20th July | 2019 | Saturday | 9:00:41 AM

मेस्सीलाई १४ वर्षपछि रातो कार्ड

एजेन्सी   POSTED ON : असार २३, २०७६ (५:४० AM)

मेस्सीलाई १४ वर्षपछि रातो कार्ड

रियो । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले १४ वर्षपछि फुटबल करिअरको दोस्रो रातो कार्ड पाएका छन् । कोपा अमेरिकाको तेस्रो स्थानका लागि आइतबार राति भएको खेलमा चिलीविरुद्ध जित हात पार्ने क्रममा मेस्सीले करिअरको दोस्रो रातो कार्ड पाएका हुन् ।

यसअघि १४ वर्षअघि आफ्नो डेब्यु खेलमा मेस्सीले रातो कार्ड पाएका थिए । बार्सिलोनाबाट कैयौं उपाधि जिते पनि उनले रातो कार्ड भने पाएका छैनन् । चिलीलाई २–१ गोलअन्तरले पराजित गर्दै अर्जेन्टिना तेस्रो बनेको खेलको ३७औं मिनेटमा चिलीका कप्तानसँगको बाझाबाझपछि मेस्सीले रातो कार्ड पाएका थिए ।

३७ औं मिनेटमा चिलीको कप्तान गेरी मिडिलले आफ्नै पोष्टतिर अघि बढेको बललाई बाहिर पठाउँदा मेस्सी पछि थिए । बल बाहिर गइसकेपछि एक्कासि मिडिलपछि फर्कदै मेस्सीलाई ठेल्न थाले । लगत्तै पुगेका रेफ्रीले मिडिलसँगै मेस्सीलाई पनि रातो कार्ड दिँदै बाहिर पठाए । तर, भिडियोमा मिडिलले मेस्सीलाई ठेलेको स्पष्ट देखिएको थियो ।

खेलपछि मेस्सीले भने, ‘के भएको छ सबैले देखिसक्नुभयो । दुवैजनालाई पहेंलो कार्ड दिँदा त्यो त्यहीँ सकिन्थ्यो । उपाधि अघि नै तय गर्दै भ्रष्टाचार गरिएको छ । हामी यस भ्रष्टाचारको हिस्सा हुन चाहदैनौं । भ्रष्टाचारकै कारण रेफ्रीहरूले पनि मानिसहरूलाई फुटबल इन्ज्वाय गर्न दिएनन् । भार र रेफ्रीले पनि केही गर्न सकेका छैनन् । तर, महŒवपूर्ण कुरा १० जनामा सीमित भए पनि हामीले खेल जित्यौं ।’

तेस्रो स्थानका लागि भएको खेलको १२ औं मिनेटमा सर्जियो अगुएरोको गोलबाट अर्जेन्टिनाले अग्रता लिएको थियो । मेस्सीको पासमा अगुएरोले गोल गरेका थिए । त्यसको १० मिनेटपछि डिबालाले अर्जेन्टिनाको अग्रता दोब्बर पारे । दोस्रो हाफको ५९ औं आर्टुरो भिडालले पेनाल्टीमा गोल गर्दै खेल २–१को स्थितिमा ल्याएका थिए । कोपा अमेरिकाको फाइनलमा आइतबार ब्राजिल र पेरु खेल्दै छन् ।


Views: 69