23rd August | 2019 | Friday | 11:46:43 PM

साग आयोजना गर्न चार अर्ब लाग्ने

हिमालय टाइम्स   POSTED ON : बैशाख ३१, २०७६ (१२:५२ PM)

साग आयोजना गर्न चार अर्ब लाग्ने

काठमाडौं । नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता आयोजना गर्न अनुमानित चार अर्ब बजेट लाग्ने राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले बताएका छन् । सोमबार लोगो र मस्कट सार्वजनिक गर्ने कार्यक्रममा सदस्यसचिव विष्टले अनुमानित बजेट बताएका हुन् ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माको संयोजकत्वमा रहेको साग आयोजना तथा तयारी समितीले राखेप उपाध्यक्ष पिताम्बर तिम्सिनाको संयोजकत्वमा बजेट तयार पार्न पाँच सदस्यीय कार्यदल गठन गरेको छ ।

‘साग आयोजनाको लागि हामीले अहिले औसत चार अर्ब जतिको बजेट लाग्ने अनुमान गरेका छौँ,’ उनले भने, ‘अन्य देशको भन्दा यो निकै कम हो । तर, हाम्रो देशको अवस्थाअनुसार हामीले यति अनुमान गरेका हौँ ।’

यस्तै, युवा तथा खेलकुद मन्त्रालयले सोमबार एक कार्यक्रमको आयोजना गर्दै सागको लोगो र मस्कट सार्वजनिक गरेको हो । काठमाडौं र पोखरामा आयोजना हुने साग खेलकुद सन् २०१९ को डिसेम्बर १ देखि दशसम्म हुनेछ । नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ संयोजक रहेको लोगो छनोट समितिले प्राप्त ६ लोगो मध्ये हाल मैतीदेवी बस्ने विराटनगर निवासी भोलानाथ पौड्यालले तयार गरेको लोगोलाई छनोट गरेको हो । लोगोको पुरस्कार १ लाख रुपैयाँ रहेको छ । कृष्णसारलाई मस्कटका रूपमा प्रयोग गरिने भएको छ ।

सार्क राष्ट्रका खेलाडीमार्फत राष्ट्र तथा जनस्तरमा आपसी मित्रता र भाइचारा अभिवृद्धि गर्ने उत्सवका रूपमा लिइने मर्मलाई ध्यानमा राखी तयार गरिएको १३औं सागको लोगोमा रहेको परेवाको आकृति एवं त्यसका प्रयुक्त रंगले शान्ति दर्शाउछ । पृष्ठभूमिमा रहेको सोही रंगले स्वच्छन्तरूपमा उँभोतर्फ उडिरहेको परेवाको पखेटा र राष्ट्रलाई प्रतिनिधित्व गराउने निश्चल हिमालका रूपमा अथ्र्याउँछ । देब्रेतर्फ राखिएको प्वाँख कृतिले परेवारूपी आकृतिलाई माथितिर उड्न गति प्रदान गरेको भने प्वाँखरूपी सात आकृतिले सात सदस्य राष्ट्रको प्रतिनिधित्व गरेको छ । सात प्वाँखले रंगशालाको ट्रयाकलाई समेत दर्शाउँछ भने त्यसमा प्रयुक्त रंगले सम्बन्धित राष्ट्रको झन्डालाई प्रतिनिधित्व गरेको छ । लोगोमा राखिएको अक्षर र अंकले सागको १३औं संस्करण, सागको पूर्ण नाम, वर्ष, मिति र स्थानलाई जनाएको छ ।पत्रकार सम्मेलनमा १३औं सागका लागि प्राविधिक उपसमिति र बजेट निर्माण कार्यदल गठन गरिएको सदस्य–सचिव केशवकुमार विष्टले जानकारी दिए । राखेपका सदस्य गंगाबहादुर थापाको संयोजकत्वमा तालिम तथा प्रशिक्षण विभागका निर्देशक रिमबहादुर रानाभाट, तालिम तथा प्रशिक्षण विभागकै पूर्व निर्देशक पार्थ सारथि सेन गुप्त र एनओसीका सुजनलाल श्रेष्ठ सदस्य रहने गरी चार सदस्यीय प्राविधिक उपसमिति गठन गरिएको छ ।

तर, गत मार्च पहिलो साता थाइल्यान्डमा भएको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले १३औं सागको नयाँ मिति २०१९ साल डिसेम्बर १ देखि १० सम्मलाई तय गरेको हो । जुन नेपालले भौतिक पूर्वाधार समयमै नबनाई सकेपछि दोस्रोपटक सरेको मिति हो ।

अब भने भौतिक पूर्वाधारका कारण साग नरोकिने युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले बताए । ‘१३औं सागको लागि आजैदेखि नै युद्धस्तरमा काम सुरु भएको छ,’ मन्त्री विश्वकर्माले भने, ‘लोगो र मस्कट सार्वजनिक भइसकेपछि यसले पनि सागको आरम्भ भएको सुखद सन्देश दिएको छ र तयारीका लागि जुट्न पनि सकरात्मक सन्देश दिन्छ ।’

सागको मुख्यस्थल दशरथ रंगशाला हो । त्यससँगै पोखरा रंगशाला, सातदोबाटोमा पनि विभिन्न खेलहरू हुनेछन् । भुकम्पपछि पुनर्निर्माण थालिएको दशरथ रंगशाला, सातदोबाटोको पौडी पोखरी निर्माण सम्पन्नको अन्तिम चरणमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशबकुमार विष्टले बताए ।

‘हाम्रो सबै पूर्वाधारहरू सम्पन्न हुने तर्खरमा छन् । दशरथ रंगशालाको काम चाँडै सकिनेछ । सातदोबाटो र पोखरामा पनि भौतिक पूर्वाधारको कामहरू सकिएका छन् । अब बाँकी रहेको काम पनि असारसम्ममा सम्पन्न हुनेछछन्,’ सदस्यसचिव विष्टले भने ।

दशरथ रंगशालामा प्याराफिट राख्ने काम सकिएको छ । सिन्थेटिक ट्रयाकको काम पनि सकिन लागेको र अबको एक हप्तामा त्यसमा लाइनिङ राख्ने काम तथा अब भिआइपीतर्फ प्याराफिट र छाना राख्ने कामको लागि टेन्डर प्रकिया अगाडि बढिसकेको उनले बताए ।

सागका लागि नेपालले जेठबाट खेलाडीहरूको बन्द प्रशिक्षण राख्ने भएको छ । खेलाडी छनोट समितिले उपलब्ध गराएको नामअनुसार जेठको पहिलो साताबाट खेलाडीलाई बन्द प्रशिक्षणमा राखिने विष्टले बताए । 

१३औं सागमा हृयान्डबल, जुडो, कबड्डी, खोखो, सुटिङ, स्क्वास, स्वीमिङ, टेबल टेनिस, तेक्वान्दो, लन टेनिस, ट्रायलन, भलिबल, भारोत्तोलन, कुस्ती, उसु, कराँते, गल्फ, क्रिकेट, प्याराग्लाइडिङ, आर्चरी, एथ्लेटिक्स, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, साइक्लिङ, फिल्ड हक्की र फुटबल खेल हुदैँ छन् ।


Views: 192