27th June | 2019 | Thursday | 4:53:02 PM

विश्वकप क्रिकेटमा वर्षाको असर

एजेन्सी   POSTED ON : जेठ २९, २०७६ (६:३८ AM)

विश्वकप क्रिकेटमा वर्षाको असर

लन्डन । इंग्ल्याण्डमा जारी एक दिवसीय विश्वकप क्रिकेटलार्ई वर्षाले असर पार्न थालेको छ । सोमबार दक्षिण अफ्रिका र वेष्ट इन्डिजबीचको खेल वर्षाले प्रभावित भएको थियो भने मंगलबार बंगलादेश र श्रीलंकाबीचको खेलमा पनि वर्षा नै बाधक बन्यो ।

लिग चरणका १६ खेल सकिँदा वर्षाले अहिलेसम्म तीनवटा म्याच प्रभावित गरेको छ । यसअघि पाकिस्तान र श्रीलंकाबीचको खेल पनि वर्षाका कारण रद्द भएको थियो ।

वर्षाका कारण श्रीलंकाले आफ्ना दुई खेलमा अंक बाँड्न बाध्य हुनु परेको छ भने लगातार तीन म्याचमा पराजय झेलेको दक्षिण अफ्रिका पहिलो जितको खोजीमा रहेको अवस्थामा सोमबार वेष्ट इन्डिजविरुद्धको म्याच रद्द भएपछि अंक बाँड्न बाध्य भयो । अंक बाँड्न बाध्य भएको दक्षिण अफ्रिकाका लागि अर्को चरणमा पुग्न बाँकी म्याचमा चुनौती निकै बढ्ने छ ।

श्रीलंकाले लगातार दुई म्याच वर्षाका कारण खेल्न पाएन । लिग चरणमा उसका चार खेल सकिएको छ । चारमध्ये एक खेलमा जित र एकमा पराजय व्यहोर्दा दुई खेल वर्षाका कारण रद्द भएको हो । १० टिम सहभागी विश्वकपमा दक्षिण अफ्रिका नवौं स्थानमा छ । सुरुवाती तीन खेलमा पराजय झेलेको दक्षिण अफ्रिका चौथो खेलमा वेष्ट इन्डिजविरुद्ध मैदानमा उत्रिदा गतिलो सुरुवात गर्न भने सकेको थिएन । 

आठौं ओभरको खेल भइरहँदा उसले दुई विकेट गुमाएर २९ रनमात्र जोडेको थियो । वर्षाले खेल रद्द भएपछि उसले एक अंक हासिल गर्दै अंक तालिकामा खाता खोले पनि आगामी म्याचमा वर्षाका कारण यस्तैगरी अंक बाँड्नुपर्ने अवस्था आएमा जारी विश्वकपको उसको यात्रा टुंगिन सक्छ ।

मौसमविद्हरूका अनुसार इंग्ल्याण्डमा वर्षा अनिश्चित मानिन्छ । त्यसैले आगामी दिनमा पनि विश्वकपअन्तर्गतका म्याच वर्षाका कारण प्रभावित नहोला भन्न सकिँदैन । वर्षाका कारण खेल रद्द भएर एकपटक अंक बाँडिसकेका टिम फेरि पनि त्यस प्रकारको नियति सामना गर्न बाध्य हुनु परेको अवस्थामा उनीहरूका लागि दुर्भाग्य हुन सक्छ । 

खासगरी विश्वकपका दाबेदार मानिएका टिमहरू वर्षाका कारण खेल रद्द भई अंक बाँडेर लिग चरण नै पार गर्न नसक्ने अवस्थामा पुगे भने त्यसले खेलप्रेमीहरूलाई समेत निराश बनाउने निश्चित छ ।

क्रिकेटप्रेमीहरूले विश्वकप क्रिकेट इंग्ल्याण्डमा आयोजना गर्नु नै गल्ती भएको औंल्याउन थालिसकेका छन् । उनीहरूले ट्वीटरमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै वर्षाको सिजन चलिरहेको अवस्थामा इंग्ल्याण्डमा विश्वकप क्रिकेट आयोजना गर्नु न्यायसंगत नभएको बताएका हुन् ।

अंक तालिकामा हाल न्यूजिल्याण्ड शीर्ष स्थानमा छ । उसले तीन खेलबाट तीन जितका साथ ६ अंक बनाएर तालिकाको शीर्ष स्थान ओगटेको हो । इंग्ल्याण्ड तीन खेलमा दुई जित र एक पराजयका साथ ४ अंक बटुल्दै दोस्रो स्थानमा रहँदा भारत दुई खेलमा दुई जितका साथ ४ अंक लिएर तेस्रो स्थानमा छ । 


Views: 107