20th July | 2019 | Saturday | 11:47:03 PM

आठौं राष्ट्रिय खेलकूद सम्पन्न

  POSTED ON : बैशाख १२, २०७६ (७:३४ AM)

आठौं राष्ट्रिय खेलकूद सम्पन्न

बाँके । आठाँै राष्ट्रिय खेलकूद प्रतियोगिता सम्पन्न भएको छ । बुधबार यहाँ आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले उक्त प्रतियोगिताको समापन गरे ।

समापन समारोहमा उपराष्ट्रपति पुनले स्वर्ण, रजत र कास्य पदक जित्ने खेलाडीलाई पुरस्कार प्रदान गरे ।  समापन समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापा समेत सहभागी थिए । समापन समारोहमा राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य सचिव केशवकुमार विष्टले २०७७ सालमा हुने नवाँै राष्ट्रिय खेलकूद प्रतियोगिता आयोजक गण्डकी प्रदेशका खेलकुद विकास समितिका पदाधिकारीलाई खेलकूदको झण्डा हस्तान्तरण गरे । 

  यस्तै आठाँै खेलकूदको झण्डा अवतरण राखेपका विभागीय प्रमुख कूलबहादुर रानाले गरे । समापन समारोहमा राखेपका उपाध्यक्ष पीताम्बर तिम्सिनाले ऐतिहासिक रुपमा प्रतियोगिता सम्पन्न भएको बताए । प्रदेश ५ खेलकूद विकास समितिका अध्यक्ष भीम वलीले भौतिक पूर्वाधार निर्माणका साथ आठौँ खेलकूद सम्पन्न भएको बताए । 

गत चैत २७ गतेदेखि खेल शुरु भए पनि प्रतियोगिताको औपचारिक उद्घाटन भने यही वैशाख ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालगञ्ज रङ्गशालामा भव्य समारोहबीच गरेका थिए । ‘आठौँ राष्ट्रिय खेलकूद हाम्रै प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा’ मूल नाराका साथ भएको  प्रतियोगितामा झण्डै पाँच हजार खेलाडी सहभागी भएका थिए । उक्त प्रतियोगिता बाँकेसहित बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही, काठमाडौँ, ललितपुर र पोखरा भएको थियो । प्रतियोगितमा ३५ खेल समावेश गरिएको थियो । रासस


Views: 227