19th November | 2018 | Monday | 1:39:27 PM

साफ च्याम्पियनसिप : इतिहास रच्ने अवसर

हिमालय टाइम्स   POSTED ON : Wednesday, 12 September, 2018 (3:11:12 PM)

साफ च्याम्पियनसिप : इतिहास रच्ने अवसर

ढाका । बंगलादेशमा जारी साफ च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपाल भिड्दा नेपालका अघि इतिहास रच्ने अवसर हुनेछ । साफको २५ वर्षे इतिहासमा सेमिफाइनलभन्दा अघि बढ्न नसकेको नेपालसामु बुधबार भने माल्दिभ्सलाई पराजित गर्दै इतिहास रच्ने अवसर छ । 

नेपाली प्रशिक्षक बालगोपाल महर्जन पनि नेपालले इतिहास रच्नेमा ढुक्क देखिन्छन् । खेलपूर्व मंगलबार भएको पत्रकार सम्मेलनमा महर्जनले भने, ‘नेपालले बुधबार माल्दिभ्सलाई पराजित गर्दै इतिहास रच्नेछ भन्नेमा म ढुक्क छु । माल्दिभ्सलाई यसअघि हामीले २०१६ मा बंगबन्धु गोल्डकपको सेमिफाइनलमा ४–१ ले र १२औं सागको सेमिफाइनलमा ४–१ ले हराएका छौं । त्यसैले पनि हाम्रो आत्मविश्वास बलियो छ । बुधबार नेपाली फुटबलको इतिहासमा नयाँ अध्याय थपिनेछ ।’

दक्षिण एसियाली क्षेत्रको सबैभन्दा ठूलो फुटबल इतिहासमा नेपाल यस संस्करणसहित चार संस्करणमा मात्र सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाल सन् १९९९, २०११ र २०१३ गरी यसअघि तीनपटक नेपाल सेमिफाइनलमा पुगेको थियो । 

यसपटक नेपाल समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग २–१ ले पराजित भए पनि भुटानलाई ४–० र बंगलादेशलाई २–० ले पराजित गर्दै समूह विजेता बन्दै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो । बुधबार नेपालले पहिलो सेमिफाइनलमा पौने चारबजे माल्दिभ्सको सामना गर्दैछ । 

‘माल्दिभ्ससँग आत्मविश्वासी छौं’, प्रशिक्षक महर्जनले भने, ‘पुराना नतिजासहित जित्नेमा आशावादी छौं । बुधबार नेपालका लागि नयाँ ऐतिहासिक क्षण हुनेछ । नेपाली फुटबल र सम्पूर्ण नेपालीका लागि नयाँ कथा लेखिनेछ ।’ माल्दिभ्सका बारेमा प्रतिक्रिया दिँदै उनले भने, ‘माल्दिभ्स सशक्त टोली हो । सेमिफाइनमा पुग्ने टोलीलाई कम आँक्न मिल्दैन । उनीहरूको दुईवटा खेल हेरिसकेको छु । त्यहीअनुसार रणनीति बनाएको छु । रणनीति अनुसार खेल्न सक्यौं भने अवश्य जित हात पार्नेछौं ।’ नेपाल र माल्दिभ्सले हालसम्म साफमा आपसमा ६ खेल खेलेका छन् । जसमा नेपालले २ बराबरी खेल्दा ४ हार व्यहोरेको छ । नेपालले साफमा माल्दिभ्सविरुद्ध ७ गोल गर्दा १४ गोल खाएको छ । खेल नेपाली समयअनुसार ३ बजेर ४५ मा सुरु हुनेछ ।


Views: 16