22nd March | 2019 | Friday | 8:49:26 AM

उद्घाटन खेलमा आयोजक स्तब्ध

हिमालय टाइम्स   POSTED ON : पुष २५, २०७५ (७:४५ AM)

उद्घाटन खेलमा आयोजक स्तब्ध

धनगढी । उद्घाटन खेलमा मेची नेत्रालय काँकडभिट्टा ट्रेनिङ सेन्टरसँग सडेन डेथमा पराजित भएसँगै आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लब तेस्रो नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपबाट बाहिरिएको छ । धनगढी रंगशालामा मंगलबार भएको खेल निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि सडन डेथमा काँकडभिट्टाले सुदूरपश्चिममाथि ७–६ को जित दर्ता गरेको हो ।

धनगढी रंगशालामा मंगलबार खेलको अधिकांश समय आक्रामक रणनीतिमा खेलेको घरेलु टोलीले गोल गर्न भने सकेन । खेलको दशौं मिनेटमै विनोद केसीको प्रहारमा राम्रो नियन्त्रण नहुँदा फुस्केको बलमा अब्दुल रहमानले गरेको प्रहार गोलरक्षक दीप कार्कीले सहजै बचाए । २३औं मिनेटमा विनोद केसीले पेनाल्टी क्षेत्रको ठीक बाहिरबाट गरेको भली प्रहारलाई गोलरक्षक दीपले उत्कृष्ट डाइभ दिएर विफल पारे । पहिलो हाफ गोलरहित बराबरीमा टुंगियो ।

दोस्रो हाफको पाँचांै मिनेटमा चेतन थारूले गरेको हाफ भलीलाई गोलरक्षक दीपले बचाए । नवौं मिनेटमा भूषण लिम्बूको फ्रिकिकमा विकास राईको हेडरले पोस्टको दिशा लिन सकेन । खेलको अन्तिम समयमा विनोद केसीको प्रहार डिफेन्सलाई लागेर फर्कँदा रिबाउण्डमा आएको बलमा माधव भण्डारीले गोल गर्न सकेनन् ।

सडन डेथमा लावल ओलाकानको प्रहार अकाशिएपछि काँकडभिट्टाको जित पक्का भएको थियो । त्यसअघि सडन डेथमा नै माधव भण्डारीको प्रहारलाई दीप कार्कीले उत्कृष्ट बचाउ गर्दै सुदूरलाई जित दर्ता गर्नबाट बाधक बनेका । दीपले त्यसअघि सुदूरका राकेश हमालको प्रहार पनि बचाएका थिए । 

सुदूरका लागि अब्दुल रहमान, नरेन्द्र चौधरी, विजय ठकुरी, विनोद केसी, फिलिम तामाङ र चेतन कुमार थारुले गोल गरे । काक्करभीट्टाका भूषण लिम्बू, अजित गुरुङ, विश्वास श्रेष्ठ, दीप कार्की, निशान लिम्बू, विकास राई र विशाल राईले गोल गरे । कप्तान खामिर गिल्सान र लक्ष्मण जिसीको प्रहार भने गोल हुन सकेन ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका काँकडभिट्टाका गोलरक्षक दीप कार्की म्यान अफ द म्याच भए । उनले १० हजार रुपैयाँ हात पारे । विजयी टोलीका प्रशिक्षक कर्ण थापामगरले प्रशिक्षणको समय नपाउँदा खेलाडीमा समन्वय नभएको बताए । प्रतियोगिताको उद्घाटन समारोहमा प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टलगायत उच्च पदस्थ अधिकारीको उपस्थिति थियो ।


Views: 66