27th May | 2019 | Monday | 4:43:26 AM

साफ महिला च्याम्पियनसिप महिला राष्ट्रिय टोली घोषणा

हिमालय टाइम्स   POSTED ON : फाल्गुन २४, २०७५ (७:१८ AM)

साफ महिला च्याम्पियनसिप महिला राष्ट्रिय टोली घोषणा

काठमाडौं । विराटनगरमा यही फागुन अन्तिम साता हुने दक्षिण एसियाली फुटबल(साफ) महिला फुटबल च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय महिला टोलीको घोषणा गरिएको छ । प्रशिक्षक हरी खड्काले बन्द प्रशिक्षणमा रहेका २३ जनामध्ये २० जना खेलाडीलाई साफ च्याम्पियनसिपका लागि बिहीबार छनोट गरेका हुन् । छनोटमा परेका खेलाडीमा ६ जना १९ वर्षमुनिका छन् भने नियमित कप्तान अनु लामासहित सुनिता चौधरी र बिमला चौधरीले टोलीमा स्थान बनाउन सकेनन् । 

अनुको अनुपस्थितिमा नेपाली टोलीको कप्तान निरु थापाले संहाल्नेछिन् । फागुन २८ गतेदेखि विराटनगरको शहीद रंगशालामा हुने प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, भुटान, श्रीलंका र माल्दिभ्सको सहभागिता रहेको छ । समूह एमा नेपालसँगै भुटान र बंगलादेश छन् त्यसैगरी समूह बीमा भारत, श्रीलंका र माल्दिभ्स छन् । 

घोषित नेपाली टोलीको गोलरक्षकमा एन्जिला तुम्बापो सुब्बा, अन्जना रानामगर र उषानाथ छन् । यस्तै डिफेण्डरमा हिराकुमारी भुजेल, गीता राना, पुनम जर्घामगर, अमृता जैसी, कविता धिमाल, पूजा राना र मनमाया लिम्बू छन् भने मिडफिल्डरमा अनिता बस्नेत, दीपा राई, मन्जली कुमारी योञ्जन, शर्मिला थापा, सरु लिम्बू, रेनुका नगरकोटे र अनिता केसी छन् । नेपाली फरवार्ड भने रेखा पौडेल, निरु थापा र सावित्रा भण्डारीले संहाल्नेछन् ।

टोलीका प्रशिक्षक खड्काले प्रशिक्षणका दौरान सबै खेलाडीले निकै मिहिनेत गरेकाले अन्तिम नामावली छनोट गर्न कठिन भएको जनाए । ‘हामीले झापा, इटहरी र विराटनगरमा राखेको प्रशिक्षण क्याम्पमा खेलाडीले निकै मिहिनेत गरे । अन्तिम छनोटको प्रक्रिया निकै कठिन भयो । सबै खेलाडीले आफ्नो उत्कृष्ट प्रदर्शन गरेका कारण छनोट गर्न सहज थिएन,’ ‘हामीले छनोट गरेको टोलीले घरेलु मैदानमा भइरहेको ठूलो प्रतियोगितामा सबैलाई गौरवान्वित गर्ने ठाउँ दिने अपेक्षा गरेको छु,’ उनले भने । नेपालले प्रतियोगिताको उद्घाटन खेलमा फागुन २८ गते भुटानको सामना गर्नेछ । उक्त खेल दिउँसो ३ बजे हुनेछ । 


Views: 73