21st July | 2019 | Sunday | 4:32:51 PM

कीर्तिमानसहित गौरिकाको दुई स्वर्ण

हिमालय टाइम्स   POSTED ON : बैशाख ९, २०७६ (६:३१ AM)

कीर्तिमानसहित गौरिकाको दुई स्वर्ण

नेपालगञ्ज । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत नेपालगञ्जमा आइतबारबाट सुरु भएको पौडी प्रतियोगिताको पहिलो दिन नेपाल आर्मी क्लबकी गौरिका सिंहले कीर्तिमानसहित दुई स्वर्ण जितेकी छन् । 

 ५० मिटर ब्याकस्ट्रोकमा आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरेकी गौरिकाले पहिलोपटक खेलाइएको ८ सय मिटरमा भने नयाँ कीर्तिमान कायम गरेकी हुन् ।

५० मिटरको पौडी उनले ०.३१.२२ सेकेण्डमा पूरा गरिन् । यसअघि यसविधामा उनको रेकर्ड ०.३१.३१ सेकेण्डको थियो । यस्तै ८ सय मिटरको फ्रिस्टाइलमा सिंहले ९ मिनेट ३९.२२ सेकेण्डमा दूरी पार गर्दै नयाँ कीर्तिमान राखेकी हुन् । महिला ८ सय मिटर स्पर्धामा गौरिकाले त्रिभुवन आर्मीकी उपास्ती महर्जनलाई पराजित गरेकी हुन् । उपास्तीले उक्त दुरी ११ मिनेट ०९.८२ सेकेण्डमा पूरा गर्दै रजत जितेकी थिइन् भने नेपाल पुसिककी सामिरा शोभा थापाले उक्त स्पर्धामा कास्य पदक जितिन् ।

यस्तै पुरुष ८ सय मिटर फ्रिस्टाइल पौडी प्रतियोगितामा एनआरएनएका नाथनध्वज श्रेष्ठले स्वर्ण पदक हात पारे । उनले ९ मिनेट १७ सकेण्डमा उक्त दूरी पार गरे । पहिलो पटक राष्ट्रिय प्रीतयोगितामा सहभागिता जनाएको एनआरएनएको टोलीका लागि यो दोस्रो स्वर्ण हो । यसअघि संरक्षणभूषण बज्राचार्यले लनटेनिसमा एनआरएनएलाई पहिलो स्वर्ण दिलाएका थिए ।

पुरुष ८ सय मिटरमा एपीएफका नासिर हुसैनले रजत र एपीएफकै अर्जिन महर्जनले कास्य पदक जिते । नासिरले ९ मिनेट ४०.९३ सेकेण्डमा उक्त दूरी पार गरे भने उर्जिनले १० मिनेट १९.९१ सेकेण्डमा सो दूरी पार गरेका थिए । यसैगरी पुरुष ५० मिटर पौडीमा एपीएफका तेन्जिङ गुरुङले नयाँ कीर्तिमान कायम गरेका छन् । उनले उक्त दूरी ०.३४.१३ सेकेण्डमा पूरा गर्दै यसअघि मिराज प्रजापतिको नाममा रहेको कीर्तिमान भंग गरेका हुन् । मिराजले यसअघि ०.३३.५७ सेकेण्डमा उक्त दूरी पार गर्दै कीर्तिमान राखेका थिए ।

महिला सय मिटरमा त्रिभुवन आर्मी क्लबकी डुयना लामाले स्वर्ण जितेकी छिन् । उनले १ मिनेट १८ सेकेण्डमा दूरी पार गदै स्वर्ण जितेकी हुन् । त्यसैगरी उक्त स्पर्धामा एपीएफकी टिसा शाक्यले रजत जितिन् भने आर्मीकी उपास्ति महर्जन कास्यमा सीमित भइन् । 

पुरुष सय मिटरमा एपीएफका शुभम श्रेष्ठले नयाँ कीर्तिमान रचेका छन् । उनले १ मिनेट ८.१५ सेकेण्डमा दूरी पार गर्दै यसअघि आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरेका हुन् । यसअघि उनले उक्त दूरी १ मिनेट ८.३४ सेकेण्डमा पार गरेका थिए । सो विधामा पुसिका शायद हम्जा साहले रजत र दीपन्कर अवालेले कास्य पदक जिते । 

यसैगरी महिला २ सय मिटर बटरप्mलाई प्रतियोगितामा त्रिभुवन आर्मीकी दुआना लामाले स्वर्ण जितिन् । उनले २ मिनेट ४०.०९ सेकेण्डमा उक्त दूरी पार गरेकी थिइन् । यस स्पर्धाको रजत पदक एपीएफकी श्रीवी महर्जनले जित्दा कास्य पनि एपीएफकै दिया स्थापितले हात पारिन् । 

पुरुष २ सय मिटर बटरफ्लाई स्पर्धामा त्रिभुवन आर्मीका अनुभव सुब्बाले स्वर्ण जिते । उनले २ मिनेट २० सेकन्डमा दूरी पार गरे । २ मिनेट २३ सेकेण्डमा दूरी पार गरी एनआरएनएका नथनध्वज श्रेष्ठले रजत र नेपाल पुलिस क्लबका सैयद हमजा शाहले कास्य पदक जिते । नथनध्वजले २ मिनेट १८.९७ मा र सैयदले २ मिनेट २९.१२ सेकेण्डमा उक्त दूरी पार गरेका थिए । 

रंगशाला परिसरको स्वीमिङ पुल तयार नभएपछि आठौं राष्ट्रिय खेलकुदअन्तर्गत पौडीका खेलहरू स्थानीय एक होटलको स्वीमिङ पुलमा खेलाइँदैछ । आठौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको महिला ५ हजार मिटर दौडमा एपीएफ क्लबकी सन्तोषी श्रेष्ठले राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।

चार सय मिटरमा नीर र तुलसीलाई स्वर्ण  

दाङ । आठौं राष्ट्रिय खेलकुदअन्तर्गत ४४औं राष्ट्रिय एथलेटिक्सको ४ सय मिटर दौडको पुरुषमा एपीएफका नीरप्रताप महतो र महिलामा आर्मीकी तुलसी खत्री आइतबार पहिलो भएका छन् ।

निर्धारित दूरी तय गर्न नीरले ४९.४ सेकेण्ड तथा तुलसीले १ मिनेट समय लगाए । पुरुषमा एपीएफका शिवराज पार्की दोस्रो तथा प्रदेश १ का प्रकाश दनुवार तेस्रो भए । महिलामा आर्मीकी संगीता मेचे दोस्रो तथा प्रदेश ५ की अरुणा रिजाल तेस्रो बने ।

पुरुष ५ हजार मिटर दौडमा एपीएफका गोपीचन्द्र पार्की पहिलो भए । उनले १४ मिनेट ४४.३ सेकेण्डमा दौड पूरा गरे । प्रदेश ६ का दुर्गा बूढा दोस्रो तथा प्रदेश ४ का अनिश थापा तेस्रो भए । सो स्पर्धाको महिलामा प्रदेश ३ की सन्तोषी श्रेष्ठ निर्धारित दूरी १६ मिनेट ३८.६ सेकेण्डमा तय गर्दै पहिलो बनिन् । आर्मीकी विश्वरूपा बूढा दोस्रो तथा एपीएफकी विन्द्रा धान्के श्रेष्ठ तेस्रो भए ।

पुरुष १ सय १० मिटर हर्डल्समा आर्मीका नीरकुमार चौधरी पहिलो भए । उनले १५.६ सेकेण्ड समय लगाए । प्रहरीका चन्द्रदेव जोशी दोस्रो तथा आर्मीका अशोक कुँवर तेस्रो भए । महिला १ सय मिटर हर्डल्समा प्रदेश ५ की प्रमिला थारुले स्वर्ण जितिन् । प्रमिलो १६.३ सेकेण्डमा निर्धारित दूरी सिध्याइन् । प्रदेश ५ की जयरानी चौधरीले रजत तथा आर्मीकी तुलसा श्रेष्ठले कास्य जिते ।

पुरुष ४ गुणा ४ सय मिटर रिलेमा एपीएफ पहिलो, आर्मी दोस्रो र प्रदेश ५ तेस्रो भए । उक्त स्पर्धाको महिलामा आर्मी पहिलो, एपीएफ दोस्रो र प्रदेश ५ तेस्रो भए ।

पुरुष ट्रिपल जम्पमा प्रदेश ५ का भुवन महतो पहिलो भए । उनले १४.०६ मिटर हाम्फाले । आर्मीका डिल्ली खत्री दोस्रो र आर्मीका आशिष चौधरी तेस्रो भए । सो स्पर्धाको महिलामा ११.४ मिटर हाम्फालेकी एपीएफकी शिला चौधरी पहिलो भइन् । प्रदेश ५ का पूजा चौधरी र सीमा चौधरी क्रमशः दोस्रो र तेस्रो भए । 

आर्चरी : अशिम र ज्ञानुलाई स्वर्ण

आठौंअन्तर्गत नवौं राष्ट्रिय आर्चरी प्रतियोगिताको ७० मिटर व्यक्तिगत रिकर्भको पुरुषमा कास्कीका आर्चरी क्लबका अशिम शेरचन र महिलामा आर्मीकी ज्ञानु अवालेले स्वर्ण जितेका छन् ।

नेपालगञ्जस्थित क्षेत्रीय प्रहरी तालिम केन्द्रमा भएको पुरुष फाइनलमा अशिमले आफ्नै क्लबका मुकेश तामाङलाई ७–३ ले पराजित गरे । आर्मीका रोशन नगरकोटी तेस्रो भए । महिलाको उपाधि भिडन्तमा ज्ञानुले आर्मीकै मित्रा राईलाई ७–१ ले हराउँदै च्याम्पियन बनिन् । कास्कीकी केशरी आलेमगर तेस्रो भइन् ।

खो खो

खो खोको पुरुषमा एपीएफले प्रदेश १ लाई ९–७, आर्मीले गण्डकीलाई १७–१३ र प्रदेश २ ले प्रदेश ३ लाई १५–११ ले परजित गरे । महिलामा आर्मीले एपीएफलाई १५–४ तथा प्रदेश ५ ले प्रदेश १ लाई २१–२ ले हराए ।

सेपकताक्रो

आठौंअन्तर्गत पाँचौं राष्ट्रिय सेपाकताक्रोको महिला डबल्समा आर्मीले स्वर्ण जितेको छ । सोममाया थापा र सुमित्रा डंगोलको आर्मी जोडीले प्रदेश ३ का स्वस्तिका श्रेष्ठ र उषा महर्जनको जोडीलाई २१–२ र २१–१२ को सोझो सेटमा पराजित गरे । गण्डकीले तेस्रो स्थानमा चित्त बुझायो ।

महिला फुटबल

नेपाल पुलिस क्लब समूह विजेता बन्दै आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबलको सेमिफाइनलमा प्रवेश छन् । घोराहीमा भएको खेलमा पुलिसले प्रदेश नम्बर २ लाई ६–० गोल अन्तरले पराजित गर्दै पुलिस समूह ‘ख’ को विजेता बनेको हो ।

पुलिसको जितमा कप्तान निरु थापा र रन्जिता गुरुङले २–२ गोल गरिन् । यस्तै निशा सुनुवार र सिर्जना खड्काले एक एक गोल गरेकी थिइन् । जितसँगै समूह विजेता बन्ने क्रममा पुलिसले ४ खेलमा १२ अंक जोड्यो । अब पुलिसले सेमिफाइनलमा समूह ‘क’ को उपविजेतासँग खेल्नेछ । 

पुलिस र एपीएफ सेमिफाइनमा  

आठौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबल प्रतियोगितामा विभागीय नेपाल पुलिस क्लब समूह ‘ख’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

खजुरास्थित शुक्र भलिबल कोर्टमा आइतबार बिहान भएको समूह चरणको अन्तिम खेलमा पुलिसले प्रदेश १ माथि ३–१ को जित निकाल्दै समूह विजेता बनेको हो । योसँगै पुलिस समूह चरणमा अपराजित रहृयो ।

पुलिसले चार खेलबाट ११ अंक जोड्यो । पुलिसको जितसँगै यो समूहबाट एपीएफ समूह उपविजेताको रूपमा अन्तिम चारमा पुग्न सफल हुँदा प्रदेश १ र सुदूरपश्चिम प्रदेश समूह चरणबाटै बाहिरिए ।

प्रदेश १ विरुद्ध पुलिसले पहिलो र दोस्रो सेट क्रमशः २५–१३ र २५–२० ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेट १७–२५ ले गुमाएपनि प्रतिस्पर्धात्मक बनेको चौथो सेट पुलिसले २७–२५ ले जित्न सफल भयो । अर्काे समूहको खेलमा प्रदेश ३ ले प्रदेश २ माथि २५–१७, २५–२१ र २५–१० को सहज जित निकाल्यो । 

यस्तै यही समूहमा सोमबार एपीएफले सुदूरपश्चिम प्रदेशलाई २५–८, २५–१३ र २५–१० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । जितसँगै एपीएफले ३ खेलबाट ९ अंक बनाएपछि समूहको उपविजेताका रूपमा सेमिफाइनलमा स्थान बनायो ।

क्रिकेटमा सहाबको ६ विकेट

नेपालगञ्ज । स्पिनर सहाब आलमले उत्कृष्ट बलिङ गर्दै ६ विकेट लिएपछि आठौं राष्ट्रिय खेलकुदअन्तर्गत बाँकेको कोहलपुरमा जारी पुरुष क्रिकेटमा त्रिभुवन आर्मी क्लबले प्रदेश ३ माथि ८ विकेटको जित हात पारेको छ । कोहलपुर क्रिकेट मैदानमा आइतबार भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको प्रदेश ३ ले दिएको ४१ रनको सामान्य लक्ष्य आर्मीले १०.१ ओभरमा २ विकेट गुमाएर भेटायो । उसका हरिबहादुर चौहानले १७ तथा भीम सार्कीले १५ रन जोडे । दुवै जना नटआउट रहे। यस्तै ओपनर हरिकृष्ण झाले खाता नै खोल्न सकेनन् भने राजु रिजाल ६ रनमा आउट भएका थिए । त्यसअघि प्रदेश ३ ले १५.१ ओभरमा सबै विकेट गुमाएर ४० रन जोडेको थियो । उसका ओपनरद्वय इशान पाण्डे र आदिल खानले १२–१२ बाहेन अन्यले दोहोरो अंक जोड्न सकेनन् । 

प्रदेश ३ का ७ खेलाडीहरू जितेन्द्रसिंह ठकुरी, सोनु तामाङ, राजेश रिमाल, नन्दन यादव, गौतम केसी असिम श्रेष्ठ र संघर्ष पौडेलले खाता नै खोल्न सकेनन् । सहाबले इशान, शुभ कंशाकार, सोनु, राजेश, हेम, गौतमको विकेट लिएका थिए । ४ ओभर बलिङ गरेका सहाबले ३ ओभर मेडन राख्दै २ रनमात्रै खर्चिएर ६ विकेट लिएका हुन् । उनीसँगै कुशल मल्लले ३ विकेट लिए । २.१ ओभर बलिङ गरेका कुशलले ३ रनमात्रै खर्चेर ३ विकेट लिएका थिए । यो जितसँगै आर्मी सेमिफाइनलमा पुगेको छ ।


Views: 138