24th July | 2019 | Wednesday | 3:16:30 PM

आठौं राष्ट्रिय खेलकुद : आजदेखि पाँच खेल

हिमालय टाइम्स   POSTED ON : चैत्र २७, २०७५ (६:५५ AM)

आठौं राष्ट्रिय खेलकुद : आजदेखि पाँच खेल


काठमाडौं । आठौं राष्ट्रिय खेलकुदअन्तर्गत विभिन्न ५ खेलका प्रतिस्पर्धा बुधबारदेखि सुरु हुँदै छन् । आठौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन वैशाख ५ गते हुने भए पनि ५ खेल भने पूर्वनिर्धारित तालिकाअनुसार बुधबारदैखि नै हुन लागेको हो । आठौं खेलकुदको समापन वैशाख ११ गते हुनेछ । उद्घाटन र समापन दुवै नेपालगञ्ज रंगशालामा हुने कार्यक्रम रहेको छ ।

 दाङको घोराही कभर्डहलमा टेबलटेनिस, कपिलवस्तुको जितपुरस्थित सिद्धार्थ क्याम्पसमा कुस्ती, नेपालगञ्जको मंगलप्रसाद उमाविमा पुरुष हक्की, ललितपुरको सातदोबाटोमा स्क्वास र बुटवलमा लनटेनिस हुनेछन् । 

 महिला हक्की भने नेपालगञ्जको खजुरास्थित शुक्र माविमा चैत ३० गतेदेखि मात्र सुरु हुनेछ । उद्घाटनअघि यी पाँच खेलसहित विभिन्न १४ खेलको राष्ट्रिय प्रतियोगिता सम्पन्न भइसक्नेछ ।

बुधबार हुने खेलबाहेक बक्सिङ, कबड्डी, जुडो, बास्केटबल, बुद्धिचाल, फुल कन्ट्याक्ट कराँते, साइक्लिङ, फेन्सिङ र गोल्फ उद्घाटनपूर्व सकिनेछन् । आठौं राष्ट्रिय खेलकुदमा विभिन्न ३५ खेल समावेश छन् । बृहत् राष्ट्रिय खेलकुदकै इतिहासमा प्याराग्लाइडिङ खेल पहिलोपटक समावेश गरिएको छ भने एनआरएनए टिम पनि पहिलोपटक सहभागी हुँदै छ ।

स्क्वास

स्क्वासमा प्रदेश १, २, ३, ४, ५, नेपाल प्रहरी र एपिएफ क्लबबाट २४ पुरुष र ५ महिला गरी २९ खेलाडीको सहभागिता रहनेछ । पुरुष÷महिला सिंगल्स तथा पुरुष टिम इभेन्ट गरी ३ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता वैशाख २ गते सम्पन्न हुनेछ ।

 हक्की

हक्कीको पुरुषमा सातै प्रदेश, डिफेन्डिङ च्याम्पियन नेपाल आर्मी र प्रहरीसहित ९ टिमले भाग लिने छन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । फाइनल वैशाख ४ गते हुनेछ ।

महिला हक्की भने चैत ३० गतेदेखि नेपालगञ्जको खजुरास्थित शुक्र माविमा हुनेछ । सहभागी ६ टिमले दुई समूहमा रहेर लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन् । सहभागी टिमहरूमा प्रदेश १, २, ३, ४ र ७ तथा आर्मी छन् । सातौं राष्ट्रियमा प्रदेश ७ च्याम्पियन बनेको थियो । फाइनल वैशाख ५ गते हुनेछ ।

लनटेनिस

बुटवलमा हुने लनटेनिसमा प्रदेश ३, ४, ५, आर्मी, एपिएफ र एनआरएनबाट खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुष÷महिला सिंगल्स, डबल्स र टिम तथा मिक्स डबल्स गरी ७ स्पर्धामा भिडन्त हुनेछ । चैत २ गतेसम्म चल्ने प्रतियोगतामा २८ पुरुष र १५ महिला खेलाडीले सहभागिता जनाउनेछन् । त्यसमा एनआरएनएबाट ३ पुरुष खेलाडी संरक्षकभूषण बज्राचार्य र अमृत पौडेल (दुवै अस्ट्रेलिया) तथा दावा शेर्पा (थाइल्यान्ड)ले प्रतिस्पर्धा गर्नेछन् ।

 कुस्ती

 कुस्तीमा पुरुष÷महिलातर्फ समान १०–१० गरी २० स्पर्धामा खेल हुनेछ । सातै प्रदेश र दुई विभागीय (आर्मी÷प्रहरी) गरी ९ टिमले भाग लिनेछन् ।

 टेबलटेनिस

टेबलटेनिसमा सात प्रदेश, तीन विभागीय (आर्मी÷प्रहरी÷एपिएफ) बाट १ सय २० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुष÷महिला सिंगल्स, डबल्स र टिम तथा मिक्स डबल्स गरी ७ स्पर्धा समावेश छन् ।

आठौं राष्ट्रिय खेलकुदमा समग्रमा २८ सय २५ पुरुष तथा २३ सय ८६ महिला गरी जम्मा ५२ सय ११ खेलाडी सहभागी हुनेछन् । ३७२ स्वर्ण, त्यत्ति नै रजत र ५६३ कांस्यका भिडन्त हुनेछ । बृहत् राष्ट्रिय खेलकुदको पहिलो, दोस्रो र तेस्रो संस्करणबाहेक दुई वर्षको अन्तरालमा पहिलोपटक राष्ट्रिय खेलकुद हुन लागेको हो ।

 ओलम्पिक टर्च देशभर

यसैबीच आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ओलम्पिक टर्च विभिन्न १४ जना ओलम्पियनहरूले देशभर घुमाउने भएका छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको संयोजनमा ओलम्पियनहरूले प्रदेश–१ बाट शुक्रबारबाट सुरु गर्ने ओलम्पिक टर्चको यात्रा वैशाख ५ गते प्रदेश–५ मा पु¥याउनेछन् ।

टर्चलाई जितबहादुर केसी, हरिबहादुर रोकाया, सुरेन्द्र हमाल, पुष्पराज ओझा, डम्बर कुँवर, दीपक विष्ट, विष्णुबहादुर सिंह, डम्बरदत्त भट्ट, संगीना वैद्य, विमला रानामगर, पार्वती थापा, मेनुका रावत, अनिता श्रेष्ठ र कमलबहादुर अधिकारीले बोक्नेछन् ।


Views: 122