24th August | 2019 | Saturday | 12:26:38 AM

एन्फा वरिष्ठ उपाध्यक्षमा नेम्वाङ

हिमालय टाइम्स   POSTED ON : जेठ १, २०७६ (११:०२ AM)

एन्फा वरिष्ठ उपाध्यक्षमा नेम्वाङ

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को वरिष्ठ उपाध्यक्षमा पंकजविक्रम नेम्वाङ सर्वसम्मत चयन भएका छन् । एन्फा कार्यसमितिको मंगलबार बसेको कार्यसमिति बैठकले नेम्वाङलाई वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

प्रवक्ता किरण राईले एन्फाको विधान अनुसार चार उपाध्यक्षमध्येबाट एकलाई वरिष्ठ तोक्ने प्रावधान अनुरूप नेम्वाङ चुनिएका हुन् । गत वर्ष भएको निर्वाचनमा नेम्वाङले उपाध्यक्षमध्ये सर्वाधिक मत हासिल गरेका थिए । १७ वर्षदेखि लगातार केन्द्रीय समितिमा रहँदै आएका नेम्वाङ एन्फाका वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाको सहयोगी मानिन्छन् । बैठकले २०७६÷७७ को वार्षिक कार्यक्रम तथा बजेटसमेत पारित गरेको छ । कार्यक्रमहरूमध्ये जिल्ला लिग, प्रदेश लिग, र एन्फा प्रेसिडेन्ट लिगको नियमावली अनुमोदन गरी यस वर्षदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । आगामी वर्ष राष्ट्रिय लिगसमेत गर्ने निर्णय भएको छ ।

बैठकले भौतिक पुर्वाधार मर्मत सम्भार तथा निर्माण गर्न संघका सदस्यहरू ४५ जिल्ला फुटबल संघ, ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन क्लबहरूको सम्भाव्यता अध्ययन गरी आगामी वर्षमा १० स्थानमा एकैपटक भौतिक पूर्वाधारहरू निर्माण गर्ने निर्णय गरेको छ ।

त्यसैगरी प्रदेशस्तरीय कार्यक्रमहरू सञ्चालन गर्न महासचिवको सहयोगीको रूपमा सातै प्रदेशमा संघका सहायक महासचिवलाई जिम्मेवारी तोकिएको छ । जसअनुसार प्रदेश १ मा वसन्त अर्याल, प्रदेश २ मा मोहम्मद समिउल्लाह, प्रदेश ३ मा मोहनकुमार बस्नेत, गण्डकी प्रदेशमा विश्व पौडल, प्रदेश ५ मा प्रकाश पंगेनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सदस्य प्रकाश विष्टलाई जिम्मेवारी तोकिएको छ । केन्द्रीयस्तरको अन्य कार्यक्रमका लागि सहायक महासचिव अरुणमान जोशीलाई जिम्मा दिइएको छ ।

बैठक बहिष्कार

एन्फा कार्यसमितिले नेम्वाङलाई वरिष्ठ उपाध्यक्ष नियुक्त गर्ने भएपछि सो पदका आकांक्षी वीरबहादुर खड्काले बैठक नै बहिष्कार गरे । उपाध्यक्ष खड्काले वरिष्ठ उपाध्यक्षमा दाबी गर्दै आएका थिए । अन्य दुई उपाध्यक्ष भने वरिष्ठ उपाध्यक्षका आकांक्षी थिएनन् । खड्कासँगै केन्द्रीय सदस्यहरू पूर्णमान श्रेष्ठ र रत्न श्रेष्ठले पनि बैठक बहिष्कार गरेका थिए । 


Views: 183