19th December | 2018 | Wednesday | 12:33:50 AM

टी–टेनमा सन्दीपको उत्कृष्ट सुरुवात

हिमालय टाइम्स   POSTED ON : Friday, 23 November, 2018 (2:08:34 PM)

टी–टेनमा सन्दीपको उत्कृष्ट सुरुवात

काठमाडौं । नेपाली युवा स्पिनर सन्दीप लामिछानेले यूएईमा जारी टी–टेन लिगमा उत्कृष्ट सुरुवात गरेका छन् । सन्दीपको म्यान अफ द म्याच प्रदर्शनपछि उनको टोली केराला नाइट्सले पख्तुन्सलाई ८ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो । दुई ओभरमा सन्दीपले तीन विकेट लिएर १७ रनमात्रै खर्चेपछि म्यान अफ द म्याचसमेत चुनिएका थिए । 

टस हारेर ब्याटिङको निम्तो पाएको पख्तुन्सले १० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९ रन जोडेको थियो । सन्दीपले उसका आन्द्रे फ्लेचर र कोलिन इन्ग्रामलाई पहिलो ओभरको पहिलो र अन्तिम बल तथा मुहमद कालिमलाई दोस्रो ओभरको चौथो बलमा पेभेलियन फर्काएका थिए ।

पख्तुन्सका लागि फ्लेचरले १४ बलमा ३ चौका र २ छक्कासँगै ३२ रन जोडेका थिए । यस्तै क्यामरन डेलपोर्ट १५ बलमा २८ मा नटआउट रहँदा लिआम डसनले ११ बलमा २५ रनको योगदान दिएका थिए । 

जवाफमा पल स्टरलिङले १४ बलमा ३ चौका र ४ छक्कासहित ४० रन जोडेपछि केरलाले आठौं ओभरमा २ विकेट गुमाउँदै लक्ष्य भेटाएको थियो । टोलीका कप्तान ओइन मोर्गन २० बलमा २ चौका र ५ छक्का प्रहार गर्दै नटआउट ४६ रन जोडेका थिए ।

जितसँगै केरलाले २ अंक जोडेको छ । ८ टोलीको सहभागिता रहेको लिग १० ओभरको हुनेछ । क्रिकेटको छोटो स्वरूपको प्रतियोगिता खेल्न सन्दीप आइतबार युएई गएका थिए । प्रतियोगिताका लागि सन्दीपलाई केरलाले ३० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो । 

इन्डियन प्रिमियर लिग दिल्ली डेयरडेभिल्समा ‘रिटेन’ भएका सन्दीपले यसअघि यूएईमै अफगानिस्तान प्रिमियर लिग क्रिकेट खेलेका थिए । सन्दीप मंगलबारमात्र पाकिस्तान सुपर लिगका लागि लाहोर कालान्दरमा अनुबन्धित भएका थिए ।


Views: 63