18th July | 2019 | Thursday | 3:04:21 AM

बार्सिलोना र युनाइटेड भिड्ने

एजेन्सी   POSTED ON : चैत्र २, २०७५ (८:०२ AM)

बार्सिलोना र युनाइटेड भिड्ने

पेरिस । च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्पेनिस क्लब बार्सिलोना र इंग्लिस क्लब म्यानचेस्टर युनाइेटेड भिड्ने भएका छन् । शुक्रबार सार्वजनिक भएको ड्र अनुसार यी दुई टोली भिड्ने भएका हुन् । बार्सिलोनाले लियोनलाई पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएको हो भने युनाइटेडले पेरिस सेन्ट जर्मेनलाई पराजित गरेको थियो । 

यस्तै क्वार्टरफाइनलको अर्को खेलमा दुई इंग्लिस क्लबहरू आमने सामने हुँदैछन् । सार्वजनिक ड्र अनुसार टोटेनहम हट्सपर र म्यानचेस्टर सिटीले एकआपसमा खेल्ने भएका हुन् । दुवै टोलीले जर्मन प्रतिद्वन्द्वीलाई हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएका थिए । टोटेनहमले बोरुसिया डर्टमुन्ड र सिटीले साल्केलाई पराजित गरेको थियो ।

इटालियन क्लब युभेन्ट्सले डच क्लब आयाक्सको सामना गर्ने भएको छ । आयाक्स साविक विजेता रियल म्याड्रिडलाई पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको हो । युभेन्ट्सले एटलेटिको म्याड्रिडलाई हराउँदै अन्तिम ८ मा स्थान बनाएको थियो । गत सिजनको उपविजेता टोली लिभरपुलले पोर्चुगिज क्लब एफसी पोर्टोसँग खेल्नेछ । लिभरपुलले जर्मन च्याम्पियन बायर्न म्युनिख र पोर्टोले एएस रोमालाई हराएका थिए । 

क्वार्टरफाइनलको पहिलो लेग ९ र १० अप्रिलमा हुनेछ । टोट्नहम र सिटी तथा अयाक्स र युभेन्टसबीचको विजेताले पहिलो सेमिफाइनल खेल्नेछ भने बार्सिलोना र म्यान यु तथा लिभरपुल र पोर्टोबीचको विजेताले दोस्रो सेमिफाइनल खेल्नेछन् । सेमिफाइनल खेलहरू ३० अप्रिल र १ मे मा हुनेछन् । 


Views: 133