17th December | 2018 | Monday | 1:18:30 AM

विश्वकप छनोट खेल्न नेपाली टोली मलेसिया प्रस्थान

हिमालय टाइम्स   POSTED ON : Tuesday, 02 October, 2018 (3:02:10 PM)

विश्वकप छनोट खेल्न नेपाली टोली मलेसिया प्रस्थान

काठमाडौं । आइसिसी विश्व टी–ट्वान्टी छनोटअन्तर्गत एशिया उपक्षेत्रीय प्रतियोगितामा सहभागिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको छ । नेपाल प्रतियोगिताको उपाधि उचाल्ने लक्ष्यसहित मलेसिया प्रस्थान गरेको हो । 

अष्ट्रेलियामा हुने टी–ट्वान्टी विश्वकप सन् २०२० को अक्टोबर १८ देखि १५ नोभेम्बरसम्म हुनेछ । जसमा १६ टोलीले खेल्नेछन् । एसिया क्षेत्रको छनोटमा ७ टोलीले प्रतिस्पर्धा गर्नेछन । यसअघि युएई र कतार छनोट भइसकेका छन् भने बिहीबारबाट सुरु हुने प्रतियोगितामा नेपालसँगै मलेसिया, भुटान, सिंगापुर, चीन, म्यानमार, थाइल्याण्ड रहेका छन । 

मलेसियामा हुने छनोटमा प्रतियोगिताको शीर्ष तीनमा अटाउन सके एसिया क्षेत्रको छनोट खेल्न पाइने प्रावधान छ । नेपालले पहिलो खेलमा म्यानमारसँग बिहीबार खेल्नेछ । यस्तै दोस्रो खेलमा मलेसियासँग अक्टोबर ६ मा तथा तेस्रो खेलमा थाइल्याण्डसँग खेल्नेछ । 

नेपाली टोलीका कप्तान पारस खड्काले नेपालमा टी–ट्वान्टी क्रिकेटको माहौल बढेको बताउँदै प्रतियोगितामा सहज हुने बताए । ‘हामी करिब २–३ वर्षपछि टी–२० मा फर्किँदैछौं’, कप्तान खड्काले बिदाइ कार्यक्रममा भने, ‘यो पहिलो चरणको प्रतियोगिता हो । राम्रो क्रिकेट खेल्नैपर्छ । ओडीआई राष्ट्र भएपछि जिम्मेवारी र समर्थकको अपेक्षा पनि धेरै छ ।’ यस राउण्डमा खासै गाह्रो नहुने पारसको विश्वास छ । आफूहरू समूह विजेता बन्दै एसिया कपमा छनोट हुने लक्ष्यसहित खेल्ने पारसले बताए । 

यस्तै प्रशिक्षक जगत टमटाले उपक्षेत्रीय प्रतियोगितामा सहभागिता टोलीको भन्दा नेपालको स्तरमाथि रहेकाले आफूहरूले उपाधिका लागि खेल्ने दोहोर्याए । ‘राम्रो तयारी गरेका छौं । केही समयको प्रशिक्षण सीप विकासमा केन्द्रित थियौं । टिम राम्रो छ र मनोबल उच्च छ’, उनले भने । 

नेपाली टोलीमा प्रदीप ऐरीले पुनरागमन गरेका छन् । चोटका कारण प्रदीप सन् २०१५ पछि पहिलोपटक टिममा परेका हुन् । यस्तै शरद भेषावकर पनि केही समयको अनुपस्थितीपछि टिममा फर्किएका छन् । प्रदीप र शरदको पुनरागमनले टिमको प्रदर्शन राम्रो हुने विश्वास कप्तान खड्का र प्रशिक्षक टमाटा दुवैको छ ।

नेपाली टोली : पारस खड्का (कप्तान), अनिलकुमार साह, बसन्त रेग्मी, सन्दीप लामिछाने, शरद भेषवाकर, सोमपाल कामी, विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, ज्ञानेन्द मल्ल, करण केसी, ललित भण्डारी, ललित नारायण राजवंशी, आरिफ शेख र प्रदीप ऐरी ।


Views: 66