22nd May | 2019 | Wednesday | 3:27:13 AM

नेपाल सेमिफाइनलमा

हिमालय टाइम्स   POSTED ON : बैशाख १३, २०७६ (७:०३ AM)

नेपाल सेमिफाइनलमा

काठमाडौं । एसियाली क्रिकेट काउन्सिल (एसीसी) यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र थाइल्याण्डबीच समूह चरणको अन्तिम खेल वर्षाले रद्द भएको छ । पहिलो इनिङको खेल सकिएर दोस्रो इनिङको दोस्रो ओभरसम्म खेल भएपछि वर्षाका कारण रद्द गर्नु परेको हो ।

खेल रद्द भएपछि दुवै टोलीलाई एक–एक अंक बाँडिएको छ । अंक बाँडिएपछि अघिल्ला दुई खेलमा शतप्रतिशत नतिजा निकालेको नेपाल कुल पाँच अंकसहित समूह विजेता बनेर सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले पहिलो खेलमा म्यानमारलाई सात विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा मलेसियालाई ३९ रनले पराजित गरेको थियो ।

पहिलो इनिङमा ब्याटिङ गर्दै नेपालले सात विकेटको क्षतिमा २३४ रन बनाएको थियो । २३५ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको थाइल्याण्डले एक ओभर पाँच बलको सामना गर्दा वर्षा भएपछि खेल रोकिएको थियो । खेल रोकिँदासम्म थाइल्याण्डले रनको खाता खोल्न सकेको थिएन भने एक विकेट गुमाइसकेको थियो ।

नेपालका लागि आशिष भट्टराईले अद्र्धशतकीय पारी खेल्दै ५८ रन बनाएका थिए । त्यस्तै दीपक बोहराले ३५, विशाल विक्रम केसीले ३८, विशालकुमार पटेलले २८ रन बनाए । दुई खेलमा जित र एउटामा पराजय भोगेको मलेसिया समूह उपविजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले शनिबार सेमिफाइनलमा हङकङसँग प्रतिश्पर्धा गर्नेछ । मलेसियाले भने सेमिफाइनलमा सिंगापुरको सामना गर्नेछ ।


Views: 240