21st July | 2019 | Sunday | 4:54:44 PM

एसिसी यू:१६– नेपाल बन्यो समूह विजेता

हिमालय टाइम्स   POSTED ON : बैशाख १२, २०७६ (१२:४६ PM)

एसिसी यू:१६– नेपाल बन्यो समूह विजेता

 काठमाडौं  । एशियाली क्रिकेट काउन्सिल (एसिसी) यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल समूह विजेता बनेको छ ।

आयोजक राष्ट्र थाइल्याण्डबीचको खेल बर्षाका कारण रद्द भएसँगै नेपाल समूह विजेता बनेको हो । थाइल्याण्डको चियाङमाईमा वर्षा भएपछि नेपाल र थाइल्याण्डबीच भएको समूह चरणको अन्तिम खेल नतिजाविहीन बनेको थियो । 

नेपालले दिएको २३५ रनको लक्ष्यसहित मैदान उत्रेको आयोजक थाइल्याण्डले जवाफी ब्याटिङ गरिरहँदा भारी वर्षा भएपछि खेल पुनः सञ्चालन हुन नसकेकाले रद्द भएको हो । खेल वर्षाले रोकिनुअघि थाइल्याण्डले एक ओभर ५ बलमा एक विकेट गुमाएर कुनै रन जोड्न सकेको थिएन । नेपालका प्रशान्त महतले थाइल्याण्डले चावात्रीचाइलाई शून्य रनमा आउट गरेका थिए । खेल नतिजाविहीन बनेसँगै नेपाल र थाइल्याण्डले एक÷एक अङ्क बाडेका छन् । नेपालले यसअघिका दुई खेल जितिसकेको छ ।

 थाइल्याण्डसँग अङ्क बाडेसँगै नेपालले समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको छ । नेपालले तीन खेलमा पाँच अङ्क जोड्यो । मलेसिया चार अङ्कसहित उपविजेता बन्दै सेमिफाइनलमा पुग्यो । थाइल्याण्ड र म्यानमार भने समूह चरणबाट बाहिरिएका छन् । थाइल्याण्डले तीन अङ्क जोड्दा म्यानमारले अङ्क जोड्न सकेको थिएन । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरै ३५ ओभर खेल्दै सात विकेट गुमाएर २३४ रन बनाएको थियो ।नेपालको उच्च योगफलमा आशिष भट्टराईले ५८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै विशालविक्रम केसीले ३८ रन र दीपक बोहराले ३५, विशालकुमार पटेलले २८ र निखिलकुमार सिंहले २२ रन बनाएका थिए । 

नेपालले पहिलो खेलमा म्यानमारलाई सात विकेटले पराजित गरेको थियो । यस्तै दोस्रो खेलमा नेपालले मलेसियालाई ३९ रनले पराजित गरेको थियो । अघिल्लो संकरणमा नेपालले सिङ्गापुरलाई ७१ रनले पराजित गर्दै उपाधि जितेको थियो ।


Views: 255