20th July | 2019 | Saturday | 8:39:39 AM

विश्वकप छनौट : अन्तिम तयारीमा जुट्यो नेपाल

  POSTED ON : असार २६, २०७६ (६:०२ AM)

विश्वकप छनौट : अन्तिम तयारीमा जुट्यो नेपाल

काठमाडौं । नेपालले मलेसियामा बुधबारदेखि अष्ट्रेलियामा सन् २०२० मा हुने टि–२० विश्वकप अन्तर्गत एसिया छनौटको अन्तिम तयारी सुरु गरेको छ । मंगलबार रातिमात्रै मलेसिया पुगेको नेपाली टोलीले बुधबार बिहानदेखि तयारी सुरु गरेको हो । 

नेपाली टोलीका व्यवस्थापक रमन सिवाकोटीका अनुसार नेपालले बुधबार किनरारा ओभल मैदानमा चार घण्टा अभ्यास गरेको थियो । नेपाली टोलीले नेटमा ब्याटिङ र फिल्डिङ गरेको थियो । घरेलु मैदानमा २० दिन बन्द प्रशिक्षण गरेपनि मंगलबार नेपाली टोली मलेसिया प्रस्थान गरेको हो । 

मलेसियामा दश दिन अभ्यास गर्ने नेपाली टोलीको कार्यक्रम छ । सो क्रममा असार २८ र २९ गते नेपालले मलेसियाको राष्ट्रिय टोलीसँग दुईवटा मैत्रीपूर्ण टि–२० अन्तर्राष्ट्रिय खेल समेत खेल्नेछ । सिंगापुरसँगको कन्डिसन मिल्ने भएकाले पनि मलेसियाको तयारीले फाइदा पुग्ने कप्तान पारस खड्का बताउँछन् ।

‘हामीले विभिन्न देशहरूसँग पहल गरेका थियौं । तर उनीहरूको कार्यतालिका नमिल्दा मलेसियासँग खेल्न लागेका हौं,’ पारसले मलेसिया प्रस्थान गर्नुअघि भने, ‘सिंगापुर र मलेसियाको कन्डिशन मिल्ने भएकाले मलेसियाको बोर्डसँग प्रस्ताव राख्दा उहाँहरूले स्वीकार गर्नुभयो । मलेसिया त्यति कमजोर टिम पनि होइन । विभिन्न मुमेन्ट्समा हामीलाई कडा प्रतिस्पर्धा दिएको छ ।’

नेपाल साउन ३ गते विश्वकपको एसिया छनौट खेल्न आयोजनास्थल सिंगापुर प्रस्थान गर्नेछ । एसिया छनौटमा नेपालसहित आयोजक सिंगापुर, कुवेत, कतार र मलेसिया गरी ६ टोलीले सहभागिता जनाउँदैछन् ।

एसिया छनौटमा नेपालले साउन ७ गते कतार, साउन ८ गते मलेसिया, साउन ११ गते कुवेत र साउन १२ गते सिंगापुरसँग खेल्ने छ । टि–२० प्रतियोगितामा राउण्ड रोबिन आधारमा सबै टोलीले एकअर्कासँग खेलिसकेपछि अंकतालिकाको शीर्षमा रहने एउटा टोली ग्लोबल छनौटमा पुग्नेछ ।

पारसले यस प्रतियोगितामा नेपालको उत्कृष्ट–११ ले मौका पाउँने बताए । ‘एउटामात्रै टिम छनौट हुने भएकाले हामीलाई गल्ती गर्ने एक प्रतिशत पनि ठाउँ छैन् । टिमका रूपमा हामी सबैभन्दा माथिल्लो वरियतामा छौं । तर, हामी सजिलो रूपमा लिने छैनौं,’ पारसले भने, ‘प्रतियोगितामा हामी आफ्नो वेस्ट इल्यावेन नै उतार्छौ । टि–२० फम्र्याट भएकाले जे पनि हुनसक्छ। हामी कुनैपनि टिम र खेलाडीलाई सजिलो गरी लिएका छैनौं ।’

एसिया कप छनौट खेल्ने नेपाली टोलीमा कप्तान पारस खड्का, अभिनास बोहरा, बसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललितनारायण राजवंशी, प्रदीप ऐरी, पवन सर्राफ, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषवाकर र सोमपाल कामी छन् ।


Views: 67