26th March | 2019 | Tuesday | 2:27:58 AM

रूपन्देही, अत्तरिया र महेन्द्रनगर प्लेअफमा

हिमालय टाइम्स   POSTED ON : फाल्गुन ७, २०७५ (७:३६ AM)

रूपन्देही, अत्तरिया र महेन्द्रनगर प्लेअफमा

धनगढी । रूपन्देही च्यालेन्जर्स, सिवाइसी अत्तरिया र महेन्द्रनगर युनाइटेड रुस्लान धनगढी प्रिमियर लिगको प्लेअफमा प्रवेश गरेको छ । प्रतियोगितामा सोमबार भएका खेलमा रूपेन्देही र अत्तरियाले आ–आफ्नो खेल जित्दै प्लेअफमा स्थान बनाएका हुन् भने विराटनगर किंग्स हारेपछि रनरेटमा अघि रहेको महेन्द्रनगर युनाइटेडले पनि अन्तिम चारमा स्थान बनाएको हो ।

फाप्ला क्रिकेट मैदानमा सोमबार बिहान भएको लिगचरणको अन्तिम खेलमा घरेलु टोली धनगढी स्टार्सलाई ३९ रनले पराजित गर्दै रूपन्देहीले प्लेअफमा स्थान बनाएको हो । 

बिहान मैदानमा हुस्सु लागेका कारण खेल निर्धारित समयमा सुरु हुन सकेपछि पाँच ओभर छोट्इएको थियो । १५ ओभरमा रूपन्देहीले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको धनगढीले १४ ओभरमा सबै विकेट गुमाएर ६७ रनमै समेटियो । योसँगै धनगढीले प्रतियोगितामा कुनै पनि खेल नजितेर प्रतियोगिता सकाएको छ । चार खेल हारेको धनगढीले एक खेल भने वर्षाका कारण हुन नसकेपछि अंक बाडेको थियो । अन्तिम खेलमा सान्त्वना जितसहित मैदान उत्रे पनि पुनः ब्याट्सम्यानहरू फ्लप हुदाँ धनगढीले जित हात पार्न सकेन् । 

उसका पवन सर्राफले सर्वाधिक १५ रन जोडे । १९ बल खेलेका पवनले १ चौका प्रहार गरे । यस्तै सोमपाल कामीले ११ तथा सन्दीप रिजालीले १० रन बनाएका थिए । पावन प्लेअफमा राम्रो सुरुवात दिलाउने लक्ष्यसहित धनगढीका कप्तान सोमपाल कामी स्वयं विदेशी खेलाडी रोहन मुस्तफासँगै ओपनिङमा आएका थिए । सुरुवाती दुई ओभरमा दुई चौका प्रहार गर्दै टोलीका लागि उनले टोलीका लागि रन जोडे । 

र, विक्रम सोबको तेस्रो ओभरमा धनगढीले दुवै ओपनरसहित सुनिल धमलालाई पनि गुमायो । तेस्रो बलमा सोमपाल (११) बाबर हायातबाट क्याच भए । त्यस्तै पाँचांै बलमा सोमपालको स्थानमा आएका सुनिल धमला (४रन) रनआउट भए भने अन्तिम बलमा रोहन मुस्तफा (२)को क्याच पनि बाबरले नै समाते । सातौं ओभरमा ललितसिंह भण्डारीले सन्दीप रिजाली (१०)लाई प्रदीप ऐरीको हातबाट क्याच गराए भने दशौं ओभरमा राजु रिजाल(५) समेत रूपन्देहीका कप्तान बसन्त रेग्मीबाट एलबिडब्लुको सिकार भए । 

पुनित मेहराको एघारौं ओभरको तेस्रो बलमा हरिबहादुर चौहान(१) रनआउट भए भने अर्को बलमा पवन सर्राफ (१५)लाई विनोद भण्डारीले स्टपिङ गराएपछि धनगढीको हार निश्चित भएको थियो । त्यसअघि टस जितेर ब्याटिङ गरेको रूपेन्देहीले १५ ओभरमा ९ विकेट गुमाएर १ सय ६ रन बनाएको थियो । उसका सुमित महर्जनले ३३ रन जोडे । २४ बलको सामना गरेका उनले २ चौका र २ छक्का प्रहार गरे । यस्तै विनोद भण्डारीले २४ तथा बाबर हायातले १९ रन थपे । 

तेस्रो विकेटका लागि विनोद भण्डारी र सुमितले ५७ रनको साझेदारी गर्दै टोलीको स्कोर बढाएका थिए । त्यसअघि पहिलो ओभरमा नै रूपन्देहीले ओपनर प्रदीप ऐरीलाई शून्य रनमै गुमाएको थियो । 

तेस्रो ओभरमा बाबर हायातलाई सोमपाल कामीले आमिर हायातको हातबाट क्याच गराएपछि विनोद र सुमितको जोडीले टोलीको स्कोर अघि बढाएको थियो । धनगढीका सोमपाल कामी, विपिन खत्री र पवन सर्राफले समान २–२ विकेट लिए । पवनले २ ओभरमा १ ओभर मेडन राख्दै २ रनमात्रै खर्चिएका थिए । यस्तै विपिनले ३ ओभरमा १४ रनमात्रै खर्चे । 

यस्तै दिउँसो भएको खेलमा सिवाइसी अत्तरियाले विराटनगर किंग्सलाई १० रनले पराजित गर्दैपछि अत्तरियासँगै महेन्द्रनगर यूनाइटेड पनि प्लेअफमा पुगेको छ । विराटनगरलाई प्लेअफमा स्थान बनाउन अत्तरियाविरुद्ध जितको विकल्प नभएको खेलमा पराजित भएपछि महेन्द्रनगरसँग रनरेटले पछि पर्दै विराटनगर प्रतियोगिताबाट बाहिरिएको हो । 

सिवाइसीले दिएको १ सय ४९ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३८ रनमात्रै बनायो । विराटनगरका लागि आसिफ सेखले ३९ रन जोडे । ३४ बलको सामना गरेका उनले ३ चौका र २ छक्का प्रहार गरे । त्यसअघि सन्नी पटेलले विष्फोटक ब्याटिङ गरेपछि सिवाइसी अत्तरियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ४८ रन जोडेको थियो । सन्नीले विस्फोटक ६१ रनको इनिङ्स खेलेपछि सिवाइसीले प्रतियोगिताकै उच्च स्कोर बनाएको थियो । 

३१ बल खेलेका उनले ५ चौका र ४ छक्का प्रहार गरे । किशोर महतोले गरेको इनिङको अन्तिम ओभरमा मात्रै उनले तीन चौका र दुई छक्का प्रहार गरे । १९औं ओभरमा समेत सन्नीले अविनाश यादवलाई दुई चौका र एक छक्का प्रहार गरेका थिए । ओपनर जयकिशन कोल्सावालसँग चौथो विकेटका लागि उनले ६९ रनको साझेदारी गरेका थिए । कोल्सावाला ५१ नटआउट रहे । ५० बलमा उनले ५ चौका र २ छक्का प्रहार गरे । यस्तै जितेन्द्रसिंह ठकुरीले १३ र दीपेन्द्रसिंह ऐरीले अत्तरियाका लागि १० रन जोडे । विराटनगरका सुशान भारी र सांम्सद शेखले समान १–१ विकेट लिए भने अन्य बलरहरूले विकेट लिन सकेनन् । प्रतियोगितामा मंगलबार हुने लिग चरणको अनितम खेलमा सिवाइसी अत्तरिया र काठमाडौं गोल्डेन्स भिड्नेछन् ।


Views: 32

सम्बन्धित सामग्री:

नेपालले कतारसँग खेल्दै

: चैत्र १०, २०७५ (९:१९ AM)