19th November | 2018 | Monday | 2:54:00 AM

मनाङ गभर्नस गोल्डकपको सेमिफाइनलमा

हिमालय टाइम्स   POSTED ON : Wednesday, 31 October, 2018 (2:20:39 PM)

मनाङ गभर्नस गोल्डकपको सेमिफाइनलमा

काठमाडौं । नेपालको मनाङ मस्र्याङ्दी फुटबल क्लब भारतको सिक्किममा जारी गभनर्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मनाङले भारतीय क्लब कोलकाता कस्टम्सलाई पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो । 

सिक्कमको ग्यान्टोकस्थित पाल्चोर रंगशालामा मंगलबार भएको खेलमा मनाङले कोलकाता कस्टम्सलाई ४–२ गोलअन्तरले पराजित ग¥यो । अब मनाङले फाइनल प्रवेशका लागि बिहीबार कोलकाताको एटिके क्लबको सामना गर्नेछ । मनाङको जितमा विमल राना र कप्तान सुजल श्रेष्ठले समान २–२ गोल गरेका थिए । पहिलो हाफमा १–१ को बराबरी रोकिए पनि दोस्रो हाफमा मनाङले निर्णायक गोल गरेको थियो । खेलको सातौं मिनेटमा विमलले मनाङका लागि पहिलो गोल गरेका थिए । तर २५ औं मिनेटमा आत्मघाती गोल भएपछि पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो ।

मनाङले ६८ औं मिनेटमा फेरि बिमलको गोलबाटै अग्रता बनाएको थियो । तर, कोलकताले ७७ औं मिनेटमा गोल गर्दै फेरि खेलमा बराबरी बनायो । त्यसपछि सुजलले दुई गोल गर्दै मनाङको जित सुनिश्चित पारेका हुन् । सुजलले ८२ औं र खेलको इञ्जुरी समयमा गोल गरेका थिए । 

यस्तै प्रतियोगितामा सहभागी नेपालको अर्को क्लब सशस्त्र प्रहरीको एपीएफ भने समूह चरणबाटै बाहिरिएको थियो । मनाङले भने सोझै क्वार्टरफाइनलमा प्रवेश पाएको थियो । जितपछि प्रतिक्रिया दिँदै मनाङका कप्तान सुजलले सेमिफाइनलमा पनि क्वार्टरफाइनलकै लयलाई निरन्तरता दिने विश्वास व्यक्त गरे ।


Views: 61