19th August | 2019 | Monday | 9:24:42 PM

वरियतामा पारसको छलाङ

हिमालय टाइम्स   POSTED ON : माघ २९, २०७५ (५:४४ AM)

वरियतामा पारसको छलाङ

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को टी–२० वरियताको अलराउण्डर फम्र्याटमा ठूलो छलाङ मारेका छन् । आइसिसीले सोमबार सार्वजनिक गरेको नयाँ वरियताअनुसार पारस पहिलोपटक टी–२० को अलराउण्डर वरियताको शीर्ष ४० भित्र अटाउन सफल भएका हुन् । यो उनको करिअरकै हालसम्मको सर्वाधिक वरियता हो ।
अघिल्लो सातामात्रै पारसको कप्तानीमा रहेको नेपाली टोलीले युएईविरुद्ध टी–२० अन्तर्राष्ट्रिय शृंखला जितेको थियो । उक्त शृंखला नेपालले २–१ ले आफ्नो पक्षमा पारेपछि पारस अलराउण्डर वरियताको ४०औं नम्बरमा अटाउन सफल भएका हुन् ।
पारसले ७६ रेटिङ प्वाइन्ट पाएका छन् । पारसअघि ३९औं नम्बरमा पाकिस्तानका अमिद विसेम छन् भने ३८औं नम्बरमा भारतका रोहित शर्मा छन् । टी–२० अलराउण्डरको शीर्ष स्थानमा भने अष्ट्रेलिया ग्लेन म्याक्सवेल छन् । टी–२० को ब्याट्सम्यानको वरियतामा भने पारस ९० औं स्थानमा छन् । यस्तै वलिङ वरियतामा नेपालका तीव्र गतिका बलर सोमपाल कामी ७०औं र वसन्त रेग्मी ७१औं स्थानमा छन् । सोमपालले पनि यसपटक करिअरको उच्च ४०९ प्वाइन्ट पाएका हुन् ।


Views: 94