19th November | 2018 | Monday | 2:10:21 AM

पारसको चितवनको लगातार हार

हिमालय टाइम्स   POSTED ON : Tuesday, 30 October, 2018 (2:12:05 PM)

पारसको चितवनको लगातार हार

काठमाडौं । पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोज्ले पोखरा प्रिमियर लिगमा लगातार दोस्रो खेलमा हार बेहोरेको छ । 

चितवन सोमबार दिउँसो पोखरा रंगशालामा भएको खेलमा घरेलु टोली पोखरा पल्टनसँग ५ विकेटले पराजित भएको हो । यसअघि चितवन पहिलो खेलमा बुटवल ब्लास्टर्ससँग पराजित भएको थियो । पोखराको यो दोस्रो जित हो । चितवनले दिएको एक सय ४१ रनको लक्ष्य पोखराले १६ बल बाँकी छँदै ५ विकेट गुमाएर भेटाएको थियो । उसका मेहबुब आलाम(७)ले छक्का प्रहार गर्दै विजयी रन बटुलेका थिए । यस्तै, रवीन्द्र सिंहले ६५ रनको अर्धशतकीय पारी खेल्दै पोखरालाई जित दिलाएका हुन् । ४८ बल खेलेका उनले ८ चौका र  ३ छक्का प्रहार गरेका थिए । यस्तै, पोखराका कप्तान शरद भेषावकरले ३७ रनको विष्फोटक ब्याटिङ गरे । १८ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे । रोहित पौडेलले १९ रन जोडे । 

त्यसअघि टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४० रन जोडेको थियो । ब्याट्सम्यानहरू लामो समय क्रिजमा बस्न नसक्दा चितवनले हार बेहोर्नुपर्यो । चितवनका लागि सन्नी पटेलले नटआउट रहँदै ४६ रनको पारी खेले पनि टिमलाई जिताउन सकेनन् । २७ बलमा उनले ३ चौका र ३ छक्का प्रहार गरे । यस्तै, कप्तान पारस खड्काले ४४ रन जोडे । ३२ बलको सामना गरेका उनले ३ चौका र ३ छक्का प्रहार गरे । सोनु तामाङले २१ र अनिलकुमार शाहले १६ रन जोडेका थिए । पोखराका विक्रम भुषालले २ विकेट लिए भने शरद भेषावकर, मोहबुब आलम र मोहम्मद नाभिदले समान १–१ विकेट लिँदै जित दिलाए ।

खेलपछि प्रतिक्रिया दिँदै चितवनका कप्तान पारस खड्काले पोखराका खेलाडीहरूले राम्रो खेलेका कारण खेल उनीहरूको जित हात पारेको बताए । ‘पोखराले राम्रो क्रिकेट खेले, हामीले आफ्नो क्षमताअनुसार खेल्न सकेनौं,’ पारसले भने, ‘हामीले अबका खेलमा राम्रो खेल्नैपर्छ । हामीसँग राम्रा खेलाडी भएपनि क्लिक गर्न सकिरहेका छैनौं । त्यसमा समस्या देखिएको छ ।’  

गौरवको लगातार उत्कृष्ट प्रदर्शन

पोखरा । भारतीय खेलाडी गौरव तोमरले लगातार दोस्रो खेलमा म्यान अफ द म्याच प्रदर्शन गरेपछि काठमाडौं रोयल्स पोखरा प्रिमियर लिगको शीर्ष स्थानमा पुगेको छ । काठमाडौंले सोमबार बिहान भएको आफ्नो दोस्रो खेलमा विराटनगर टाइटन्सलाई ५ विकेटले पराजित गर्दै चार अंकका साथ शीर्षमा स्थान बनाएको हो । 

टस जितेर ब्याटिङ गरेको विराटनगरले दिएको एक सय ५१ रनको लक्ष्य गौरवको अलराउण्डर प्रदर्शनमा रोयल्सले ४ बल बाँकी छँदै भेटाएको थियो । ब्याटिङतर्फ सर्वाधिक ६६ रनको इनिंस खेलेका गौरवले बलिङतर्फ पनि २ विकेट लिएपछि काठमाडौंले प्रतियोगितामा लगातार दोस्रो जित हात पा¥यो । ४६ बल खेलेका उनले ६ चौका र ३ छक्का प्रहार गरे । पहिलो खेलमा धनगढीविरुद्ध जित हात पार्दासमेत गौरवले ९५ रनको इंनिस खेल्नुका साथै एक विकेट लिएका थिए । यस्तै विराटनगरविरुद्ध अमित श्रेष्ठले ३५ तथा कप्तान ज्ञानेन्द्र मल्लले १७ रन जाडे ।

ओपनर मोहम्मद जाइद आलामले ४७ बलमा ४ छक्का र ७ चौकासहित ६७ रन बनाएपछि विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । सुनिल धमला र राजेश पुलामीमगरले समान ३०–३० रन जोडेका थिए । विराटनगरका बलरको प्रदर्शनपनि लक्ष्य रोक्नसक्ने देखिएन । सहाब आलमले २ विकेट लिन २१ रन खर्चे । कप्तान सन्दीप लामिछानले १ विकेटमात्रै लिँदा चार ओभरको स्पेलमा ३० रन खर्चे । यस्तै, जितेन्द्र मुखियाले २.२ ओभरमा १ विकेट लिँदै एक विकेट लिए । यसअघि विराटनगर घरेलु टोली पोखरा पल्टन र धनगढी ब्लुज्सँग पराजित विराटनगरको यो लगातार तेस्रो हार हो । हारसँगै विराटनगरको सम्भावना एकदमै झिनो बनेको छ । अब उसले प्रतियोगिताका बाँकी दुई खेल जितेरमात्रै नपुग्ने भएको छ । उसले अरू टोलीको नतिजामा पनि भर पर्नुपर्नेछ । 

विराटनगरका कप्तान सन्दीप लामिछानेले ब्याट्सम्यानहरूको प्रदर्शनबाट असन्तुष्टि व्यक्त गरे । ‘प्रदर्शन भएन भने राम्रो महसुस हुँदैन,’ सन्दीपले भने, ‘स्कोर नहुँदा बलरहरूलाई दबाब बढेको छ । बाँकी दुई खेलहरू जटिल भइसकेको छ । अब शतप्रतिशत दिनेछौं ।’ यस्तै,काठमाडौं रोयल्स्का कप्तान ज्ञानेन्द्र मल्लले दुई खेल लगातार जित्दा टिम मनोवैज्ञानिकरूपमा खुशी रहेको बताए । तर, बाँकी तीना खेल उत्तिकै चुनौतीपूर्ण रहेकाले ती खेल जित्दै प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गर्ने आफूहरूको लक्ष्य रहेको उनले बताए । 


Views: 51