24th March | 2019 | Sunday | 8:13:47 AM

लिभरपुललाई झट्का

हिमालय टाइम्स   POSTED ON : फाल्गुन २१, २०७५ (५:५६ AM)

लिभरपुललाई झट्का

एजेन्सी

लण्डन । एभर्टनले उत्कृष्ट खेल पस्कदै लिभरपुललाई गोलरहित बराबरीमा रोकेपछि उपाधि दाबेदार मानिएको लिभरपुल दोस्रो स्थान सीमित रहेको छ । साविकको विजेता म्यानचेस्टर सिटीलाई उछिन्दै शीर्षमा उक्लन लिभरपुललाई एभर्टनविरुद्ध जितको खाचो थियो । पहिलो हाफमा मोहमद सलाहको प्रहारलाई एभर्टनका गोलरक्षक जोर्डन पिकफर्डले बचाए भने दोस्रो हाफमा पनि सलाहलाई माइकल किनले उत्कृष्ट ट्याकल गर्दै गोल गर्ने अवसर दिएनन् । यता खेलमा लिभरपुलका गोलरक्षक एलिसनले भने खासै तनाव बेहोर्नु परेन् ।

बराबरीपछि लिभरपुलले २९ खेलबाट ७० अंक जोडेको छ । उ म्यानचेस्टर सिटीमध्ये एक अंक पछि छ । सिटीको २९ खेलमा ७१ अंक जोडेको छ ।

लिभरपुल र एभर्टनबीच भएका २ सय लिग खेलमध्ये ३४ बराबरीमा रोकिएका छन् । त्यसमध्ये १५ खेल गोलरहितमा रोकिएका छन् । यो प्रिमियर लिगको इतिहासमा दुई क्लब गोलरहित बराबरीमा खेलेको सबैभन्दा बढीसमेत हो । लिभरपुलले पछिल्ला तीनमध्ये प्रिमियर लिगका दुई खेलमा गोल गर्न सकेको छैन । गोडिसन पार्कमा भएको एभर्टर र लिभरपुलबीचका पाँचमध्ये तीन खेल गोलरहित बराबरीमा रोकिएका छन् । लिभरपुलको खेलाडी भएयता मोहम्मद सलाह यो खेलसँगै लगातार तीन खेलमा पहिलोपटक गोलबिहिन भएका छन् । 

लिभरपुलका गोलकिपर एलिसानले यस सिजनमा प्रिमियर लिगका १७ खेलमा क्लिन सिट राखेका छन् । डेब्यु सिजनमै सबैभन्दा बढी क्लिनसिट राख्ने रेकर्ड पनि उनले कायम गरेका छन् । 

बराबरीमा रोकिएर झट्का बेहोरेपछि लिभरपुलका प्रशिक्षक योर्गन क्लोपले इभर्टनबाट अंक खोस्नु नै सफलता भएको बताए । उनले भने, ‘यो खेल हेर्दा हामीले आफ्नो पक्षमा पाथ्र्यौ जस्तो थियो । सफलता हात पार्न निरन्तरता दिनु जरुरी पनि छ । तर, इभर्टनसँग अंक खोस्नु नै हाम्रो सफलता हो । यो हाम्रो अवे खेलमध्ये सबैभन्दा मुस्किल खेलसमेत थियो ।’

‘हामी अंक तालिकाको शीर्षमा रहँदै मार्च महिनाको सुरुवात गर्न चाहान्थ्यौं,’ उनले थपे, ‘तर अझै धेरै खेल खेल्न बाँकी छ । मैले हिजोको खेल पनि हेरेको थिए । त्यसमा म्यानचेस्टर सिटीको सेलिब्रेसन पनि देखे । जसमा ९ सय मौका थिए तर उनीहरूले एक गोलमात्रै गर्न सके । हाम्रो उपाधि यात्रा सकिएको छैन् ।’

एभर्टनका प्रशिक्षक मार्को सिल्भाले भने आफ्ना खेलाडीले उत्कृष्ट खेल पस्केको बताए । ‘खेलाडीहरूले जुन गोल गर्ने इच्छा देखाए त्यो आश्चार्यजनक थियो,’ उनले भने, ‘यो चुनौतीपूर्ण खेल थियो । खेलाडीहरूले जसरी खेले त्यसमा म गर्व गर्छु ।’


Views: 37