6th December | 2019 | Friday | 6:53:58 AM

चेल्सीविरुद्ध युनाइटेडको सानदार जित

एजेन्सी   POSTED ON : श्रावण २८, २०७६ (१२:२२ PM)

चेल्सीविरुद्ध युनाइटेडको सानदार जित

एजेन्सी

लण्डन । इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेड नयाँ सिजनको पहिलो खेलमा आइतबार राति चेल्सीमाथि ४–० को शानदार जित हात पारेको छ । चेल्सीमाथि युनाइटेडको यो घरेलु मैदान ओल्ड ट्रफोर्डमा सन् १९६५ पछिकै सबैभन्दा ठूलो जित हो । यता, यसै सिजन चेल्सीको प्रशिक्षत्व सम्हालेका फ्रान्क लाम्पार्डको प्रिमियर लिग सुरुवात भने सुखद् रहेन ।

युनाइटेडलाई जित दिलाउन मार्कस रासफोर्डले २, एन्थोनी मार्सियल र डानियल जेम्सले समान १–१ गोल गरे । १७ औं मिनेटमा कुर्ट जाउमाले मार्कुस रासफोर्डलाई पेनाल्टी बक्सभित्र फउल गरेपछि भिडियो एसिष्टेन्ट रेफ्रिको सहायतामा पाएको पेनाल्टीलाई रासफोर्डले गोलमा परिणत गरेका थिए ।

उक्त गोलसँगै पहिलो हाफमा युनाइटेडले १–० को अग्रता लियो । दोस्रो हाफमो ६५औं मिनेटमा एन्थोनी मार्सियलले अन्द्रेस पिरेराको पासमा पोस्ट नजिकैबाट गोल गरे । त्यसको दुई मिनेटपछि नै पाउल पोग्बाको पासमा रासफोर्डले गोल गर्दै तेस्रो गोल गरे । पोग्बाको पासमा नै जेम्सले खेल सकिन ९ मिनेटअघि गोल गर्दै युनाइटेडलाई ४–० को शानदार जित दिलाए ।

यसै सिजनमा चेल्सीका प्रशिक्षक बनेका लाम्पार्डले चेल्सीकै उत्पादन रहेका चार खेलाडीहरू अब्राहिम, मासन माउण्ट, आन्द्रेस क्रिस्टेन्सन र फिकायो टोमोरीलाई मैदान उतारेका थिए । तर, उनीहरू प्रशिक्षकको लक्ष्यमा खरो उत्रेनन्् । सन् १९७८ पछि चेल्सीको प्रशिक्षकहरूले पहिलो खेलमै व्यहोर्नुपरेको यो सबैभन्दा ठूलो हारसमेत हो ।

अघिल्लो सिजन झै यस सिजनमा पनि म्यानचेष्टर युनाइटेडले आफ्नो सिजनको पहिलो गोल पेनाल्टीका रूपमा पायो । गत सिजनमा पाउल पोग्बाले लेष्टर सिटिविरुद्ध पेनाल्टीमै सिजनको पहिलो गोल गरेका थिए ।

यस जितपछि म्यानचेस्टर युनाइटेडले अब अगष्ट १९ मा वुल्भ्सविरुद्ध खेल्नेछ । त्यसअघि चेल्सीले बुधबार युएफा सुपर कपमा लिभरपुलको सामना गर्दैछ भने अर्को हप्ता आइतबार घरेलु मैदानमा लेष्टर सिटीलाई निम्ताउँनेछ ।

जितपछि युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सजकरले आफूहरूले अझै राम्रो गर्दै जानुपर्ने बताए । ‘हामीले अझै टिमका रूपमा आफूहरूलाई इप्रिुभ गर्दै लैजानुपर्छ र हामीलाई मिल्ने शैलीको खोजी गर्नुपर्छ । त्यसका लागि अझै समय लाग्ने छ,’ उनले भने । आइतबार राति नै प्रिमियर लिगमा भएको अर्को खेलमा न्युकासल युनाईटेडलाई १–० गोल अन्तरले पराजित गर्दै आर्सनलले सुखद सुरुवात गरेको हो । आर्सनलको जितमा पेरिक एम्रिक आबुमियाङले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५८औं मिनेटमा आबुमियाङले गोल गरेका थिए ।

यस्तै लेष्टर सिटी र वुल्भ्सले भने गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् । लेष्टरविरुद्ध वुल्भ्सको लागि भिडियो एसिष्टेन्ट रेफ्री (भिएआर) बाधक बन्यो । उसका लिन्डरले गरेको गोल भिएआरले मान्यता दिएन् ।

शुक्रबारबाट सुरु भएको प्रिमियर लिगमा सबै २० टोलीले पहिलो खेल खेलिसक्दा साविकको विजेता म्यानचेष्टर सिटी ३ अंकका साथ शीर्ष स्थानमा छ । त्यति नै अंक भए पनि गोलअन्तरका आधारमा युनाइटेड दोस्रो, लिभरपुल तेस्रो, ब्रिघटन चौथो र बेर्नाली पाँचांै स्थानमा छ ।


Views: 124