27th June | 2019 | Thursday | 4:17:58 PM

नेपालले ताइपेर्ईलाई रोक्यो

  POSTED ON : जेठ २४, २०७६ (७:११ AM)

नेपालले ताइपेर्ईलाई रोक्यो

काठमाडौं । राष्ट्रिय टोलीबाट दोस्रो खेल खेलेका अभिषेक रिजालको गोलबाट नेपालले आपूmभन्दा बलियो टोली चाइनिज ताइपेर्ईलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा १–१ को बराबरीमा रोकेको छ ।

बिहीबार चाइनिज ताइपेईको घरेलु मैदानमा पहिलो हाफमा १–० ले पछि परेको नेपाललाई अभिषेकले ६९ औं मिनेटमा उद्धार गरेका थिए । सन्तोष तामाङको फ्रिकिकमा हेडरमार्फत गोल गर्दै अभिषेकले खेल बराबरीमा ल्याएका हुन् ।

राष्ट्रिय टोलीबाट अभिषेकको यो पहिलो गोल हो । यसअघि गत आइतबार भएको मलेसियाविरुद्धको खेलमा अभिषेक पहिलोपटक नेपाली टोलीमा परेका थिए ।

खेलको ३८औं मिनेटमा नेपाल पछि परेको थियो । वाङ चिङमिङले कर्नरबाट उठाएको बललाई चु इनलीले हेडिङ गर्दै यू छुन छ्याङलाई पास मिलाएका थिए । यू छुन छ्याङको हेडरलाई नेपाली रक्षक किरण चेम्जोङले कलेक्ट गर्न नसकेपछि फर्किएको बललाई छ्याङले नै पोस्टको दिशा दिँदै नेपाललाई पछि पारे ।  

नेपालले फिफा वरियतामा आपूmभन्दा ३६ स्थानमाथि रहेको चाइनिज तेइपेइसँग विश्वकप छनोटको तयारीस्वरूप मैत्रीपूर्ण खेल खेलेको हो । नेपाल १६१औै स्थानमा रहँदा ताइपेई १ सय २५ औं स्थानमा छ ।

नेपालको सुरुवाती–११ मा नियमित कप्तान विराज महर्जनले स्थान बनाउन सकेका थिएनन् । विराजको अनुपस्थितिमा नेपाली टोलीको कप्तानी गोलरक्षक किरण चेम्जोङले गरेका थिए । किरण र अभिषेकसँगै नेपाली टोलीको पहिलो रोजाइँमा अजित भण्डारी, देवेन्द्र तामाङ, अनन्त तामाङ, सुमन अर्याल, रवि पासपान, रोहित चन्द, विक्रम लामा, सुजल श्रेष्ठ र सन्तोष तामाङ परेका छन् ।

खेलको २४ मिनेटमा लि मुआ र चेन पोलिङले नेपाली डी बक्सभित्र बल पु¥याए पनि नेपाली डिफेन्डरहरूले क्लियर गरिदिए । लगत्तै डी बक्सवारि फ्रिकिक पाए पनि चेन पोलिङले गरेको प्रहार माथि गयो । ३७औं मिनेटमा सुजल श्रेष्ठले डी बक्सको बाहिरबाट गरेको प्रहार पोस्टको दायाँ किनारा नजिकैबाट बाहिरिएको थियो ।

दोस्रो हाफको सुरुवातदेखि नै ताइपेईले आक्रमण बुनेको थियो । ५१औं मिनेटमा छिङ हवा उइले डी बक्सको दायाँ किनाराबाट गरेको प्रहार आकासिएको थियो । ६०औं मिनेटमा कर्नरबाट आएको पासमा नेपालका अनन्त तामाङले हेडिङ गरे पनि त्यो सोझै विपक्षी गोलरक्षकको हातमा गयो ।  

नेपालले विश्वकप छनोट २०२२ को दोस्रो चरणमा स्थान बनाएको छ । नेपालले गत आइतबार मलेसियाविरुद्धको मैत्रीपूर्ण खेल २–० ले गुमाएको थियो । नयाँ प्रशिक्षकका रूपमा योहान कालिनले नेपाली टोली सम्हालेपछि यो उनको चौथो खेल हो । यसअघि कुवेतविरुद्ध भएका दुई मैत्रीपूर्ण खेलमा नेपालले एकमा हार र एकमा बराबरी खेलेको थियो ।


Views: 57