26th June | 2019 | Wednesday | 10:01:14 PM

अष्ट्रेलियामा सन्दीपको सनसनी

हिमालय टाइम्स   POSTED ON : माघ २८, २०७५ (७:३२ AM)

अष्ट्रेलियामा सन्दीपको सनसनी

काठमाडौं । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनको मद्धतमा अष्ट्रेलियाको बिगबास लिगमा उनको टोली मेलबर्न स्टार्स सेमिफाइनलमा पुगेको छ । आइतबार भएको खेलमा सिड्नी सिक्र्सस ९४ रनको पराकिलो अन्तरले पराजित गर्दै मेलबर्न अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।
१४ खेलबाट १६ अंक जोडेको मेलबर्न अंकतालिकाको दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो । अन्तिम खेलमा मेलबर्नले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको सिड्नीलाई १३ ओभर ४ बलमा ७४ रनमा रोक्न सन्दीपले ३ विकेट लिँदै उत्कृष्ट बलिङ गरे ।
सन्दीप अघिल्लो साता नेपाली राष्ट्रिय टोलीबाट युएईविरुद्धको शृंखला खेल्दै अष्ट्रेलिया लागेका थिए । सिड्नीलाई कम स्कोरमा रोक्न सन्दीपले ३.४ ओभर बलिङ गर्दै ११ रनमात्रै खर्चेर ३ विकेट लिएका थिए । सन्दीपले सिड्नीका कप्तान मौइसेस हेन्रिक्युज, टम कुरान र लोयड पोपको विकेट लिएका थिए ।
चौथो ओभरमा पहिलो स्पेल लिएर आएका सन्दीपले सो ओभरको अन्तिम बलमा हेन्रिक्युजलाई थर्डम्यानमा रहेका ग्रिन म्याक्सवेलको हातबाट क्याच गराए । यस्तै कुरानलाई टोलीको आठौं ओभरको अन्तिम बलमा एलबिडब्लुको धरापमा पारेका सन्दीपले चौधौ ओभरको चौथो बलमा पोपको विकेट लिँदै मेलबर्नलाई सहज जित दिलाएका थिए ।
योसँगै विगबास लिगमा सन्दीपले ६ खेल खेल्दै ११ विकेट लिइसकेका छन् । सुरुवाती चार खेल खेल्दै सन्दीप बंगलादेश प्रिमियर लिग र नेपाली राष्ट्रिय टोलीबाट खेल्न फर्किएका थिए । तर, पुनः युएईबाट अघिल्लो साता अष्ट्रेलिया गएका सन्दीपले आफ्नो जादु कायम राखेका छन् ।
लक्ष्य पछ्याउने क्रममा सिड्नीका ड्यानिय हृयुग्सले १२, स्टिभ ओ किफीले ११ तथा टोम कुरनले १० रन बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् । सन्दीपसँगै मेलबर्नका एडम जाम्पा र ड्यानियल ओरालले समान २–२ विकेट लिएका थिए ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मेलवर्नले ग्लेन म्याक्सवेलको विष्फोटक इनिङ्सको मद्धतमा ६ विकेट गुमाएर १ सय ६८ रनको योगफल तयार पारेको थियो । मेलबर्नका लागि म्याक्सवेलले ४३ बलमा ६ छक्का र ४ चौकाको मद्धतमा ८२ रन बनाएको थियो । यस्तै पिटर हृयान्डकम्बले ३५ तथा मार्कुंस इस्टोइन्सले ३४ रन जोडेका थिए ।


Views: 108