19th November | 2018 | Monday | 3:14:34 AM

पोखरा प्रिमियर लिग : फाइनलमा पोखरा र चितवन भिड्दै

हिमालय टाइम्स   POSTED ON : Tuesday, 06 November, 2018 (2:34:39 PM)

पोखरा प्रिमियर लिग : फाइनलमा पोखरा र चितवन भिड्दै

पोखरा । देशकै सर्वाधिक पुरस्कार राशीको फ्रेन्चाइजी क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेटको उपाधि घरेलु टोली पोखरा पल्टन वा चितवन टाइगर्स्ले उचालेसँगै मंगलबार सकिनेछ । उपाधिका दुवैै टोली मंगलबार बिहान ११ बजे पोखरा रंगशालास्थित क्रिकेट मैदानमा आमनेसामने हुनेछन् ।

शरद भेषवाकरको कप्तानीमा रहेको पोखरा पल्टन लिग चरणको शीर्ष स्थानमा रहँदै सिधैँ फाइनलमा प्रवेश गरेको हो । 

यस्तै, पारस खड्काको नेतृत्वमा रहेको चितवनले एलिमिनेटरको खेलमा हुलास काठमाडौं रोयल्स्माथि ६ विकेटको जित निकालेर फाइनलमा पोखरासँगको उपाधि भिडन्त पक्का गरेको हो ।

फाइनलअघि दुवैै टोलीका कप्तानले आआफ्नो टोलीको उपाधि उचाल्ने लक्ष्य रहेको बताए । पोखराको सारांङकोटमा आयोजित पत्रकार सम्मेलनमा पारस र शरदले आफूहरू फाइनलका लागि तयार रहेको बताएका हुन् ।

कप्तान पारस खड्काले दुई राम्रा टोली फाइनलमा पुगेकाले एकदमै प्रतिस्पर्धा हुने विश्वास व्यक्त गरे । ‘फाइनलमा पुगेका दुवैै टोली राम्रा छन्,’ पारसले भने, ‘फाइनल खेलमा एकदमै प्रतिस्पर्धा हुनेछ र सबैले मजा लिनु हुनेछ भन्नेमा आशावादी छु ।’

‘पोखराविरुद्ध राम्रो क्रिकेट खेल्न पर्नेछ,’ पारसले थपे, ‘हामीले पछिल्ला चार खेल राम्रो खेलेका थियौ । फाइनलमा पनि त्यस्तै खेलको अपेक्षा छ । पहिला के भएको थियो भन्दा पनि हामी फाइनलमा के गर्न सकिन्छ भन्ने योजना बनाइरहेका छौँ ।’

उपाधि जित्ने विश्वास व्यक्त गर्दै पारसले भने, ‘चितवन टिम उत्साहित छ । हामी उपाधि जित्नलाई आएका थियौं । अब त्यो पूरा हुन एक कदम बाँकी छ । राम्रो क्रिकेट खेलेर उपाधि चितवन लान शतप्रतिशत योगदान दिनेछौं ।’ 

चितवनले लिग चरणको सुरुवाती दुई खेल हारे पनि बाँकी चार खेल जित्दै फाइनलमा स्थान बनाएको हो । पहिलो खेलमा बुटवल ब्लास्टर्स, दोस्रो खेलमा पोखरा पल्टनसँग पराजित चितवन तेस्रो खेलबाट भने अपराजित रहँदै फाइनल प्रवेश गरेको हो । 

तेस्रो खेलमा धनगढी ब्लुजलाई १ सय २६ रनको फराकिलो अन्तरले पराजित गर्दै पुनरागमन गरेको चितवनले चौथो खेलमा काठमाडौं रोयल्स् र पाँचौ खेलमा विराटनगर टाइटन्स्लाई पराजित गरेको थियो । 

यस्तै, इलिमिनेटरमा पुनः काठमाडौंमाथि सहज ६ विकेटको जित निकाल्दै चितवनले फाइनलमा पोखरासँगको भेट निश्चित गरेको हो ।

यता, घरेलु टोलीले पहिलो खेलदेखि नै लय देखाएको थियो । पोखराले पहिलो खेलमा विराटनगरलाई पराजित गरे पनि दोस्रो खेलमा बुटवलसँग पराजित हुन पुगेको थियो । पुनः पोखराले तेस्रो खेलमा चितवनलाई पराजित ग¥यो भने चौथो खेलमा धनगढीसँग पराजित भएपनि पाँचौं खेलमा काठमाडौंलाई पराजित गर्दै समूहको शीर्षमा रहँदै फाइनलमा स्थान बनाएको हो । 

पोखराका कप्तान शरद भेषवाकर आफूहरू जुन उद्देश्यका लागि प्रतियोगिता खेलेका थियौ त्यो पूरा हुन अब एक कदम बाँकी रहेको बताउँछन् । शरदले भने, ‘हाम्रो टिमका खेलाडी भाग्यमानी छन् किनकि सबैले होम टिमका लागि खेल्न पाएका छौं । हाम्रा लागि सबैजना मैदानमा आएर झण्डा बोकेर चियरअप गरिरहनु भएको छ । जुन हाम्रो लागि फाइदाजनक कुरा हो । यसले हामीलाई उत्साहित बनाएको छ । 

शरदले फाइनलमा आफूहरू रिजल्टका बारेमा सोच्नुभन्दा राम्रो प्रदर्शन गर्नेमात्रै सोच्ने बताए । पारससँगको टिमसँग फाइनल खेलेपनि यसलाई अन्य खेलजस्तै आफूले लिएको उनले बताए । टिम वातावरण राम्रो रहेकाले चितवनलाई कडा टक्कर दिने उनले बताए ।

क्विन्स् इभेन्ट्स म्यानेजमेन्ट प्रालिको आयोजनामा गतकात्तिक ९ बाट सुरु भएको पोखरा प्रिमियर लिगमा ६ शहरका फ्रेन्चाइजी टोलीको सहभागिता थियो । प्रतियोगिताका विजेताले २७ लाख प्राप्त गर्नेछन् भने उपविजेता टोलीले १० लाखमा चित्त बुझाउनेछन् । प्रतियोगिताको म्यान अफ द सिरिज, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले सुजुकी जिक्सर १ सय ५५ सिसी मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ ।


Views: 39