25th May | 2019 | Saturday | 3:16:24 AM

उपाधि विजेता टोली स्वदेश फिर्ता

हिमालय टाइम्स   POSTED ON : बैशाख १७, २०७६ (६:४८ AM)

उपाधि विजेता टोली स्वदेश फिर्ता

काठमाडौं । थाइल्याण्डमा भएको एसिसी यु–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि जितेको नेपाली युवा टोली सोमवार स्वदेश फर्किएको छ । आइतबार सम्पन्न प्रतियोगिताको फाइनलमा नेपालले मलेसियालाई ५९ रनले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि उचालेको थियो ।

सोमबार दिउँसो त्रिभुवन विमानस्थलमा ओर्लिएको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिना, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले स्वागत गरेका थिए ।

प्रतियोगितामा नेपाल अपराजित रहँदै च्याम्पियन बनेको थियो । नेपालले समूह चरणमा मलेसिया र म्यानमारलाई पराजित गरेको थियो भने थाइल्याण्डविरुद्धको खेल वर्षाले प्रभावित हुँदा अंक बाँडेको थियो । यस्तै सेमिफाइनलमा हङकङलाई पराजित गरेको नेपालले फाइनलमा पुनः मलेसिायलाई नै हराउँदै उपाधि जित्यो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी समेत बनेका नेपाली कप्तान विशाल विक्रम केसीले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सबैजनाको मेहनतका कारण उपाधि सम्भव भएको बताए ।

‘समग्रमा टुर्नामेन्ट राम्रो भयो । नयाँ–नयाँ खेलाडी भएकाले नयाँ कुरा पनि सिक्ने मौका पाइयो,’ उनले भने, ‘विपक्षी टोलीहरू कमजोर थिएनन् । कन्डिशन पनि नेपालको ठीक उल्टो थियो तर सबै खेलाडीले राम्रो खेलेपछि उपाधि जित्न सफल भयौं ।’

यस्तै प्रशिक्षक वसन्त शाहीले जुनियर क्रिकेट जग भएकाले यस भ्रमणले खेलाडीलाई मोटिभेसन प्रदान गर्ने बताए । ‘यो जितले भोलिको दिनमा क्रिकेटको विकास र विस्तारमा सहयोग पु¥याउँछ,’ उनले भने, ‘क्रिकेटलाई निरन्तर रूपमा विकास गर्दै लाने हो भने जग बलियो बनाउनु जरुरी छ । किनभने हामी ओडिआई नेशन हो । जुन सिनियर प्लेअर अहिले खेलिराछन् धेरैमा ३ देखि ५ वर्षसम्म खेल्लान् । त्यसपछि हामीले बेञ्च स्ट्रेन्थ पनि हेर्नुप¥यो ।’


Views: 271