27th May | 2019 | Monday | 4:48:16 AM

सन्दीप स्वदेश फिर्ता

हिमालय टाइम्स   POSTED ON : फाल्गुन २९, २०७५ (६:११ AM)

सन्दीप स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछाने स्वदेश फर्किएका छन् । अष्ट्रेलियाको बिगबास क्रिकेट लिग, बंगलादेशको बंगलादेश प्रिमियर लिग र पाकिस्तानको पाकिस्तान सुपर लिग खेलेर सन्दीप मंगलबार दिउँसो त्रिभुवन विमानस्थलमा ओर्लिएका हुन् ।

विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सन्दीपले व्यक्तिगत रूपमा टूर आफ्ना लागि आश्चार्यजनक रहेको बताए । ‘व्यक्तिगत रूपमा यो आश्चार्यजनक भयो,’ सन्दीपले भने, ‘सधैँ तपाइँ प्रदर्शन गर्न सक्नुहुन्न । कहिले काहिँ सबै कुरा मिल्दैन । त्यसले तपाई अपसेट बनाउँछ । तर, ओभरअल हेर्दा तीनवटै टूर मेरा लागि निकै राम्रो भयो ।’

तीनवटै प्रतियोगिताहरू फरक फरक कन्डिशनमा खेलेकाले पनि प्रदर्शनमा तलमाथि भएको उनले बताए । ‘बिगबास, बंगलादेश र यूएईमा खेल्दा फरक फरक कन्डिशन थियो,’ उनले थपे, ‘यो निकै थकाईपूर्ण थियो । तर पनि सबै सेड्युलहरू मिलेकाले सजिलो भयो । लिगहरूको यात्रा चाहिँ एकदम राम्रो यात्रा भयो ।’

यसपछि सन्दीप आइपीएल खेल्न भारत जानेछन् तर त्यहाँ प्रस्थान गर्ने मिती भने तय नभइसकेको उनले बताए । ‘धेरैपछि केही दिनका लागि नेपाल फर्किएको छु,’ उनले भने, ‘जति नेपालमा छु, साथीभाई, परिवारलाई समय दिनेछु । त्यसपछि आइपीएल खेल्न जाने कार्यक्रम छ ।’


Views: 99