19th October | 2019 | Saturday | 9:05:02 AM

सामीको हृयाट्रिकले जोगियो भारत

एजेन्सी   POSTED ON : असार ९, २०७६ (१०:३० AM)

सामीको हृयाट्रिकले जोगियो भारत

लण्डन । मोहम्मद सामीले अन्तिम ओभरमा हृयाट्रिक विकेट लिएपछि भारतले इंग्ल्याण्डमा जारी क्रिकेट विश्वकप २०१९ अन्तर्गत शनिबार राति भएको खेलमा अफगानिस्तानविरुद्धको हार टारेको छ । सामीको हृयाट्रिकसँगै साउथहप्टनमा २२५ रनको लक्ष्य पछ्याएको अफगानिस्तान २१३ रनमा समेटिएपछि भारतले ११ रनको संघर्षपूर्ण जित निकाल्यो ।

अन्तिम ओभरमा अफगानिस्तानलाई जितका लागि १६ रन आवश्यक थियो । मोहम्मद नाबी ४८ रनमा खेलिरहेका थिए । अन्तिम ओभर लिएर आएका सामीको पहिलो बलमा नाबीले चौका प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरे । 

अन्तिम ५ बलमा अफगानिस्तानलाई १२ रन आवश्यक भयो । नाबी क्रिजमा जमिसकेका थिए । तर त्यसपछिका चार बलमा सामीले विश्वकपको पहिलो हृयाट्रिक लिँदै भारतको हार टारिदिए । सामीको दोस्रो बलमा नाबीले कुनै रन लिन सकेनन् । तेस्रो बलमा नाबीलाई सामीले हार्दिक पाण्ड्याबाट बाउन्ड्रीमा क्याच गराए ।

चौथो बलमा अफताब आलाम र पाँचौं बलमा मुजिब उर रेहमानलाई बोल्ड पार्दै सामीले हृयाट्रिकमात्रै पूरा गरेनन् । अन्तिम बल बाँकी रहँदा भारतलाई ११ रनको जितसमेत दिलाए । नाबीले ५५ बलमा ४ चौका र १ छक्कासहित ५२ रन जोडे । त्यसबाहेक अफगानिस्तानका रेहमत साहले ३६, गुलबदिन नइबले २७, हसमुतल्लाह शाहिदी र नजिबुल्लाह जार्दनले समान २१–२१ रन बनाए ।

अफगानिस्तानका कप्तान गुलबदिन नइबले आफूहरूले मध्यक्रमको ब्याटिङमा राम्रो प्रदर्शन गर्न नसकेको बताए । ‘हामीले बलिङ राम्रो गरौं । तर मध्यक्रममा हामीले ब्याटिङ तन्काउन सकेनौं । एउटा दुईवटा इनिङ असी सयको हुनुपथ्र्यो । भारतजस्तो टिमसँगै पच्चीस या तीस रनले काम चल्दैन्,’ उनले भने ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय २४ रन बनाएको थियो । उसका कप्तान विराट कोहलीले ६७ र केदार जादबले ५२ रनको अर्धशतकीय पारीबाहेक अन्य खेलाडीले ३० रनको आँकडासमेत पार गर्न सकेका थिएनन् । भारतका विजय शंकर २९, महेन्द्रसिंह धोनी २८ र केएल राहुल ३० रनमा आउट भए ।

भारतका चार खेलाडीले १–१ रनमात्रै जोड्न सके । ओपनर रोहित शर्मा, मोहम्मद शामी, कुलदीप यादव र जसप्रित बुम्राहले १–१ मात्रै जोड्न सकेका थिए । पाँचांै ओभरको दोस्रो बलमा मुजीव युर रेहमानले उत्कृष्ट लयमा रहेका रोहित शर्मा (१) लाई बोल्ड पार्दै भारतको ओपनिङ साझेदारी ७ रनमै तोडेका थिए ।

दोस्रो विकेटका लागि विराट कोहलीसँग केएल राहुलले ५७ रन र तेस्रो विकेटका लागि विराट र विजय शंकरबीच समेत ५८ रनको साझेदारी भएपछि भारतीय इनिङ उकासिएको थियो । तर, कप्तान विराट कोहलीले भने आफूहरूले योजना अनुरूप खेल्न नसकेको स्वीकारे । ‘यो खेल हाम्रो लागि महŒवपूर्ण थियो तर हामीले योजना अनुसार खेल्न सकेनौं,’ कोहलीले भने, ‘तर जब योजनानुसार हुँदैन तब तपाईंले एक्ट्रा क्यारेक्टर देखाउँनुपर्छ । जुन हाम्रो टोलीले देखायो ।’

यो जितसँगै विश्वकपमा अपराजित रहेको भारत तेस्रो स्थानमा उक्लिएको छ । उसको ५ खेलबाट ४ मा जित हात पार्दै ९ अंक छ । भारतले पहिलो खेलमा दक्षिण अफ्रिका, दोस्रो खेलमा अष्ट्रेलिया र चौथो खेलमा पाकिस्तानलाई पराजित गरेको थियो । न्यूजिल्याण्डविरुद्धको भारतको खेल भने वर्षाका कारण रद्द भएको थियो । हारसँगै अफगानिस्तान भने प्रतियोगिताबाट बाहिरिएको छ । अफगानिस्तानले खेलेका ६ वटै खेल गुमाएको छ ।

न्यूजिल्याण्ड शीर्षमा

लण्डन । कप्तान केन विलियम्सनको शतकीय पारीको मद्दतमा वेष्ट इण्डिजलाई ५ रनले पराजित गर्दै न्यूजिल्याण्ड क्रिकेट विश्वकप २०१९को शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति भएको खेलमा न्यूजिल्याण्डले दिएको २ सय ९२ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिज ६ बल बाँकी रहँदै २ सय ८६ रनमा समेटियो । कार्लोस ब्रेथवाइटले शतकीय पारी खेल्दै वेष्ट इण्डिजलाई जित नजिक पु¥याएका थिए तर ५ रन बाँकी रहँदा छक्का प्रहार गर्ने क्रममा उनी क्याच भएसँगै वेष्ट इण्डिज स्तब्ध बन्यो ।

अन्तिम १८ बलमा वेष्ट इण्डिजलाई जितका लागि ३३ रनको आवश्यकता थियो । कार्लोसले ४८औं ओभरमा तीन छक्का र एक चौका प्रहार गरेपछि १२ बलमा न्यूजिल्याण्डलाई जितका लागि ८ रन आवश्यक भयो । ४९औं ओभरको चौथो बलमा दुई रन लिँदै कार्लोसले शतक पूरा गरे । तर त्यसको अन्तिम बलमा बोल्टको हातबाट क्याच भएपछि वेष्ट इण्डिज लक्ष्यबाट ५ रन टाढा रहृयो ।

आक्रामक ब्याटिङ गरेका कार्लोसले ८२ बलमा ९ चौका र ५ छक्का प्रहार गरे । यस्तै क्रिस गेलले ८७ रन जोडे । ८४ बल खेलेका गेलले ८ चौका र ६ छक्का प्रहार गरेका थिए । साइ हटमेयरले ५४ रनको अर्धशतकीय पारी खेले ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको न्यूजिल्याण्डले कप्तान विलियम्सनको १ सय ४८ रनको शतकीय पारीसँगै निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९१ रन बनाएको थियो । १ सय ५४ बल खेलेका विलियम्सनले १४ चौका र १ छक्का प्रहार गरेका थिए । विश्वकपमा यो विलियम्सनको लगातार दोस्रो शतकसमेत हो । त्यस्तै न्यूजिल्याण्डका रोज टेलरले ६९ रन जोडे ।

जितसँगै ६ खेलमा अपराजित न्यूजिल्याण्डले ११ अंकसहित शीर्ष स्थानमा कब्जा जमाएको छ । यस्तै वेष्ट इण्डिज भने सातौं स्थानमा छ । ६ खेल खेल्दा वेष्ट इण्डिजले १ खेलमात्रै जित्न सकेको छ भने ४ खेलमा हार ब्यहोरेको छ ।


Views: 129