22nd August | 2018 | Wednesday | 1:33:34 AM

नेपालको यु–१९ क्रिकेट टोलीलाई भारतमा निम्तो

हिमालय टाइम्स   POSTED ON : Wednesday, 08 August, 2018 (4:26:24 PM)

नेपालको यु–१९ क्रिकेट टोलीलाई भारतमा निम्तो

काठमाडौं । नेपालको १९ वर्षमुनि उमेर समूह (यु–१९) क्रिकेट टोलीले भारतमा चार टिमको सहभागितामा हुने शृंखलामा खेल्ने मौका पाएको छ । यु–१९ एसिया कप क्रिकेटको तयारीमा रहेको नेपाली युवा टोलीलाई भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले यु–१९ एक दिवसीय क्रिकेट शृंखलाका लागि निम्तो गरेको हो ।

कोलकातामा आयोजना हुने उक्त प्रतियोगितामा नेपालसँगै भारत र अफगानिस्तानका यु–१९ टोली तथा भारतकै नेसनल क्रिकेट एकेडेमी (एनसीए) गरी कुल चार टोलीको सहभागिता रहनेछ । चारै टोलीले एक अर्काविरुद्ध खेल्नेछन् । शीर्ष दुई टिमले भने उपाधिका लागि खेल्नेछन् । त्यस्तै लिगमा तेस्रो र चौथो हुने टोलीबीच भने तेस्रो स्थानका लागि खेलाइनेछ । नेपालले सेप्टेम्बर १२ मा पहिलो खेल एनसीएविरुद्ध खेल्नेछ । त्यस्तै सेप्टेम्बर १४ मा भारतसँग र सेप्टेम्बर १६ मा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

‘लिग कम नकआउट’को आधारमा हुने प्रतियोगिता आगामी सेप्टेम्बर ९ देखि २० सम्म चल्नेछ । भारत र अफगानिस्तानको यु–१९ टोलीले भने यो प्रतियोगितालाई आगामी विश्वकपको तयारीका रूपमा हेरेका छन् ।

भारतीय क्रिकेट बोर्डले युवा क्रिकेटरको क्षमता विकासका लागि यस्तो प्रतियोगिता प्रत्येक वर्ष आयोजना गर्दै आएको छ । यसअघि, भारतले टेष्ट मान्यताप्राप्त टोलीलाई उक्त प्रतियोगितामा आमन्त्रण गर्दै आए पनि यसपालि पहिलोपटक नेपाल र अफगानिस्तानलाई अवसर दिएको हो ।

नेपाली टोलीका प्रशिक्षक विनोद दासले यो प्रतियोगितालाई अक्टोबरमा बंगलादेशमा हुने यु–१९ एसिया कप क्रिकेटको तयारीका रूपमा आफूहरूले लिएको जानकारी दिए । यु–१९ एसिया कप क्रिकेटमा नेपाल, भारत, श्रीलंका, पाकिस्तान, बंगलादेश, अफगानिस्तान, हङकङ र युएई सहभागी हुनेछन् ।