16th December | 2018 | Sunday | 11:59:11 PM

राष्ट्रिय टोली फर्किएसँगै लिगको तालिका सार्वजनिक

हिमालय टाइम्स   POSTED ON : Monday, 08 October, 2018 (3:56:48 PM)

राष्ट्रिय टोली फर्किएसँगै लिगको तालिका सार्वजनिक

काठमाडौं । बंगलादेशमा जारी पाँचौं संस्करणको बंगबन्धु गोल्डकपको समूह चरणबाटै बाहिरिएको नेपाली राष्ट्रिय फुटबल टोली आइतबार अपराहृन स्वदेश फर्किएको छ । 

बंगबन्धु गोल्डकपको साबिक विजेतासमेत रहेको नेपाल यस संस्करणमा समूह चरणको दुवै खेलमा पराजित हुँदै स्वदेश फर्किएको हो । नेपाल पहिलो खेलमा ताजकिस्तानसँग २–० तथा र दोस्रो खेलमा प्यालेस्टाइनसँग १–० गोल अन्तरले पराजित हुँदै समूह चराबाटै बाहिरिएको हो । राष्ट्रिय टोली फर्किएसँगै अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्थगित शहीद स्मारक ए डिभिजन लिगको नयाँ खेल तालिका सार्वजनिक गरेको छ । राष्ट्रिय टोली बंगबन्धुबाट स्वदेश फर्किएसँगै यही असोज २४ गतेदेखि हुने भएको हो । लिग निर्देशक सञ्जीव मिश्रका अनुसार २४ गते लिग सुरु हुने र २७ गतेदेखि पुनः एक महिनाका लागि लिग स्थगित हुनेछ । 

एन्फाले २४, २५ र २६ गतेभित्र पहिलो चरणको खेल सकाउने लक्ष्य लिएको छ । त्यसपछि दशैंतिहारको बिदामा लिग स्थगित हुनेछ । ‘पहिलो राउण्डको खेल सकिएलगत्तै २७ गतेदेखि लिग स्थगित हुन्छ । दशैंतिहार, छठलगायत महŒवपूर्ण चाडबाड सकिएपछि मंसिरदेखि लिगको दोस्रो चरणका खेल सुरु हुने निर्देशक मिश्रले जानकारी दिए । पहिलो चरणका मच्छिन्द्र र च्यासल, फ्रेण्डस् क्लब र थ्रीस्टार, जावलाखेल युथ क्लब र नेपाल पुलिस, हिमालयन शेर्पा र एपिएफ तथा ब्रिगेड ब्वाइज् क्लब र मनाङ्मस्र्याङ्दी गरी पाँच खेल बाँकी छन् । तीन दिनमा पाँच खेल खेलाउँदा दुईदिन दुई–दुई खेल हुनेछन् भने एकदिन एउटा खेल हुनेछ । उद्घाटन खेलमा न्युरोड टिम एनआरटी र विभागीय टोली त्रिभुवन आर्मीले अंक बाँडेका थिए भने दोस्रो खेल सरस्वती युथ क्लबलाई पराजित गर्दै संकटा क्लब विजयी भएको थियो । लिगका खेल तेह्र चरणसम्म खेलाइनेछ । राउण्ड रोविन लिगका आधारमा हुने प्रतियोगितामा कुल ९१ खेल हुनेछन् । लिगको विजेताले ५० लाख, उपविजेताले ३५ लाख र तेस्रो हुनेले २५ लाख पुरस्कार पाउनेछन् ।

लिगको चौथो टोलीले १५ लाख, पाँचौं टोलीले सात लाख र छैटौंले पाँच लाख पाउनेछन् । ‘फेयर प्ले’ टिमले एक लाख, प्रत्येक खेल जितेवापत एन्फाले क्लबलाई ५० हजार तथा ‘म्यान अफ दी म्याच’ खेलाडीलाई १० हजार पुरस्कार दिनेछ । यस्तै, लिग विजेता टोलीले एएफसी एसियन कप फुटबलमा सहभागिता जनाउन पाउने मिश्रले जानकारी दिए । ए डिभिजन लिग चार वर्षपछि हुन लागेको हो । पछिल्लोपटक २०७१ सालमा ए डिभिजन लिग भएको थियो । लिगमा ए डिभिजनका १३ क्लब सहभागी छन् ।


Views: 87