20th July | 2019 | Saturday | 9:05:16 AM

उपाधिका लागि नेपाल हङकङसँग भिड्ने

हिमालय टाइम्स   POSTED ON : असार २४, २०७६ (६:५२ AM)

उपाधिका लागि नेपाल हङकङसँग भिड्ने

काठमाडौं । एसिसी यू–१९ पुर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल र हङकङ भिड्ने भएका छन् । सोमबार भएका सेमिफाइनलमा नेपाल र हङकङले आ–आफ्नो खेलमा जित हात पार्दै फाइनलमा स्थान बनाएका हुन् ।

नेपालले मलेसिया र हङकङले सिंगापुरलाई पराजित गर्दै फाइनल भिडन्त पक्का गरेका हुन् । किनारारा ओभल मैदानमा सोमबार भएको पहिलो सेमिफाइनलमा नेपालले मलेसियामाथि ७ विकेटको सहज जित हात पार्दै फाइनलमा स्थान बनायो । मलेसियाले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।

भीम सार्की ३३ र कप्तान रोहितकुमार पौडेलले ३१ रनमा अविजित रहे । २९ बलमा खेलेका रोहित २ चौका र १ छक्का प्रहार गरे । त्यस्तै, भीम सार्कीले ३४ बलमा २ चौका र १ छक्का प्रहार गरे । नेपालको ओपनर जोडी भने २० रनमै टुट्यो ।

नेपालले चौथो ओभरको पाँचांै बलमा ओपनर पवन सरार्फ १८ रनमा पवेलियन फर्किए । मोहम्मद खैरले विजय उन्नीबाट क्याच आउट गराउनुअघि १६ बलमा १ चौका र २ छक्का प्रहार गरे । रीत गौतम ३ रनमै क्याच आउट भए । सिंगापुरविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका खड्कबहादुर बोहरालाई मोहम्मद आमिरले शून्यमा बोल्ड आउट गरे ।

चौथो विकेटका लागि भीम र रोहितबीच ६० रनको साझेदारी भएपछि नेपालले लक्ष्य भेट्टाएको हो । मलेसियाका लागि मोहम्मद खैरले २ र मोम्मद आमिरले १ विकेट हात पारे ।

त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले ४०.५ ओभरमा सबै विकेट गुमाएर ८७ रन जोडेको थियो । उसका मोहम्मद आमिरले सर्वाधिक २४ रन जोडे । त्यसबाहेक हाकल मुद खैरले १२, वान अमिरुले जुलकर्निनले ११ तथा अहमद अकमलले १० बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालका सागर ढकालले ३ विकेट लिए । १० ओभर बलिङ गरेका सागरले १६ रन मात्रै खर्चिए । उनले ३ ओभर मेडन फालेका थिए । यस्तै, कुशल मल्लले पनि ९ ओभरमा ५ मेडन सहित १३ रन खर्चेर २ विकेट लिए । तिलकराज भण्डारी, राशिद खान र कमल सिंह ऐरीले समान १–१ विकेट लिए ।

नेपालले समूह चरणमा चीनलाई १० विकेट र सिंगापुरलाई २ सय १७ रनले पराजित गर्दै समूह एको विजेताका रूपमा सेमिफाइनलमा स्थान बनाएको हो । मलेसिया भने समूह बिको उपविजेताका रूपमा नेपालसँग ठेक्किन आएको हो । 

जारी प्रतियोगितामा नेपालसँगै आयोजक मलेसिया, चीन, हङकङ, थाइल्याण्ड, सिंगापुर र भुटानको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टोलीले श्रीलंकामा हुने एसिसी यू–१९ एसिया कपमा सहभागिता जनाउनेछन् ।

श्रीलंकामा अगष्ठ २८ देखि सेप्टेम्बर ८ सम्म एसिसी यू–१९ एसिया कप हुनेछ । उक्त प्रतियोगितामा आयोजक श्रीलंकासँगै अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान, युएई र कुवेत लगायतका देश सहभागिता जनाउँदै छन् ।


Views: 75