24th July | 2019 | Wednesday | 3:10:15 PM

सुदूरपश्चिम खप्तड गोल्डकपको तयारी पूरा

हिमालय टाइम्स   POSTED ON : पुष २४, २०७५ (७:२२ AM)

सुदूरपश्चिम खप्तड गोल्डकपको तयारी पूरा

धनगढी – सुदुरपश्चिमको धनगढीमा मंगलबारदेखि सुरु हुने तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकपको तयारी पूरा भएको छ । सोमबार खेलस्थल धनगढी रंगशालामा आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबले पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।

सम्मेलनमा बोल्दै आयोजक क्लबका अध्यक्ष सुरेश हमालले प्रतियोगिता आयोजक क्लबको मात्र नभएर समग्र सुदूरपश्चिमेली जनताको रहेको र यसलाई एक पर्वको रूपमा मनाइने बताए । ‘यो गोल्डकप हामी सबै सुदूरपश्चिमका जनताको हो । हामीले दशैं, माघीलगायत पर्व मनाएझैं यसलाई पनि एक पर्वको रूपमा लिनुपर्छ । सुदूरपश्चिमको फुटबलमा मात्र नभएर यस प्रतियोगिताले राष्ट्रव्यापीरूपमा नै हाम्रो फुटबललाई बेग्लै पहिचान दिएको छ,’ अध्यक्ष हमालले भने । 

हमालले प्रतियोगिताले पछिल्लोसमय ठूलोस्वरूप लिँदै गएको र छोटो समयमै देशकै उत्कृष्ट प्रतियोगिताको रूपमा स्थापित गर्न सफल रहेको बताए ।

पत्रकार सम्मेलनमा कैलाली खेलकुद विकास समितिका अध्यक्ष दीपक सिंहले खेलस्थल धनगढी रंगशालाको स्तरोन्नतिको कार्य अगाडी बढेको पनि जानकारी दिए । ‘खप्तड गोल्डकपकका लागि हामी सबै सुदूरपश्चिमवासी एकसाथ बढ्नु जरुरी छ । हामीले संस्थागत र व्यक्तिगतरूपमा प्रतियोगितालाई भव्य बनाउन सक्दो प्रयास गरेका छौं,’ उनले थपे, ‘राखेपले रंगशाला स्तरोन्नतिका लागि टेन्डर प्रक्रिया सुरु गरिसकेको छ । केही दिनमा टेन्डर प्रक्रिया सकिएपछि निर्माणको कार्य चाडैं सुरु हुने विश्वास लिएका छौं ।’

कुल १२ टोलीको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन खेलमा मंगलबार आयोजक टोली सुदूरपश्चिम(११ र मेची नेत्रालय काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर भिड्नेछन् । उद्घाटन खेल २ः३० बजे सुरु हुनेछ । त्यसअघि मध्यान्ह १२ बजे चौराहाबाट झाँकीसहितको ¥याली प्रतियोगिता स्थलसम्म पुगेर उद्घाटन समारोह सुरु हुने कार्यक्रम रहेको छ ।

मोफसलकै सर्वाधिक धनराशीको प्रतियोगिता विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँँ हात पार्नेछन् । उत्कृष्ट खेलाडीले यामाहाको १ ५० सिसी मोटरसाइकल प्राप्त गर्दा विधागत उत्कृष्ट विजेताले जनही १५(१५ हजार रुपैयाँँ पाउनेछन् । प्रत्येक खेलको म्यान अफ दी म्याचलाई नगद १० हजार प्रदान गरिनेछ । प्रतियोगिताको फाइनल खेल माघ ५ गते हुनेछ ।

यसअघि नै प्रतियोगिता सञ्चालनका लागि आवश्यक उपसमित गठन गरिएको छ । प्रायोजक उपसमितिको संयोजक बाबुराजा श्रेष्ठ, आर्थिक उपसमितिका संयोजक योगेन्द्र चन्द, टिकट उपसमितिका संयोजक ध्रुव बराल, मिडिया संयोजक ओम चन्द, कार्यालय तथा सचिवलाय उपसमितिका संयोजक देवेन्द्र जोशी र मैदान मर्मत उपसमितिका संयोजक चक्र मल्ल रहेका छन् । होटेल व्यवस्थापन उपसमितिका संयोजक तेज खड्का, पार्किङ व्यवस्थापन उपसमितिका संयोजक खड्ग शाह र ब्यानर व्यवस्थापन उपसमितिका संयोजक राजेश श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।

प्रतियोगितामा दर्शकहरूले खेल अवलोकनका लागि टिकट दर तोकिएको छ । क्वार्टरफाइनलसम्मका लागि एक सय र एक सय ५० तथा सेमिफाइनल र फाइनलका लागि एक सय ५० र दुई सय रुपैयाँ तोकिएको छ ।


Views: 79