25th August | 2019 | Sunday | 6:04:25 PM

वरियतामा पारसको छलाङ

हिमालय टाइम्स   POSTED ON : श्रावण २३, २०७६ (८:२७ AM)

वरियतामा पारसको छलाङ

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको नयाँ टी–२० वरियतामा ठूलो छलाङ मारेका छन् । बुधबार सार्वजनिक नयाँ वरियाताको अलराउण्डरतर्फ १३ स्थानमाथि उक्लँदै पारस २६औं स्थानमा पुगेका छन् । जुन उनको हालसम्मकै उच्च उपलब्धिसमेत हो । यसअघि पारस ३९औं स्थानमा थिए । उनले ९० रेटिङ पाएका छन् ।

पारसले वरियतामा विश्व क्रिकेटका ठूला नामहरूलाई समेत पछि पारेका छन् । अलराउण्डरको वरियतामा पारसले भारतका रोहित शर्मा, अफगानिस्तानका राशिद खान, न्युजिल्यान्डका कोलिन डि ग्राण्डहोम, इंग्ल्यान्डका जो रुट, भारतका हार्दिक पान्ड्या तथा वेष्ट इन्डिजका आन्द्रे रसेलजस्ता स्टार खेलाडीलाई पछि पारेका छन् ।

टी २० अलराउण्डरको शीर्ष १० स्थानमा कुनै परिवर्तन भएको छैन् । शीर्ष स्थानमा अष्ट्रेलियाका ग्रेन म्याक्सबेल छन् । यस्तै बंगलादेशका सकिब अल हसन, अफगानिस्तानका मोहम्मद नावी, बंगलादेशका मुहमुदुल्हाल, जिम्बाबेका सिन विलियम्सन, स्कटल्याण्डका रिचार्ड ब्रिघटोन, आयरल्याण्डका पाउल स्ट्रर्लिङ, श्रीलंकाका थिसरा परेरा, दक्षिण अफ्रिकाका जेपी डुमिनी र आयरल्याण्डका केभिन ओ ब्राउन वरियतामा दोस्रोदेखि दशौं स्थानमा यथावत छन् ।

टी २० अन्तर्राष्ट्रियको अलराउण्डर विधातर्फ नेपालका अर्का खेलाडी सोमपाल कामी ६७औं स्थानमा यथावत् छन् । त्यसबाहेक अन्य नेपाली खेलाडीले भने शीर्ष १ सयभित्र स्थान बनाउन सकेनन् ।

त्यस्तै पारसले ब्याटिङतर्फ पनि ठूलो फड्को मारेका छन् । नयाँ वरियता अनुसार २७ स्थान उक्लँदै पारस ब्याटिङमा ६६औं स्थामा उक्लिएका छन् । पारस यसअघि ९३औं स्थानमा थिए । टी–२० को ब्याटिङ वरियतामा पनि पारसले विश्वका चर्चित खेलाडी भारतका महेन्द्रसिंह धोनी, वेष्ट इन्डिजका क्रिस गेल र भारतका ऋषभ पन्तलाई पछि पारेका छन् । यस वरियताको शीर्ष सयभित्र नेपालका अन्य कोही पनि खेलाडी पर्न सकेनन् ।

टी–२० को ब्याटिङ वरियतामा यसअघि आठौं स्थानमा रहेका भारतका रोहित शर्मा नवौं स्थानमा धकेलिएका छन् भने उनको स्थान पाकिस्सतानी फाकर जमिमले लिएका छन् । त्यसबाहेक अन्य खेलाडीहरू भने यथावत् छन् । 

टी–२० को ब्याटिङ वरियताको शीर्ष स्थानमा पाकिस्तानका बाबर आजम, दोस्रो स्थानमा न्यूजिल्याण्डका कोलिन मुन्रो, तेस्रो स्थानमा अष्ट्रेलियाका ग्रेन म्याक्सवेल, चौथो स्थानमा अष्ट्रेलियाकै आरोन फिन्च र पाँचौं स्थानमा अफगानिस्तानका हज्रतमुल्लाह रहेका छन् ।


Views: 83