16th December | 2018 | Sunday | 10:26:24 PM

विश्व टी–२० छनोट : लगातार तेस्रो जितसहित नेपाल शीर्षमा

हिमालय टाइम्स   POSTED ON : Monday, 08 October, 2018 (3:54:07 PM)

विश्व टी–२० छनोट : लगातार तेस्रो जितसहित नेपाल शीर्षमा

काठमाडौं । मलेसियामा जारी आइसिसी टी–ट्वेन्टी विश्वकप छनोटअन्तर्गत समूह बीको खेलमा नेपालले लगातार तीन खेलमा जित हात पार्दै शीर्षमा स्थान बनाएको छ । क्वालालम्पुरको वायुमास ओभल मैदानमा आइतबार नेपालले थाइल्याण्डमाथि डिएल म्याथडका आधारमा १ सय ४० रनको फराकिलो अन्तरले पराजित गर्दै शीर्षमा स्थान बनाएको हो । खेल वर्षाले रोकिएपछि डिएल मेथडबाट नेपाललाई विजयी घोषणा गरिएको थियो । यसअघि नेपालले म्यानमार र मलेसियालाई समान ८ विकेटले पराजित गरेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले थाइल्याण्डलाई १ सय ७३ रनको लक्ष्य दिएको थियो । जवाफमा थाइल्याण्ड ८.५ ओभरमा ९ विकेट गुमाएर १८ रनमा रोकिएका बेला वर्षाले खेल रोकिएको थियो । थाइल्याण्डका कुनै पनि खेलांडीले दोहोरो रन जोडन सकेनन् । वान्चना विइसक र जिअउल होकले सात सात रनमात्र बनाएका थिए ।

नेपालका सन्दीप लामिछानेले ५ विकेट लिएका थिए । तीन ओभर बलिङ गरेका उनले एक मेडन राख्दै ८ रनमात्र खर्चिए भने करण केसीले ३ विकेट लिएका थिए । १.३ ओभर बलिङ गरेका उनले २ रनमात्रै दिएका थिए । उनी खेलको म्यान अफ द म्याचसमेत चुनिए । त्यसअघि नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको थियो । नेपालका लागि करण केसीले सर्वाधिक अविजित ४० रनको योगदान दिए । उनले १४ बलमा ४ छक्का र २ चौका प्रहार गरे । त्यस्तै, शरद भेषवाकरले ३४, दीपेन्द्रसिंह ऐरीले ३०, अनिलकुमार शाहले २५, विनोद भण्डारीले १५, आरिफ शेखले ८, उपकप्तान ज्ञानेन्द्र मल्लले ७, कप्तान पारस खड्काले ५ र सोमपाल कामीले ४ रन जोडे । थाइल्याण्डका लागि पायुपुथ सुङनार्डले ४ विकेट लिए । नेपालले अब असोज २३ गते भुटान, २४ गते चीन र २६ गते सिंगापुरसँग खेल्नेछ । असोज २६ गतेसम्म मलेसियामा चल्ने प्रतियोगितामा नेपालसहित सिंगापुर, मलेसिया, भुटान, चीन, म्यानमार र थाइल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । राउण्ड रोविनको आधारमा हुने प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणको छनोटमा छानिनेछन् ।

यसअघि एसियाको पश्चिम क्षेत्रीय छनोटबाट युएर्ई, कतार र कुबेत दोस्रोचरणमा प्रवेश गरिसकेका छन् । दोस्रो चरणमा युएर्ई, क्तार र कुबेतसँगै पूर्वक्षेत्रबाट छनोट हुने तीन टोलीसहित ६ टोलीबीच प्रतिस्पर्धा हुनेछ । जसबाट दुई टोली अन्तिमचरणका लागि छनोट हुनेछन् । अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टोलीबीच प्रतिस्पर्धा हुने र १४ मध्ये ६ टोली टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन् । नेपाली टोलीमा पारस खड्का (कप्तान), अनिलकुमार शाह, वसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललितसिंह भण्डारी, ललित राजवंशी, आरिफ शेख, प्रदीप ऐरी, सन्दीप लामिछाने, शरद भेषवाकर, सोमपाल कामी तथा वैकल्पिक खेलाडीमा सुनील धमला, साहब अलाम, दीपेश श्रेष्ठ र सागर पुन छन् । 


Views: 108