22nd May | 2019 | Wednesday | 2:33:02 AM

राष्ट्रिय खेलकुद उद्घाटन

हिमालय टाइम्स   POSTED ON : बैशाख ६, २०७६ (५:२४ AM)

राष्ट्रिय खेलकुद उद्घाटन

बाँके । बाँकेको नेपालगञ्ज रंगशालामा बिहीबार साँझ आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक समारोहबीच प्रतियोगिता उद्घाटन गरिन् ।

राष्ट्रपति भण्डारीले राष्ट्रिय प्रतियोगिता सुरु भएकोमा खुसी व्यक्त गर्दै सफलताको शुभकामना दिइन् । ‘खेलकुद राष्ट्रिय एकताका लागि महŒवपूर्ण हो,’ उनले भनिन्, ‘आगामी दिनमा पनि देशका युवालाई स्वस्थ बनाउन र राष्ट्रिय एकता सुदृढ बनाउन राष्ट्रिय प्रतियोगिताले निरन्तरता पाओस् ।’

युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले आठौं राष्ट्रिय खेलकुद नेपाली खेलकुदमा कोशेढुंगा बनेको बताए । उनले भने, ‘सुशासन, विकास र समृद्धि आजको राष्ट्रिय लक्ष्य हो । सरकारको लक्ष्य पनि समृद्ध नेपाल सुखी नेपाली बनाउने हो ।’ खेलको विकास र विस्तारबिना सरकारको यो लक्ष्य सम्भव नहुने उनले बताए । उद्घाटन समारोहमा नेपाल आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरी बल, विभिन्न विद्यालय, सहभागी सात प्रदेश, विभाग र एनआरएनएको टोली तथा विभिन्न सांस्कृतिक समूहले झाँकीसहितको मार्चपास गरेका थिए ।

उद्घाटन कार्यक्रममा ओलम्पियन तथा प्रदेश–५ का सांसद सुरेन्द्र हमालले ओलम्पिक टर्च प्रज्ज्वलन गरेका थिए । लगत्तै आतिसबाजी गरिएको थियो । जारी आठौं खेलकुदमा विभिन्न ३५ खेलमा ५ हजार २ सय ११ जना खेलाडी सहभागी छन् । प्रतियोगिता प्रदेश–५ का बाँके, बर्दिया, कपिलवस्तु, दाङ र रुपन्देहीमा यसअघि नै सुरु भए पनि औपचारिक रूपमा बिहीबार उद्घाटन गरिएको हो ।

२०३८ सालमा राष्ट्रिय खेलकुदको पहिलो संस्करण आयोजना गरिएको थियो । त्यसपछि दुई संस्करणहरू नियमित समयमा भए पनि बाँकी संस्करण भने निर्धारित दुई–दुई वर्षको अन्तरालमा हुन सकेनन् । पछिल्ला दुई संस्करण भने दुई–दुई वर्षको अन्तरालमा भएको भन्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले खुसी व्यक्त गरे ।


Views: 136