6th December | 2019 | Friday | 1:31:23 PM

रंगशाला निर्माणको काम पुनः सुरु

(रासस)   POSTED ON : श्रावण ७, २०७६ (१०:०९ AM)

रंगशाला निर्माणको काम पुनः सुरु

चितवन । राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा चासो र चर्चाको रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको रोकिएको निर्माणकार्य मंगलबारबाट सुरु गरिने भएको छ । 

यही जेठ १५ गते स्थानीयवासीले बाटो फराकिलो बनाउनुपर्ने भन्दै कच्चीबार भत्काएपछि काम रोकिएको थियो । सीताराम कट्टेल (धुर्मुश) र कुञ्जना घिमिरे (सुन्तली)को अगुवाइमा भरतपुर महानगरपालिका–१५ रामपुरमा रंगशाला निर्माण थालिएको हो । धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले मंगलबारबाट काम सुरु गर्न लागिएको जानकारी दिए ।

कट्टेलकाअनुसार सोमबार बिहान रंगशाला निर्माण सहयोग समितिका पदाधिकारीसँगको छलफलपछि काम सुरु गर्ने सहमति भएको हो । समितिका संयोजक जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीका अनुसार बैठकमा उद्योग वाणिज्य संघ, उद्योग संघ, निजामती कर्मचारीलगायत जो जसले जेजति रकम रंगशालाका लागि बोलकवल र संकलन गरेको छ, यथाशीघ्र फाउण्डेसनलाई हस्तान्तरण गरिने सहमति भएको छ । 

सातवटै पालिकामा चार दिनभित्र सहयोग समिति गठन गरी नयाँ ऊर्जाका साथ कामलाई अघि बढाउने सहमति भएको डल्लाकोटीले जानकारी दिए । गुरुयोजना बनाउने कामलाई तीव्रताका साथ अघि बढाउने पनि छलफलमा सहमति भएको छ । 

संयोजक डल्लाकोटीले रंगशाला नेपालीको सम्पत्ति हुने भएकाले सबैको साथ र सहयोगबाट नयाँ ऊर्जाका साथ काम थाल्न लागिएको बताए । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले मंगलबारबाट फाउण्डेसनले काम अघि बढाउने भन्दै सबैलाई सहयोगका लागि आग्रह गरिन् । रंगशला निर्माणका लागि वातावरण बनिसकेको भन्दै उनले वर्षाको समयमा गर्न मिल्ने काम अघि बढाइने बताइन् ।

आर्थिक संकलन गरी पहिलो चरणमा विस्तृत अध्ययन प्रतिवेदन तयार गरेर छिटो निर्माणको काम सुरु गर्ने योजना रहेको महानगर प्रमुख दाहालको भनाइ छ । फाउण्डेसनका अध्यक्ष कट्टेलले विस्तृत अध्ययन प्रतिवेदनको काम जहाँ पुगेको छ, तत्काल त्यो अघि बढ्ने जानकारी दिँदै रंगशालाको निर्माणस्थलको काम पनि अघि बढाइने बताए । बार, मैदान व्यवस्थापन र आवश्यक संरचना निर्माणका काम अघि बढाइने उनको भनाइ छ । 

रंगशाला निर्माणका लागि ६ करोड ५० लाख रुपैयाँ बोलकवोल भएको भए पनि हालसम्म सबै रकम संकलन भइसकेको छैन । फाउण्डेसनले दुबई र मलेसियामा आर्थिक सहयोगका लागि रकम संकलन गर्न कार्यक्रम गरिसकेको छ । काम सुरु भएसँगै अन्य देशमा पनि आर्थिक सहयोगका लागि कार्यक्रम सुरु गरिने बताइएको छ । झण्डै तीन अर्ब रुपैयाँ लगानी गरेर रंगशाला निर्माण गर्न लागिएको हो । 

भरतपुर महानगरपालिकाको पहलमा कृषि तथा वन विज्ञान विश्वविद्यालयले चर्चेको त्रिभुवन विश्वविद्यालयको नाममा रहेको जग्गा रंगशाला निर्माणका लागि छुट्याएको छ ।


Views: 140