19th September | 2019 | Thursday | 9:28:57 PM

उपाधिका लागि आर्मी र पुलिस भिड्ने

हिमालय टाइम्स   POSTED ON : जेठ २४, २०७६ (१०:५९ AM)

उपाधिका लागि आर्मी र पुलिस भिड्ने

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् । सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई बिहीबार दोस्रो सेमिफाइनलमा ५ विकेटले पराजित गर्दै पुलिसले शनिबार हुने फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो । आर्मीले पहिलो सेमिफाइनलमा प्रदेश–३ लाई पराजित गर्दै यसअघि नै फाइनलमा स्थान बनाइसकेको छ ।

त्रिवि क्रिकेट मैदानमा बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा एपिएफले दिएको ४२ रनको सामान्य लक्ष्य पुलिसले ९ दशमलव ३ ओभरमा ५ विकेट गुमाएर भेट्टाएको थियो । पवन सर्राफले शरद् भेषावकरलाई १०औं ओभरको सुरुवाती तीन बलमा लगातार चौका प्रहार गर्दै विजयी रन जोडेका थिए । १४ बल खेलेका पवन ४ चौकासहित २१ रनमा नटआउट रहे ।

त्यस्तै, दीपेन्द्रसिंह ऐरीले १३ रन जोडे । त्यसबाहेक सुनिल धमला ३, अनिलकुमार साह शून्य, दिलिपनाथले २ तथा अमित श्रेष्ठले १ रन मात्रै जोड्न सके । एपिएफका बसन्त रेग्मीले ३ तथा शरद् भेषावकरले २ विकेट लिए ।

सामान्य लक्ष्य लिएर मैदान उत्रेपछि पहिलो खेल खेलिरहेका एपिएफका कप्तान वसन्त र अर्का अनुभवी खेलाडी शरद् भेषावकरले पुलिसका ब्याट्सम्यानहरूलाई खुलेर खेल्न दिएनन् । पहिलो ओभरमा नै वसन्तले अनिललाई शरद्को हातबाट क्याच गराए ।

दोस्रो ओभरमा शरदले सुनिल धमलालाई पृथु बास्कोटाको हातबाट पेबेलियन फर्काए । तेस्रो ओभरमा पुनः शरद्ले दिलिपनाथलाई प्रदीप ऐरीको हातबाट स्टिपिङ गराए । छैटौं ओभरमा अमित श्रेष्ठलाई वसन्तले नै एलबिडब्लुको सिकार बनाउँदा पुलिसले २१ रनमा ४ विकेट गुमाइसकेको थियो । त्यसपछि दीपेन्द्र र पवनले पुलिसलाई जिततर्फ डो¥याएका थिए ।

त्यसअघि पुलिसका ललितनारायण राजवंशीले ६ ओभरमा ८ रन मात्रै खर्चदै ४ विकेट लिएपछि एपिएफ  २२ दशमलव १ ओभरमा सबैै विकेट गुमाएर ४१ रनमै समेटिएको थियो । उसका कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । शरद् भेषावकर र पृथु बास्कोटा ७÷७, सन्दीप जोरा ५, आरिफ सेख, प्रदीप ऐरी, सुमित महर्जन र दिनेश रावत २÷२ रनमा आउट भए ।

एपिफले यस खेलमा बनाएको ४१ रनको स्कोर प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको तीन वर्षे इतिहासमा सबैभन्दा कम स्कोरसमेत हो । यसअघि प्रतियोगितामा सबैभन्दा कम स्कोर कर्णाली प्रदेशले बनाएको थियो । कर्णालीले यसै संस्करणमा गत शुक्रबार प्रदेश १ विरुद्ध ४७ रन मात्रै जोड्न सकेको थियो ।पुलिसले अब फाइनलमा आर्मीसँग शनिबार उपाधिका लागि भिड्नेछ । आर्मी यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ । विजेताले २० लाख तथा उपविजेताले १० लाख पुरस्कार पाउनेछ ।


Views: 93

सम्बन्धित सामग्री:

फिफा वरियतामा नेपालको सुधार

: आश्विन २, २०७६ (४:३५ PM)

लिभलरपुलको खराब सुरुवात

एजेन्सी : आश्विन २, २०७६ (१०:०८ AM)