18th August | 2019 | Sunday | 2:29:52 AM

विश्वकप छनौट : नेपाल र अष्ट्रेलिया एउटै समूहमा

हिमालय टाइम्स   POSTED ON : श्रावण २, २०७६ (५:५७ AM)

विश्वकप छनौट : नेपाल र अष्ट्रेलिया एउटै समूहमा

काठमाडौं । कतारमा हुने फिफा विश्वकप २०२२ छनौटको दोस्रो चरणमा नेपाल र बलियो प्रतिद्वन्द्वी अष्ट्रेलिया एउटै समूहमा परेका छन् । फिफाले बुधबार सार्वजनिक गरेको ड्र अनुसार २०१८ मा रसिया विश्वकपमा सहभागिता जनाएको अष्ट्रेलियासँग नेपाल समूह बीमा परेको हो । 

समूह ‘बी’ मा नेपाल र अष्ट्रेलियासँगै जोर्डन, चाइनिज ताइपेई र कुवेत परेका छन् । छनौटमा एउटा टोलीले होम र अवे खेल खेल्नेछन् । नेपालले एसियाको शीर्ष ३४ स्थानभित्र परेपछि सिधैं दोस्रो चरणका लागि छनोट भएको हो ।

दोस्रो चरणको छनोटमा ४० टोलीहरूको सहभागिता छ । जसलाई ८ समूहमा विभाजन गरिएको छ  । दोस्रो चरणको छनोटबाट ८ समूह विजेता र ४ उत्कृष्ट उपविजेता गरी १२ टोलीले एसियाको अन्तिम छनोटमा स्थान बनाउने छन् । यस्तै उक्त १२ टोली सन् २०२३ को एसियन कपमा छनोट हुनेछन् । 

कुवेतसँग खेल्दै नेपालले विश्वकप छनौटको यात्रा सुरु गर्नेछ । नेपालले आगामी ५ सेप्टेम्बरमा कुवेतसँग नेपालमै खेल्नेछ । यस्तै कुवेतको घरेलु मैदानमा नोभेम्बरमा १९ मा नेपालले अवे खेल खेल्नेछ । गत वर्ष चैतमा नेपालले कुवेतसँग दुईवटा मैत्रीपूर्ण खेल खेलेको थियो । उसैको मैदानमा दुई वटा खेल खेलेको नेपालले पहिलो खेलमा बराबरी खेल्दा दोस्रो खेल भने १–० ले गुमाएको थियो । त्यसबाहेक विमल घर्तीमगरलगायत मुख्य खेलाडी एसियन कप खेल्न गएकाले कुवेतविरुद्धको टोलीमा उपलब्ध थिएनन् ।

यस्तै नेपालको समूहमा रहेको अर्को टोली चाइजित ताइपेईसँग पनि नेपालले गठ जेठमा मैत्रीपूर्ण खेल खेलेको थियो । उक्त खेलमा बलियो ताइपेईलाई नेपालले १–१ को बराबरीमा रोक्न सफल भएको थियो । नेपाली प्रशिक्षक योहान कालिन दुवै टोलीसँग खेलिरहेकाले राम्रो र नराम्रो दुवै रहेको बताउँछन् । 

‘हामीले कुवेत र ताइपेईसँग खेलिसकेका छौं । त्यो हाम्रो लागि राम्रो र नराम्रो दुवै हुन सक्छ । हामी उनीहरूलाई आश्चयमा पार्छौ भन्ने त छैन् तर हामीले आफ्नो उत्कृष्ट प्रदर्शन दिनेछौं,’ कालिनले भने । यस्तै नेपालले पूर्व एसियन च्याम्पियन अष्ट्रेलियासँग अक्टोबर १० अवे खेल खेल्नेछ । यस्तै नेपालले अष्ट्रेलियासँग २०२० को मार्च ३१ मा घरेलु मैदानमा खेल्नेछ । अष्ट्रेलिया बलियो टोली रहेको नेपालले बलियो चुनौती दिने प्रशिक्षक कालिन बताउँछन् । 

‘अष्ट्रेलिया पक्कै पनि राम्रो टोली हो । तर सबै समूहमा एउटा बलियो टिम हुने नै थियो । अब हामीलाई विश्वकप छनौटमा कुन टोलीसँग भिड्दैछौं भन्ने थाहा भयो । हामी अब त्यही अनुसारको तयारी गर्नेछौं । उनीहरूलाई बलियो चुनौती प्रस्तुत गर्नेछौं,’ उनले थपे ।

छनौटअन्तर्गत नेपालले जोर्डनसँग अक्टोबर १५ मा घरेलु मैदान र सन् २०२० को जुन ४ गते उसैको मैदानमा खेल्नेछ । त्यस्तै नेपालले चाईनिज ताइपेईसँग सेप्टेम्बर १० मा घरेलु मैदान र सन् २०२० को मार्च २६ मा उसैको मैदानमा खेल्नेछ । नेपालले गत असार ८ गतेबाटै विश्वकप छनौटको तयारी सुरु गरिसकेको छ । नेपाली टोलीले दैनिक एन्फा कम्प्लेक्समा तयारी गरिरहेका छन् । 

गत संस्करणमा नेपाल विश्वकप छनोटको प्रारम्भिक चरणबाटै बाहिरिएको थियो । प्लेअफमा भारतको सामना गरेको नेपाल पहिलो लेग २–० ले गुवाहाटीमा पराजित भएपछि दोस्रो लेगमा गोलरहित बराबरीमा रोकेको थियो । 

दोस्रो चरणको एसिया छनौटको समूह ‘ए’मा चीन, सिरिया, फिलिपन्स, माल्दिभ्स र गुआम छन् । यस्तै समूह ‘बी’मा अष्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेइ, कुवेत र नेपाल, समूह ‘सी’मा इरान, इराक, बहराइन, हङकङ र कम्बोडिया, समूह ‘डी’मा साउदी अरेबिया, उज्वेकिस्तान, प्यालेस्टाइन, यमन र सिंगापुर, समूह ‘ई’मा कतार, ओमान, भारत, अफगानिस्तान र बंगलादेश छन् । 

यस्तै समूह ‘एफ’मा जापान, किर्गीस्तान, ताजिकिस्तान, म्यानमार र मंगोलिया, समूह ‘जी’मा यूएई, भिएतनाम, थाइल्याण्ड, मलेसिया र इन्डोनेसिया तथा समूह ‘एच’मा दक्षिण कोरिया, लेबनान, उत्तर कोरिया, तुर्कमेनिस्तान र श्रीलंका छन् ।


Views: 97