20th September | 2019 | Friday | 9:41:34 AM

सावित्राको दुई गोलमा सेथु च्याम्पियन

हिमालय टाइम्स   POSTED ON : जेठ ९, २०७६ (११:०३ AM)

सावित्राको दुई गोलमा सेथु च्याम्पियन

काठमाडौं । नेपाली राष्ट्रिय टोलीकी सदस्य सावित्रा भण्डारीले फाइनलमा पनि उत्कृष्ट प्रदर्शन दोहो¥याएपछि तामिलनाडुको सेथु फुटबल क्लबले भारतीय महिला लिगको उपाधि उचालेको छ । बुधबार पाञ्जवको लुधियानामा भएको फाइनलमा मणिपुर पुलिस स्पोर्ट्स क्लबलाई ३–१ ले पराजित गर्दै सेथुले उपाधि उचालेका हो ।

सेथुको गोलमा सावित्राले दुई गोल गरिन् । पहिलो हाफमा १–० ले पछि परेपनि दोस्रो हाफमा सेथुले पुनरागमन गरेको थियो । प्रतिस्पर्धात्मक पहिलो हाफको ४३औं मिनेटमा मणिपुरकी राधारानी देवीले गोल गरेपछि सेथुपछि परेको थियो ।

दोस्रो हाफको ५६औं मिनेटमा सेथुले खेल बराबरीमा ल्यायो । सावित्राले मिडफिल्डबाट उपलब्ध गराएको लामो पासलाई नियन्त्रणमा लिँदै ग्रेसले इन्दुमथीलाई पास दिएकी थिइन् । लगत्तै इन्दुमथीले गरेको प्रहारले जाली चुमेपछि सेथु खेलमा फर्किएको थियो । त्यसपछि भने खेलमा नेपालकी सावित्रा भण्डारी चम्किइन् । बराबरी गोल फर्काएको ४ मिनेटपछि सावित्राले सेथुलाई २–१ को अग्रता दिलाइन् । कप्तानसमेत रहेकी इन्दुमथीले दिएको पासमा सावित्राले टोलीलाई अग्रता दिलाएकी थिइन् । खेलको ७०औं मिनेटमा सावित्राले सेथुको अग्रता दोब्बर पारिन् । पुनः इन्दुमथीले पासमै सावित्राले गोल गरेकी थिइन् । 

योसँगै सेथुका लागि सम्पूर्ण सात खेल खेलेकी सावित्राले ३ हृयाट्रिकसहित कुल १५ गोल गरिन् । सावित्राले यसअघि सेथुको सेमिफाइनल खेलमा एसएसबी स्पार्टसविरुद्ध हृयाट्रिकसहित चार गोल गरेकी थिइन् । यस्तै पहिलो खेलमा पनि सावित्राले मणिपुर पुलिसविरुद्ध हृयाट्रिकसहित चार गोल गरेकी थिइन् भने लिगमा कोल्हापुर सिटीविरुद्ध समेट हृयाट्रिक गरेकी थिइन् ।

यस्तै सेथुबाटै खेलिरहेकी अर्की नेपाली खेलाडी अनिता बस्नेतले भने फाइनलमा मैदानमा उत्रन पाइनन् । अनिताले लिगमा एक गोल गरिन् । योसँगै दुवै नेपाली खेलाडीको भारतीय लिगको यात्रा सम्पन्न भएको छ । फाइनलपछि प्रतिक्रिया दिँदै सावित्राले आफूहरूको लक्ष्य पूरा भएको बताइन् । 

‘हामी उपाधि उचाल्ने लक्ष्यसहित खेलेका थियौं,’ उनले भनिन्, ‘फाइनल जितेसँगै त्यो लक्ष्य पूरा भएको छ । आफूले पनि टोलीको जितमा योगदान पु¥याउँन पाउँदा खुशी लागको छ ।’ गत फागुनमा नेपालमै भएको दक्षिण एसियाली महिला फुटबलमा उत्कृष्ट प्रदर्शन गरेसँगै सेथुले नेपाली खेलाडीद्वय सावित्रा र अनितालाई अनुबन्ध गरेको हो ।

कुनै पनि नेपाली महिला फुटबल खेलाडीलाई विदेशी व्यावसायिक क्लबले अनुबन्ध गरेको यो पहिलोपटक हो । उनीहरूलाई क्लबले यस सिजनका लागि अनुबन्ध गरेको थियो ।


Views: 136

सम्बन्धित सामग्री:

फिफा वरियतामा नेपालको सुधार

: आश्विन २, २०७६ (४:३५ PM)