27th June | 2019 | Thursday | 5:06:34 PM

न्यूजिल्याण्डको लगातार तेस्रो जित

एजेन्सी   POSTED ON : जेठ २७, २०७६ (६:४९ AM)

न्यूजिल्याण्डको लगातार तेस्रो जित

लण्डन । न्यूजिल्याण्डले क्रिकेट विश्वकपमा लगातार तेस्रो जित हात पारेको छ । शनिबार राति अफगानिस्तानलाई ७ विकेटले पराजित गर्दै न्यूजिल्याण्डले विश्वकपमा बलियो दाबेदारी प्रस्तुत गरेको हो । अफगानिस्तानले दिएको १ सय ७३ रनको लक्ष्य न्यूजिल्याण्डले ३२.१ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको थियो । 

साविकको उपविजेता न्यूजिल्याण्डको जितमा कप्तान केन विलियम्सन ९९ बलमा ९ चौका सहित ७९ रनमा अविजित रहे । ओपनर मार्टिन गोप्टिल डक,कोलिन मुनरो २२, रोश टेलर ४८ रनमा आउट हुँदा टम लेथम १३ रनमा अविजित रहे । २६ ओभरको चौथो बलमा अफ्ताव आलमले बोल्ड आउट गर्नुअघि टेलरले ५२ बलमा ६ चौका र १ छक्का प्रहार गरे ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको अफगानिस्तान ४१.१ ओभरमा अल आउट हुँदै १ सय ७२ रनमा समेटियो । अफगानिस्तानका लागि अन्तिम विकेटका रूपमा आउट भएका मध्यक्रमका हशमतुल्ला शाहिदीले सर्वाधिक ५९ रनको योगदान दिए । उनले ९९ बलमा ९ चौका प्रहार गरे ।

ओपनर हज्रतुल्लाह जजाईले २८ बलमा ५ चौका र १ छक्का सहित ३४ रनको योगदान दिए । नुर अली जदरानले ३८ बलमा ५ चौका सहित ३१ रन जोडे । ओपनर जजाई र नुर अलीले पहिलो विकेटका लागि १०.५ ओभरमा ६६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । जजाईलाई जेम्श निशमले कोलिन मुनरोबाट क्याच गराउँदै पेभिलिएन फर्कासँगै अफगानिस्तानको विकेट पतन सुरु भएको थियो । मध्यक्रमका ब्याट्सम्यान चल्न नसक्दा अफगानिस्तान सस्तैमा रोकिएको हो ।

रमात शाह शुन्य, गुलबदीन नाइब ४, मोहम्मद नाबी ९, इकरान अलिखिल २ र राशिद खान शुन्यमा आउट भए । तल्लोक्रमका अफतव आलमले १० बलमा ३ चौकासहित १४ रनको योगदान दिए । हमिद हसन ७ रनमा अविजित रहे ।

न्यूजिल्याण्डका अलराउण्डर जेम्श निशमले १० ओभरमा १ मेडन सहित ३१ रन खर्चेर ५ विकेट लिए । ल्योकी फग्र्युसनले ९.१ ओभरमा ३ मेडनसहित ३७ रन खर्चेर ४ विकेट लिए । कालिन डी ग्राण्डहोमले १ विकेट हात पारे ।


Views: 112