26th March | 2019 | Tuesday | 2:27:31 AM

बार्सिलोनाको पुनरागमन जित

हिमालय टाइम्स   POSTED ON : फाल्गुन २७, २०७५ (५:३४ AM)

बार्सिलोनाको पुनरागमन जित

बार्सिलोना । लियोनल मेस्सीले पेनाल्टी गोल गरेको खेलमा शनिबार राति रायो भालेकानामाथि ३–१ को जित निकाल्दै स्पेनिस ला लिगामा शीर्ष स्थानको बार्सिलोनाले सात अंकको अग्रता बनाएको छ । बार्सिलोनाको जितमा मेस्सीसँगै जेरार्ड पिके र लुइस सुआरेजले गोल गरे । भालेकानोका रउल डि टोमसले गोल गरे । २४औं मिनेटमा रउलको गोलसँगै भालेकानोले सुरुवाती अग्रता लिएको थियो । अल्भारो ग्रारसियाको पासमा उनले बार्सिलोनाविरुद्ध ग्रारसियाले सुरुवाती अग्रता लिएको थियो । जेरार्ड पिकेले ३८औं मिनेटमा बार्सिलोनाका लागि बराबरी गोल फर्काए । उनले डी बक्सको मध्यभागबाट मेस्सीको पासमा हेडरमार्फत गोल गरेका हुन् । त्योसँगै पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो । 

५०औं मिनेटमा जोर्डी अमातले डी बक्सभित्र फउल गरेपछि पाएको पेनाल्टीमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ८२औं मिनेटमा इभान रिकिटिकको पासमा सुआरेजले डी बक्सको मध्यभागबाट गरेको प्रहार गोलमा परिणत भएसँगै बार्सिलोनाले ३–१ को जित हात पार्यो ।

बार्सिलोनाका कप्तान मेस्सीले यो सिजनमा २५ खेलमा २६ गोल गरिसकेका छन् । उनी जारी ला लिगाको शीर्ष गोल स्कोरर पनि हुन् । दोस्रोमा लुइस सुआरेज रहेका छन् । उनले १७ गोल गरेका छन् ।

जितसँगै बार्सिलोनाको २७ खेलबाट ६३ अंक भएको छ । दोस्रो स्थानको एट्लेटिको मड्रिडको भने समान खेलबाट ५६ अंक छ । तेस्रो स्थानको रियल मड्रिडको ४८ अंक छ । पराजित रायो भालेकानो २३ अंकसहित रेलिगेसन जोनको १९औं स्थानमा छ ।लालिगामा शनिबार राति भएको अन्य खेलमा एथ्लेटिको मड्रिडले लेगानेसमाथि १–०, गेटाफेले हुइस्कामाथि २–१ को जित हात पारेको छ भने एल्भास र एइबरले १–१ को बराबरी खेलेका छन् ।


Views: 25

सम्बन्धित सामग्री:

नेपालले कतारसँग खेल्दै

: चैत्र १०, २०७५ (९:१९ AM)