19th October | 2019 | Saturday | 7:26:26 AM

नेपाल यु–१९ एसिया कपमा छनौट

हिमालय टाइम्स   POSTED ON : असार २५, २०७६ (११:५६ AM)

नेपाल यु–१९ एसिया कपमा छनौट

काठमाडौं । नेपाल यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा छनौट भएको छ । एसिसी यु–१९ पूर्वी क्षेत्रीय प्रतियोगिताको च्याम्पियन बन्दै एसिया कपमा छनौट भएको हो । नेपालले मंगलबार हङकङलाई पराजित गर्दै एसिसी यु–१९ पूर्वी क्षेत्रीय प्रतियोगिताको उपाधि जितेको हो ।

विजेता नेपालले श्रीलंकामा अगष्ट २८ देखि सेप्टेम्बर ८ सम्म एसिसी यु–१९ एसिया कप खेल्नेछ । एसिया कपमा आयोजक श्रीलंकासँगै अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान, युएई र कुवेतलगायत देशको सहभागिता हुनेछ ।

मलेसियाको किनारारा ओभल मैदान सम्पन्न फाइनलमा हङकङलाई ६ विकेटले पराजित नेपाल च्याम्पियन बन्यो । हङकङले दिएको ९६ रनको सामान्य लक्ष्य नेपालले चार विकेट गुमाएर भेटाएको थियो । नेपालका पवन सर्राफले ३९ रन जोडे । ३६ बल खेलेका उनले ५ चौका र एक छक्का प्रहार गरे । यस्तै रित गौतमले १४ बलमा २ चौका प्रहार गर्दै १३ रन जोडे । रोहितकुमार पौडेलले १२ तथा खडकबहादुर बोहरा र भीम सार्कीले ८–८ रन जोडे । 

नेपालले राम्रो सुरुवात गरेको थियो ओपनरद्वय रित गौतम र पवन सर्राफले ५२ रनको अर्धशतकीय साझेदारी गरेका थिए । छैटौं ओभरमा मोहम्मद हैसन खानले रितलाई बोल्ड पारेसँगै यो साझेदारी टुटेको थियो । यस्तै १२औं ओभरमा नेपालले पवन सर्राफलाई गुमायो । त्यसपछि लगत्तै खडक बोहरा र रोहितलाई गुमाएका नेपालका लागि भीम सार्कीले नटआउट ११ बलमा एक चौकासहित ८ रनको पारी खेल्दै विजयी रन बटुले । 

त्यसअघि स्पिनर सागर ढकालले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएपछि हङकङ ४३.१ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा समेटिएको थियो । हङकङका अदित गोरावाराले २४, काल्हन मार्क चालुले १९ तथा रौनक कपुरले १२ बाहेक अन्यले होरो रन जोड्न सकेनन् । नेपालका सागरले १० ओभरमा १८ रनमात्रै खर्चेर उत्कृष्ट ५ विकेट लिए । यस्तै कमलसिंह ऐरीले ३ तथा कुशल मल्ल र तिलकराज भण्डारीले १–१ विकेट लिए । 

नेपालले पहिलो ओभरमै हङकङका ओपनर नसरुल्लाह रानालाई खाता नै खोल्न नदिई पवेलियन फर्कायो । सागरले चौथो बलमा रानालाई सुन्यमा पवन सराफबाट क्याच गरएका थिए । यस्तै तेस्रो ओभरको दोस्रो बलमा राहुल शर्मालाई सागरले नै हरिबहादुर चौहानबाट स्टम्पिङ गराए ।

तेस्रो विकेटका लागि अदित गोरवारा र कल्हण मार्कले २९ रनको साझेदारी गर्दै हङकङको इनिङ उकास्ने प्रयास गरे । तर सागरले नै १३ ओभरको पाँचांै बलमा मार्कलाई १९ रनमा एलबी डब्लु आउट गर्दै उक्त साझेदारी तोडेका थिए ।

आफ्नो अर्को ओभरमा सागरले अरुष भागवतलाई खाता नै खोल्न दिएनन् । त्यस्तै सागरले २३ ओभरको तेस्रो बलमा मेहरानलाई ४ रनमा स्टम्पिङ आउट गराएपछि हङकङले ठूलो स्कोर बनाउँन सकेन् । तिलकराज भण्डारीले २३ ओभरको दोस्रो बलमा सर्वाधिक रन बनाउने अदितलाई २४ रनमा कप्तान रोहित कुमार पौडेलबाट क्याच आउट गराएपछि नेपाल खेलमा पूरै हावी देखिएको थियो । 

नेपाल अपराजित रहँदै प्रतियोगिताको च्याम्पियन बनेको हो । नेपालले समूह चरणमा चीन र सिंगापुर तथा सेमिफाइनलमा आयोजक मलेसियालाई पराजित गरेको थियो । 


Views: 112