6th December | 2019 | Friday | 7:34:01 AM

यु–१९ टोलीको अनौपचारिक तयारी सुरु

हिमालय टाइम्स   POSTED ON : श्रावण २४, २०७६ (११:१४ AM)

यु–१९ टोलीको अनौपचारिक तयारी सुरु

काठमाडौं । अर्को महिना श्रीलंकामा आयोजना हुने एसिसी उन्नाइस वर्षमुनि (यु–१९) एशिया कप खेल्ने नेपाली युवा टोलीको प्रशिक्षण बिहीबारबाट अनौपचारिक रूपमा सुरु भएको छ । काठमाडौंमा उपलब्ध १७ खेलाडीलाई समेटेर कीर्तिपुरस्थित त्रिवि मैदानमा अनौपचारिक प्रशिक्षण सुरु गरिएको हो । एक महिना अघिमात्र मलेसियामा सम्पन्न एसिसी इस्र्टन रिजन च्याम्पियनसिपको उपाधि हासिल गरेर नेपालले एशिया कपमा स्थान बनाएको थियो ।

नेपाली युवा टोलीको औपचारिक प्रशिक्षण भने यही साउन २७ गतेदेखि सुरु हुने नेपाली यु–१९ टोलीका प्रशिक्षक विनोद दासले बताए । तर, नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा रहेकाले नेपाली क्रिकेटको व्यवस्थापन आइसिसी र एसिसीले हेर्दै आएका छन् । आइसीसीले २७ गतेबाट मात्रै प्रशिक्षण गर्नु भनेकाले राखेपसँगको समन्वयनमा बिहीबारबाट आन्तरिक तयारी सुरु गरिएको उनले बताए ।

‘एसीसीले हामीलाई साउन २७ गतेबाट मात्रै क्याम्प राख्ने अनुमति दिएको छ,’ नेपाली टोलीका प्रशिक्षक विनोद दासले भने, ‘अहिले हामी राखेपसँगको समन्वयनमा आन्तरिक तयारी गरिरहेका छौं ।’ १२ तारिखबाट पूर्ण तयारी सुरु हुन्छ । एसिसीले यसअघि नै टोलीमा भएका १९ जनालाई क्याम्पमा बोलाउन भनेपछि सबैलाई खबर गर्दा अधिकांश खेलाडी काठमाडौंमा रहेका छन् । ‘दासले थपे, ‘अहिले हामी फिल्डिङ तथा फिटनेश तयारीमा छौं । १२ तारिखसम्म मैदान बनिसकेपछि ब्याटिङ, बलिङ तथा अभ्यास प्रशिक्षण गर्नेछौं ।’

एसिसीसँगको समन्वयनमै आफूहरूले आन्तरिक तयारी थालेको दासले बताए । ‘हामीले एसीसबाट बजेट र आवश्यक सामग्रीका लागि स्वीकृति लिनुपर्ने हो,’ उनले भने, ‘यो क्याम्प राख्नका लागि बजेटको आवश्यकता नपर्ने भएकाले हामीले राखेपको समन्वयनमा आन्तरिक प्रशिक्षण सुरु गरेका हौं । यसका लागि स्वीकृति आवश्यक छैन् ।’

नेपालले अगष्ट २४ तारिखसम्म नेपालमा प्रशिक्षण गरेर श्रीलंकामा अन्तिम तयारी गर्ने योजना बनाएको छ । श्रीलंकामा तीनवटा अभ्यास खेल खेल्ने भए पनि कस्तो टोलीसँग खेल्ने भन्ने विषयमा टुंगो लागेको छ । यसअघि यही साउन २१ गते मंगलबारदेखि प्रशिक्षण गर्ने भनिए तापनि एशियन क्रिकेट काउन्सिल (एसिसी) बाट बजेट स्वीकृति नहुँदा प्रशिक्षण प्रभावित बन्न पुगेको थियो । एसिसी इष्र्टन रिजन च्याम्पियनसिपका लागि छनोटमा परेका १९ जना खेलाडीमध्ये नै यसपटक बन्द प्रशिक्षणमा बोलाइने भएको छ ।

आगामी भदौ २० देखि २८ गतेसम्म आयोजना एसिसी यु–१९ एशिया कपमा एशियाका पाँचवटा टेष्ट राष्ट्रसहित आठ टोली सहभागी हुनेछन् । जसमा नेपाल, भारत, पाकिस्तान श्रीलंका, बंगलादेश, अफगानिस्तान, संयुक्त अरब इमिरेट्स (युएई) र कुवेतले प्रतिस्पर्धा गर्नेछन् । गत असारमा मलेसियामा सम्पन्न इष्र्टन रिजन च्याम्पियनसिपमा नेपालले फाइनल खेलमा हङकङलाई ६ विकेटले पराजित गर्दै एशिया कपको यात्रा तय गरेको थियो ।


Views: 90