27th June | 2019 | Thursday | 3:43:09 PM

पोर्चुगललाई नेशन्स लिगको उपाधि

एजेन्सी   POSTED ON : जेठ २८, २०७६ (७:११ AM)

पोर्चुगललाई नेशन्स लिगको उपाधि

पोर्टो । आयोजक पोर्चुगलले पहिलो संस्करणको नेशन्स लिगको उपाधि जितेको छ । पोर्टोमा आइतबार राति भएको खेलमा नेदरल्याण्ड्सलाई १–० ले पराजित गर्दै पोर्चुगलले नेशन्स लिगको उपाधि जितेको हो । 

क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले तीनवर्षमा जितेको यो दोस्रो उपाधि हो । यसअघि, २०१६ मा पोर्चुगलले युरोकपको उपाधि जितेको थियो । गोन्कालो गुइडेसको निर्णायक गोलसँगै पोर्चुगलले उपाधि उचालेको हो । 

घरेलु मैदान पोर्टोमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६० औं मिनेटमा गुएडेसले निर्णायक गोल गरेका थिए । बर्नार्डो सिल्भाको पासमा उनले निर्णायक गोल गरेका थिए । प्रशिक्षक फर्नान्डो सान्तोशले गुएडेसको गोललाई टिमवर्कको उत्कृष्ट उदाहरण भनेका छन् । 

‘पछिल्लो पाँच वर्षमा हामी कसैले भत्काउन नसक्ने परिवारका रूपमा छौं,’ उनले भने, ‘त्यसैकारण यो प्रतियोगिता जित्नेमा हामी विश्वस्त थियौं ।’

यो प्रतियोगितामा दुवै देशका कप्तानहरू सबैको नजरमा थिए । पोर्चुगलका कप्तान रोनाल्डोले यस सिजनमा युभेन्ट्सबाट सिरिएको उपाधि उचालेका थिए भने भर्जिल भान डिजिकले लिभरपुलबाट च्याम्पियन्स लिगको उपाधि उचालेका थिए । तर दुवै खेलाडीले कुनै गोल गर्न सकेनन् ।

त्यस्तै, स्विट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इंग्ल्याण्डले तेस्रो स्थान हासिल ग¥यो । पेनाल्टी सुटआउटमा ६–५ ले पराजित गर्दै इंग्ल्याण्ड तेस्रो स्थानमा रहेको हो । खेलको निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको थियो । 

इंग्ल्याण्डको जितमा गोलकिपर जोर्डन पिकफोर्ड नायक बने । उनले एक पेनाल्टी रोक्नुका साथै पेनाल्टीमा गोलसमेत गरे । यस्तै, पेनाल्टीमा इंग्ल्याण्डका हृयारी मागुइरे, रोस बार्कली, जाडोन सान्चो, रहिम स्ट्रलिङ र एरिक डायरले गोल गरे । 

स्विजरल्याण्डका स्टेभेन जुबेर, ग्रानिट जाका, मानुएल अकांजी, केभिन एमबाबु र फाबियनले गोल गरे । जोसिप डिर्मकको प्रहार पिकफोर्डले बचाएका थिए । 


Views: 131