26th June | 2019 | Wednesday | 9:31:35 PM

उपाधि दाबेदारको भिड्न्त

हिमालय टाइम्स   POSTED ON : माघ २८, २०७५ (७:२९ AM)

उपाधि दाबेदारको भिड्न्त

धनगढी । काठमाडौं गोल्डन्स, धनगढी स्टार्स, रूपेन्देही च्यालेन्जर्स र महेन्द्रनगर युनाइटेड रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) टी–२० क्रिकेट प्रतियोगिताका उपाधि दाबेदार टोली हुन् । चारवटै टोली प्रतियोगिताको पहिलो दिन सोमबारै मैदान उत्रँदैछन् ।
स्वामित्व परिवर्तन भएपछि घरेलु टोली धनगढी यसअघि डिपिएलका दुवै संस्करणको च्याम्पियन टोली हो । सोमपाल कामीको कप्तानीमा रहेको धनगढीलाई बिहान हुने पहिलो खेलमा चुनौती दिनेछ, गत वर्षको उपविजेता टोली काठमाडौं गोल्डेन्सले । काठमाडौंको नेतृत्व राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले गर्दैछन् ।
सुरुका लगातार दुई सिजनको उपाधि उचाले पनि यो नयाँ प्रतियोगिता भएकाले आफूले फ्रेश नयाँ सुरुवात गर्नुपर्ने धनगढीका कप्तान सोमपाल कामी भन्छन् । ‘यसअघि जितेको ताज जोगाउँन गाह्रो त भइहाल्छ’, सोमपालले भने, ‘अघिल्ला दुईवर्ष राम्रो प्रदर्शन गरेर उपाधि जितेका थियौं । यसपटक त्यसलाई जोगाउने चुनौती छ तर हामीमा आत्मविश्वास छ । हामी ताज जोगाउन प्रयत्न गर्नेछौं ।’
विदेशी खेलाडीका रूपमा दुईजना युएईका नाम चलेका खेलाडीहरू ल्याएपछि धनगढी बढी आत्मविश्वासी देखिएको हो । यसअघि धनगढीलाई च्याम्पियन बनाउँदै ताज दिलाएका युएईका कप्तान रोहन मुस्तफासहित युएईकै तीव्रगतिका बलर आमिर हायतलाई धनगढीले टोलीमा भिœयाएको छ ।
टोलीमा नेपाली घरेलु क्रिकेटमा समेत नाम चलेका खेलाडीहरू छन् । सुनिल धमला, पवन सर्राफ, सौरभ खनाल, अमित श्रेष्ठ, राजु रिजाल, हरिबहादुर चौहान, दीपेश श्रेष्ठ, विपिन खत्री, रोविन क्षेत्रीले सोमपाललाई साथ दिनेछन् । काठमाडौंको लक्ष्यपछि गत वर्षको भन्दा एक स्टेपअघि जाने सोच छ । कप्तान ज्ञानेन्द्र मल्ल भन्छन्, ‘गतवर्ष हामी उपविजेता बनेका थियौं । यसवर्ष हामी उपाधिका लागि खेल्नेछौं । प्रत्येक खेलमा राम्रो प्रदर्शन गर्दै लक्ष्य हासिल गर्नेमा हामी अघि बढ्नेछौं ।’
टोलीले नेपाली भूमिका परिचित भारतीय खेलाडी गौरव तमोरलाई टोलीसँग अनुबन्ध गरेको छ । यस्तै टोलीले घरेलु क्रिकेटका प्रभावशाली नामहरू ललितनारायण राजवंशी, रासिद खान, विक्रम भुसाल, योगेन्द्र कार्की, सोनु तामाङ, मोहबुब आलाम, नन्दन यादवलाई अक्सनमार्फत सम्झौता गरेको थियो ।
यस्तै सोमबार दिउँसो रूपेन्देही च्यालेन्जर्स र महेन्द्रनगर युनाइटेड भिड्दैछन् । यी दुवै टोलीहरू प्रतियोगिताका अर्का दाबेदार टोली हुन् । रूपेन्देही च्यालेन्जर्ससँग नेपालको भर्खरै सम्पन्न युएई टुरका सम्मेलित कप्तान वसन्त रेग्मीसँगै भीम सार्की, प्रदीपसिंह ऐरी र विनोद भण्डारी छन् ।
त्यससँगै टोलीमा विक्रम सोब, ललितसिंह भण्डारी, सन्दीप सुनार, कृष्ण कार्की, पुरन विक जस्ता घरेलु क्रिकेटमा नाम चलेका खेलाडीहरू छन् । त्यसबाहेक टोलीले हङकङका कप्तान बाबर हायतलाई अनुबन्ध गर्दै आफ्नो उपाधि यात्रालाई स्पष्ट देखाएको छ ।
यता नेपाली फ्रेन्चाइजी क्रिकेटका सबैभन्दा सफल कप्तान शरद भेषावकरको टोली महेन्द्रनगर युनाइटेड प्रतियोगिताको अर्को दाबेदार टोली हो । रूपेन्देहीसँगको उसको नतिजाले उसलाई पूरै खेलभरि नै असर पु¥याउन सक्छ । त्यसैले रूपेन्देहीविरुद्ध जितको लक्ष्यसहित महेन्द्रगनर मैदानमा उत्रनेछ ।
शरदसँगै टोलीमा रोहितकुमार पौडेल, अविनाश बोहरा, अमरसिंह रौटेला, सागर ढकाल, दीलिप नाथ, सिद्धान्त लोहनी, साहब आलम, कुशल मल्लजस्ता नाम चलेका खेलाडीहरू छन् । त्यसमाथि महेन्द्रनगरले विदेशी खेलाडीका रूपमा युएईका कप्तान तथा तीव्रगतिका बलर मोहम्मद नाभिदलाई अनुबन्ध गरेको छ ।
फागुन ११ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ३० लाख नगद पुरस्कार पाउने भएको छ । यस्तै उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख र चौथो हुने टोलीले २ लाख नगद पुरस्कार पाउने छन् । प्रतियोगिताको गोल्डस्टार मोस्ट भ्यालुएबल प्लेयरले (सुनको जुत्ता), प्रत्येक खेलका म्यान अफ द म्याचलाई १५ हजार,म्यान अफ द सिरिज, वेष्ट ब्याट्सम्यान र वेष्ट बलरलाई समेत पुरस्कारको व्यवस्था गरिने आयोजकले जनाएको छ ।


Views: 66