25th June | 2019 | Tuesday | 3:03:07 AM

अन्तिम खेलमा चुक्यो मनाङ

हिमालय टाइम्स   POSTED ON : पुष २५, २०७५ (७:४२ AM)

अन्तिम खेलमा चुक्यो मनाङ

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको अन्तिम खेलको अन्तिम समयमा सम्हालिन नसक्दा लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब फ्रेन्ड्स क्लबसँग पराजित भएको छ । लगातार १२ खेल जितेको मनाङ अन्तिम खेलमा मंगलबार १–० ले पराजित भएपछि उसको अपराजित रहँदै लिग अन्त्य गर्ने सपनामा समेत तुषारापात भयो ।

यद्यपि दुई खेलअघि नै लिगको उपाधि उचालिसकेको मनाङले अन्तिम हारका बाबजुद पनि मंगलबार ट्रफी उचालेको छ । ट्रफीसँगै मनाङले ५० लाख रुपैयाँ हात पा¥यो । मंगलबारको अन्तिम खेलसँगै यस सिजनको ए डिभिजन लिग सकिएको छ । ‘ए’ डिभिजन लिगमा मनाङको यो कीर्तिमानी आठौं उपाधि हो । मनाङले यसअघि २०४३, २०४४, २०४६, २०५७, २०६०, २०६२ र २०७० मा ए डिभिजन लिग जितेको थियो । मनाङले २०७० सालमा अन्तिमपटक भएको लिगमा रानीपोखरी कर्नर टिम आरसिटीले ६ चोटी जित्दै रचेको कीर्तिमानलाई तोडेको थियो । त्यसबाहेक रुस्लान थ्री स्टार क्लब र न्यूरोड टिम एनआरटीले समान चारपटक लिग उपाधि जितेका छन् ।

लिगमा दोस्रो हुन सफल संकटा क्लबले ३५ लाख, तेस्रो स्थानमा रहेको थ्री स्टार क्लबले २५ लाख, चौथोमा रहेको आमीले १५ लाख, पाँचौं स्थानमा रहेको एपीएफले ७ लाख र छैटौं स्थानमा रहेको पुलिसले ५ लाख प्राप्त गरेको छ । अन्तिम खेलसँगै आयोजित एक समारोहबीच क्लबहरूलाई पुरस्कार वितरण गरिएको थियो । लिगअन्तर्गत मंगलबार एन्फा मैदान सातदोबाटोमा भएको खेलमा मनाङ फ्रेण्डस क्लबसँग १–० गोलले पराजित भएको हो । निर्धारित समयमा गोलरहित बराबरीमा रोकिए पनि खेलको अतिरिक्त समयमा फ्रेण्डसका लागि विकास लामाले निर्णायक गोल गरेका थिए ।

यसैगरी मंगलबारै हलचोक मैदानमा भएको अन्तिम चरणको खेलमा ब्रिगेड ब्वाइज र एनआरटी क्लबले बराबरी खेलेका छन् । हलचोक मैदानमा भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन् । ब्रिगेड ब्वाइज नौ अंकसहित तालिकाको एघारौं स्थानमा रहृयो भने एनआरटी ६ अंक जोड्दै तालिकाको पुछारमा रहेर लिगको अन्त्य गरेको छ । 

लिगको विधागततर्फ पनि मनाङकै खेलाडीको बर्चस्व रहृयो । आर्मी क्लबका भरत खवासले उत्कृष्ट फरवार्डको अवार्ड हात पारेका छन् । अवार्डसहित उनले एक थान पल्सर मोटरसाइकल र नगद ५० हजार हात पारे । यस्तै प्रतियोगिताको उत्कृष्ट गोलकिपर मनाङका विशाल श्रेष्ठ, उत्कृष्ट डिफेन्डर थ्री स्टारका रञ्जित धिमाल, उत्कृष्ट मिडफिल्डर मनाङका हेमन गुरुङ र उत्कृष्ट प्रशिक्षक मनाङका सुमन श्रेष्ठ चुनिए ।

सबैले एक–एक थान पल्सर मोटरसाइकलसहित नगद ५० हजार हात पारे । यस्तै प्रतियोगितामा आर्मीका डिफेन्डर विकास खवासले ‘मणि विक्रम शाह युवा खेलाडी’ अवार्ड जिते । सो अवार्डसँगै उनले नगद एक लाख हात पारे ।

पाँच वर्षपछि भएको हुनाले एन्फाले यसपटक रेलिगेसन बिनाको लिग गरेको थियो तर पुछारका टोलीको भने आगामी लिगमा अंक घट्ने प्रावधान अनुसार मछिन्द्र क्लबको एक र न्यूसरोड टिम एनआरटीको दुई अंक अर्को संस्करणमा घट्ने भएको छ । एन्फाका अनुसार तालिकाको पुछारको टिमले २ अंक र पुछारबाट दोस्रो हुने टिमले १ अंक घट्नेछ । 


Views: 58