी, अनिल कुमार शाह, करण केसी, ललित भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सोमपाल कामी, सुनिल धमला, सुशन भारी र हरि क्षेत्री रहेका छन् ।

शरद भेषवाकर अमेरिकाबाट र सन्दीप लामिछाने क्यानडाबाट सिधैं लन्डन पुग्ने कार्यक्रम छ । शरद विश्वकप छनोटपछि गर्भवती श्रीमती निशा अधिकारीलाई भेट्न अमेरिका प्रस्थान गरेका थिए । हाल उनी पूर्वराष्ट्रिय टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेको सहयोगमा अमेरिकामा भइरहेको वासिंटन क्रिकेट लिग खेलिरहेका छन् । यस्तै सन्दीप भने हाल क्यानडामा ग्लोबल क्यानडा टी–२० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् ।

वर्षाका कारण बन्द प्रशिक्षण प्रभावित भएपनि आफूहरू नियमित प्रशिक्षणमा रहेको र खेलाडीहरू उत्साहित रहेको नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमटाले जनाएका छन् । ‘पहिलो अन्तराष्ट्रिय खेल खेल्न सबै उत्साहित छन्’, टमटाले भने, ‘हामीलाई पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय खेल यादगार बनाउने चुनौती पनि छ । तयारी राम्रै भइरहेको छ । चार दिनपछि अन्तिम टोली घोषणा घोषणा गर्नेछौं ।’

गत मार्चमा एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि नेपालले नेदरल्याण्ड्ससँग पहिलोपटक एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । नेदरल्याण्ड्सका लागि भने २०१४ पछि यो पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय खेल हुनेछ । त्यसबेला भएको विश्वकप छनोटमा उनीहरूले आफ्नो एक दिवसीय अन्तर्राष्ट्रियको मान्यता गुमाएका थिए । पुनः २०१५ देखि २०१७ सम्म चलेको विश्व क्रिकेट लिग च्याम्पियन्सको उपाधि हात पार्दै नेदरल्याण्ड्सले एक दिवसीय मान्यता हासिल गरेको थियो ।


Views: 12