19th October | 2018 | Friday | 4:37:50 AM

बंगबन्धु गोल्डकप : नेपाल आज ताजकिस्तानविरुद्ध खेल्दै

हिमालय टाइम्स   POSTED ON : Tuesday, 02 October, 2018 (3:00:11 PM)

बंगबन्धु गोल्डकप : नेपाल आज ताजकिस्तानविरुद्ध खेल्दै

काठमाडौं । साविकको विजेता नेपालले बंगलादेशमा सोमबारबाट सुरु भएको पाँचौं संस्करणको बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको पहिलो खेलमा मंगलबार ताजकिस्तानको सामना गर्दैछ । खेल सिलेटस्थित रंगशालामा स्थानीय समयानुसार साँझ ६ः३० बजेपछि सुरु हुनेछ । 

दुवै टोली पहिलो खेलमा जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन् । नेपाल रहेको समूह ‘ए’ मा ताजिकिस्तान र प्यालेस्टाइन रहेका छन् । दोस्रो चरणमा प्रवेशको लक्ष्य लिएको नेपालले ६ अक्टोबरमा प्यालेस्टाइनको सामना गर्नेछ । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ ।

२०१६ मा भएको चौथो संस्करणको गोल्डकपको उपाधि नेपालले जितेको थियो । नेपालले उपाधि जितेपछि यस संस्करण आउदासम्म पनि आयोजक बंगलादेश फुटबल संघले पुरस्कारबापतको आधा रकम २५ हजार डलर दिएको थिएन् । त्यसकारण नेपालले प्रतियोगिताको मिती नजिकिँदै गर्दा पनि पुरस्कार नआउँदासम्म नखेल्ने अडान लिएको थियो । तर अघिल्लो साता बंगलादेशले रकम पठाएपछि नेपालले खेल्ने निश्चित गरेको थियो । नेपाली टोली एकहप्ताभन्दा कम समयको तयारीमा आइतबारमात्रै बंगलादेश उडेको हो । नेपाली टोलीका कार्यवहाक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले यसपटक अघिल्लो वर्षको प्रतियोगिताभन्दा केही असहज हुने भए पनि आफूहरू उपाधि रक्षाको लक्ष्यसहित खेल्ने बताएका छन् । 

नेपालले अघिल्लो संस्करणमा च्याम्पियन बन्दा फाइनलमा बहराइनको यु–२३ टिमलाई ३–० ले पराजित गर्दै च्याम्पियन बनेको थियो । फाइनलमा विमल घर्तीमगर, विशाल राई र नवयुग श्रेष्ठले गोल गरेका थिए । तीन जना खेलाडी अहिलेको टिममा पनि समावेश छ । एन्फाले गत सोमबारमात्रै बंगबन्धु गोल्डकपका लागि २० सदस्यीय टोलीको घोषणा गरेको थियो । बंगलादेशमै भएको साफ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको नेपाली टोलीमा यसपटक २ खेलाडीमात्र परिवर्तन भएका छन् । 

व्यावसायिक फुटबलका लागि नेपाली टोलीका पहिलो रोजाइका गोलकिपर माल्दिभ्स र मिडफिल्डर रोहित चन्द इन्डोनेसिया रहेका कारण उनीहरूको ठाँउमा गोलकिपर विशाल श्रेष्ठ र रक्षक तेज तामाङलाई टोलीमा समेटिएको छ ।नेपाली टोलीको गोलकिपरमा विकेश कुथु, एलेन न्यौपाने र विशाल श्रेष्ठ छन् । यस्तै रक्षकमा दिनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन (कप्तान), अनन्त तामाङ, आदित्य चौधरी, तेज तामाङ र सुमन अर्याल छन् भने मिडफिल्डमा हेमन्त थापामगर, हेमन गुरुङ, विशाल रार्ई, सुनिल बल, सुजल श्रेष्ठ, निराजन खड्का यस्तै फरवार्डमा भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ र अन्जन विष्ट रहेका छन् । 


Views: 43